मच्छिन्द्रद्वारा संकटा पराजित, एनआरटीको पहिलो जित

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । किशोरकुमार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले आईतवार शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रलाई दोस्रो जित दिलाउने क्रममा विमल घर्ती मगरले र विदेशी खेलाडी आफिज ओलावालेले एक÷एक गोल गरे । यस्तै संकटाका लागि मनिष डाँगीले एक गोल फर्काए । मुख्य प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षक भएपछि प्रशिक्षक बिहीन भएको मच्छिन्द्रले आईतवार मात्र किशोरकुमार केसीलाई प्रशिक्षको जिम्मेवारी दिएको थियो । जिम्मेवारी पाएको पहिलो मौकामा बलियो संकटासँग मच्छिन्द्रले अंक खोस्न सफल भएको हो ।

प्रतिष्पर्धात्मक बनेको खेलमा मच्छिन्द्रका लागि विमल घर्ती मगरले खेलको २० औं मिनेटमा गोल गर्दै टोलीको खाता खोलेका थिए । मैदानको मध्य भागबाट उपलब्ध भएको पासलाई विमलले अगाडि बढाएर गोलकिपरलाई बिट गर्दै जाली चुमाउन सफल भएका थिए । दुई मिनेटपछि नै  मनिषले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए । पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बललाई गोलमा परिणत गरेका थिए । त्यसपछिको पहिलो हाफ बराबरीमा सकियो ।

दोस्रो हाफमा आक्रामक शैलिमा उत्रिएको मच्छिन्द्रले ४६ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई २–१ अग्रता दिलाए । भुटानी रोनाल्डो चेन्चो ग्याल्सेनसहित उत्रिएको मच्छिन्द्रले बाँकी समयमा केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन । यस्तै संकटाले पनि केही अवसर खेर फाल्न पुगेको थियो । इन्जुरी समयमा चेन्चोले अग्रता दिलाउने सुवर्ण अवसर गुमाए । आन्द्रेस नियाले उपलब्ध गराएको पासलाई चेन्चोले गोलका लागि प्रयास गरे पनि उनको प्रहार गोलकिपरले सहजै बचाएका थिए ।

यस जितसँगै मच्छिन्द्रले ७ खेलमा ९ अंक जोडेको छ । मच्छिन्द्र सातौं स्थानमा उक्लिएको छ भने जारी लिगमा दोस्रो जित पनि निकालेको हो । उता संकटाको भने यो दोस्रो हार हो । संकटा ९ अंक जोडेर आठौं स्थानमा छ ।

लिग अन्तर्गत आईतवार सम्पन्न खेलमा न्युरोड टिम (एनआरटी) ले जारी लिगमा पहिलो जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा एनआरटीले हिमालयन शेर्पालाई २–१ गोल अन्तरले पराजित गर्दै सातौं चरणमा पहिलो सफलता निकालेको हो । निकै रोमाञ्चक बनेको खेलमा एनआरटीले पुनरागम गर्दै अंक खोस्न सफल भएको हो । प्रतिष्पर्धात्मक बनेको खेलमा १४औं मिनेटमा खमिर गिल्सनले गर्दै हिमालयन शेर्पालाई दिलाएको अग्रतालाई उल्टाएको हो ।

पहिलो हाफमा पछि परेपनि दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको एनआरटीका लागि ६७ औं मिनेटमा रोहन खड्कीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । खेल अन्त्यतिर काउन्टरमा उत्रिएको एनआरटीले एक मिनेट बाँकी र जेनिस प्रजापतीले गोल गर्दै एनआरटीलाई २–१ को जित दिलाएका थिए । इन्जुरी समयमा हिमालयन खेलमा फर्किन प्रयास गरेपनि असफल भयो र एनआरटीले जारी लिगमा पहिलो जित निकाल्न सफल भएको हो । जितसँगै एनआरटीले ७ खेलमा ६ अंक जोडेको छ । हिमालयनले ७ खेलमा ७ अंक जोडेको छ ।

लिगमा सोमवार पनि तीन खेल हुनेछन् । एन्फा मुख्यालयमा फ्रेण्ड्ससँग पहिलो पटक विदेशी खेलाडी समावेश गरेको नेपाल पुलिसले प्रतिष्पर्धा गर्दा दशरथ रंगशालामा चर्च ब्वाईज र विभागीय टोली एपिएफ क्लवबीच खेल हुनेछ । यस्तै दिनको अन्तिम खेल दशरथ रंगशालामा नै थ्री स्टार र मनाङ मस्र्याङ्दीबीच हुनेछ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?