हालका वर्षमा देश विडम्बनापूर्ण अवस्थाबाट गुज्रिरहेको छ । न यसको समाधन छ न त असन्तुष्टि व्यक्त गर्न नै छोडिन्छ । भन्ने नै हो भने त दिनप्रतिदिन देश पराधीनतातर्फ अगाडि बढिरहेको हुँदा भावी दिन अझै निराशापूर्ण बन्न जानेछन् । जागिरखाने भनेर जहाँतहाँ गएर जस्तोतस्तो काम गरे भनेर प्रधानमन्त्रीको असन्तुष्टि अभिव्यक्त भएको हो तर यस्तो अवस्था किन आइरहेको छ भन्नेतर्फ प्रधानमन्त्री निश्चय जानकार हुनुहुन्छ । यस्तो असन्तुष्टि प्रधानमन्त्रीको मात्र होइन आमनेपालीको हो । देशमा बसेर केही गर्न नसकिने अवस्था भएरै अधिकांश नेपाली विशेषगरी युवा वर्ग विदेशिने गरेका छन् । देशमा रोजगारी पाउन सक्ने अवस्था छैन । युवाहरूमा भएको ऊर्जा र जाँगरको उपयोग गर्ने ठाउँ छैन । सरकारले रोजगारीको सिर्जना गर्न सकेको छैन ।
स्वदेशमा पाए पनि दश-बीस हजारको रोजगारी पाइने हो । बौद्धिक वर्गले गर्ने काम र अन्यले गर्ने कामको स्तर एकै प्रकारको भएपछि तिनमा निराशा छाउनु स्वाभाविक हो । सरकारमा बस्नेहरू, तिनका आफ्ना मान्छेहरू, बिचौलियाबाट मात्र देश सञ्चालन भइरहेको छ । शारीरिक श्रम नै गर्नुपरे पनि बरू विदेशमा गएर गर्ने हो भने आफन्तहरूले देख्दैनन् । त्यहाँ गएर श्रम गर्नेहरूको अवस्था त सबैको समान हुने हो भन्ने सोचेर पनि युवा वर्ग विदेशिनेतिरै जोड दिइरहेका छन् । नेपालीहरू कामको खोजीमा विदेशिने परम्परा आजको मात्रै होइन, यो प्राचीनकालदेखिकै परम्परा हो । मानवीय सभ्यताको सुरुवातदेखि मानिस एक ठाउँबाट अर्को ठाउँमा जाने आउने गरिरहन्थ्यो । बाध्यता, रहर वा जिज्ञासाका कारण मानिसले त्यसबेला यसो गर्ने गरेको थियो ।
यसो गर्दा कतै कहीँ कामको सिलसिलामा रहने बस्ने गथ्र्यो । नेपालीहरू भने अधिकांश जाने भारतमै हो । भारतका कोलकात्ता, मुम्बई, पटना, दिल्ली, देहरादुनतर्फ काममा जाने गर्थे भने वनारसमा भने पढ्न र प्रकाशनसम्बन्धी व्यवसाय गर्न जाने गर्थे । भारतकै केही ठाउँमा नेपालीहरू बसोवास गर्न र पशुपालन गर्न जान्थे । दार्जिलिङ, सिक्किमतिर मजदुरी गर्न जाने गर्थे भने आसाम भाक्सुतिर बसोवास गरी पशुपालनमा जाने गरेका थिए । पछिल्लो समयमा नेपालीहरू विश्वका विभिन्न देशमा जाने गरेका छन् । उत्तरमा दक्षिण कोरियादेखि पूर्वमा जापन नेपालीहरूको श्रम गन्तव्य बनिरहेको छ । मलेशियादेखि विभिन्न खाडी मुलुकमा छरिएर श्रम गरिरहेका नेपालीको संख्या अत्यधिक छ । त्यसलाई बिस्तारै कम गर्दै लैजाने हाम्रो प्रयास हुनुपर्छ ।
अष्ट्रेलिया, अमेरिका, क्यानडा, युरोपका विभिन्न देशमा पनि अधिक संख्यामा नेपाली छन् । युरोप, अमेरिका र अष्ट्रेलियातिर जानेहरू खाडी मुलुकमा जानेहरूको तुलनामा श्रमकै लागि मात्रै नभएर पढ्न पनि जाने गरेका छन् । यीबाहेकका विभिन्न महादेशका विभिन्न देशमा नेपाली पुगेका छन् । यीमध्ये कतिपय देशहरूमा राष्ट्रले नै श्रमस्वीकृति गरेर पठाउँछ । ती देशरूसँग राष्ट्रले श्रमसम्झौता गरेको हुन्छ । तर, प्रधानमन्त्रीले विदेश जानेहरूविरुद्ध पटक–पटक नकारात्मक अभिव्यत्ति, दिइरहनुभएको छ । केही दिन पहिले उहाँले शिक्षकको जागिर छोडेर विदेश जानेहरूप्रति कटाक्ष गर्नुभएको थियो । शिक्षकहरू ८० हजारको जागिर छोडेर वैदेशिक रोजगारीमा जान्छन् भन्नुभएको थियो । उहाँको त्यस भनाइमा केही सत्यता त होला तर सतप्रतिशत सत्यता भने छैन ।
उहाँको अभिव्यक्तिको प्रतिक्रिया विभिन्न व्यक्तिबाट आएको थियो । शिक्षकको तलब प्रधानमन्त्रीले भन्नुभए जति हुँदैन । सालाखाला त्यसको आधा जति हुन्छ तर प्रधानमन्त्रीलाई त्यति कुरासमेत जानकारी नभएको भनेर प्रायः शिक्षकबाटै प्रधानमन्त्रीको भनाइको विरुद्धमा आवाज उठेको थियो । फेरि प्रधानमन्त्रीले जस्तोतस्तो काम गर्न जहाँपायो त्यहीँ जानु ठीक होइन भनेर वैदेशिक रोजगारीमा जानेहरूतर्फ लक्षित गरी अभिव्यक्ति दिनुभएको छ । यसका लागि सकारात्मक र नकारात्मक दुवै पक्षलाई केलाउनुपर्ने हुन्छ । विदेश जानेहरूको रहरमात्रै हो कि बाध्यता पनि हो । देश वैदेशिक रोजगारीमा जानेहरूको कमाइबाट मात्र चल्नसक्ने अवस्थामा पुगिसकेको छ । स्वदेशमै तिनलाई रोक्न रोजगारी सिर्जना गर्न सकिएको छैन, त्यो सम्भावना पनि छैन ।
खेती प्रणाली अँगाल्नेहरूको संख्या दिनप्रतिदिन घटिरहेको छ । तीप्रति आक्षेप लगाउने गर्नुको सट्टा तिनको बाध्यता र राष्ट्रको कमजोरीलाई बुझ्नुपर्छ । सरकराले युवा लक्षित कार्यक्रम दिन सक्नुपर्छ । विदेश जानेहरूलाई त्यहाँ गएर गर्ने कामभन्दा राम्रो काम यहाँ दिन सक्नुका साथै तिनले त्यहाँ गएर कमाउने जति पैसा दिएर यहाँ श्रम गर्न लगाउने सामथ्र्य निश्चय सरकारसँग छैन र त्यस्ता कार्यक्रम पनि दिन सकेको छैन । यस्तो अवस्थामा तिनको विरोध गर्नुको मात्र कुनै औचित्य रहने छैन । बरू रोजगारीको सिर्जना गर्न सक्नुपर्छ र युवाहरू विदेश नजाऊन् भनी रोक्न सक्ने खालका आकर्षक योजना बनाएर विदेश जान निरुत्साहित गर्नुपर्छ । सरकारले यसतर्फ सोच्नु आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच