सहकारी महासम्मेलनको ११ बुँदे घोषणापत्र

Read Time = 4 mins

काठमाडौं । काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनले सहकारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्नुपर्नेमा जोड दिएको छ । सहकारीको पुँजी उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृंखला विकासमार्फत् आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिँदै ११ बुँदे घोषणापत्र जारी गरेको छ ।

त्यस्तै, वातावरणमैत्री कृषि उत्पादनमा वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडल अघि बढाइने घोषणापत्रमा उल्लेख छ । नवीन सोच र सिर्जनात्मकताका आधारमा सहकारीमार्फत् कृषि पर्यटन, जलस्रोत, स्वास्थ्य, शिक्षा, उद्योगलगायतका क्षेत्रमा लगानी वृद्धि गर्ने, विशिष्टिकृत सहकारी संघमार्फत् बृहत् र विशिष्ट उत्पादन विकास, कृषि र पशुजन्य क्षेत्रको प्रवद्र्धन एवं ठूला कृषि फार्म स्थापना, कृषिजन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति शृंखला विकास गरी सहकारीको ब्राण्ड प्रवद्र्धन गर्ने बताइएको छ ।

सहकारी सिद्धान्त, मूल्य, मान्यता र विधि परिपालना गरी सहकारीको पहिचान स्थापित गर्न सहकारी संस्थामा स्वनियमन र सुशासन कायम गर्दै सदस्य केन्द्रित व्यवसायको माध्यमबाट गुणात्मक सहकारी अभियान निर्माण गरिने घोषणापत्रमा उल्लेख छ ।
त्यसैगरी सदस्यको बचतको सुरक्षाका लागि सहकारी क्षेत्रमा विश्वास अभिवृद्धि गर्न राष्ट्रव्यापीरूपमा जागरण अभियान सञ्चालन, सहकारी क्षेत्रको दिगोपनका लागि कानुनले परिकल्पना गरेका प्रवद्र्धनात्मक व्यवस्था कार्यान्वयनका लागि आवश्यक पहलकदमी र अर्थतन्त्रमा देखापरेका समस्याका कारण सहकारी क्षेत्रमा सिर्जना भएको तरलता संकुचन समस्या समाधानार्थ तीनवटै तहका सरकारतर्फबाट सम्बोधन गर्न सामूहिकरूपमा बहस पैरवीका लागि पहल गरिने बताइएको छ ।

सहकारीको स्वस्थ एवं प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि एकीकरणलाई अभियानका रूपमा सञ्चालनका साथै नवप्रविधिलाई आत्मसात गर्दै गुणस्तरीय सेवा प्रवाह गरिने, सरकार मातहतका कोषहरू सहकारी बैंकमार्फत् सहुलियतपूर्णरूपमा लगानी गर्न तथा उच्चतम् प्रविधि अपनाउन सामूहिक पहलकदमी गरिने, दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी संघसंस्थामा महिला तथा लैंगिक समानता, युवा तथा सीमान्तकृत वर्गबीच सामाजिक समावेशिता कायम गर्दै वित्तीय पहुँच वृद्धि गर्दै जाने बताइएको छ ।

त्यस्तै, सहकारीलाई आवश्यक जनशक्ति निर्माण गर्न औपचारिक शिक्षामा सहकारी विषय अध्ययन अध्यापन गराउन तथा सहकारीमा क्षमतावान मानव संसाधनलाई आकर्षित गर्दै स्थायित्व कायम गर्न सामूहिक पहलकदमी गर्ने, सहकारी क्षेत्रको तथ्यांक अद्यावधिक गर्ने, सहकारीको अध्ययन अनुसन्धानमा लगानी वृद्धि गरी समग्र अर्थतन्त्रमा सहकारीको योगदान मापन प्रणाली विकासका लागि पहलकदमी लिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?