एमालेको सरकार नबनी देश बन्दैन, विकास हुँदैन : ओली

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सरकारबाट बाहिरिएसँगै देशको विकास पनि ठप्प भएको बताउनुभएको छ । आइतबार धादिङको रुवी भ्यालीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन देश बनाउन सरकारमा नगएको दाबी गर्नुभयो । ‘एमालेको सरकार नभई केही पनि हुन सक्दैन’, ओलीले भन्नुभयो । एमालेले तीन वर्षको बीचमा सात लाख घर बनाएर भूकम्प पीडितलाई हस्तान्तरण गरेको ओलीले बताउनुभयो । बारा पर्सामा हुरीले उडाएका घर एक महिनाभित्र बनाएर नागरिकलाई हस्तान्तरण गरेको उहाँले सुनाउनुभयो । एमाले सरकारमा हुँदा सडक, अस्पताल, विद्यालय लगायतका ठूला ठूला पूर्वाधार निर्माणका काम भएका उहाँले बताउनुभयो ।

एमालेले नै पेन्सन नभएकालाई ज्येष्ठ नागरिक भत्ता खानुस् भनेर घरघर पु¥याएको उहाँले स्मरण गराउनुभयो । छोराछोरीले छाडेर विदेश गए पनि एमाले देश छाडेर नजाने र हरेक महिना चार हजार रुपैयाँ लिएर ज्येष्ठ नागरिकको घरघरमा जाने ओलीले बताउनुभयो । ‘एमालेको सरकार नबनी यो देश बन्दैन, यो देशमा विकास हुँदैन’, ओलीले भन्नुभयो । एमालेको सरकार बाहिरका प्रभुहरूले जोरजाम गरेर होइन नेपाली नागरिकले बनाउनुपर्ने ओलीले बताउनुभयो । अरू सबै शक्ति मिल्दा पनि एमाले एक्लैको बहुमत आउने गरी मत दिन उहाँले नागरिकलाई आग्रह गर्नुभयो । यही अभियानको प्रारम्भ गर्न एमालेले मिसन ग्रासरुट सुरु गरेको ओलीले बताउनुभयो । एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन अभियान सुरु गरेको उहाँले प्रष्ट पार्नुभयो ।

देशको विकासलाई सुनिश्चित गर्न एमालेलाई जिताउनुपर्ने ओलीले बताउनुभयो । गएको चुनावमा एमालेलाई सरकार बनाउन आवश्यक मत नपुग्नु दुर्भाग्यपूर्ण भएको बताउँदै ओलीले अब त्यो गल्ती दोहोरिन नहुने बताउनुभयो । अब हरेक टोलमा संगठन हरेक घरमा सदस्य बनाउन उहाँले निर्देशन दिनुभयो ।

‘रुबी भ्यालीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्छ’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुबी भ्याली जस्ता पर्यटकीय क्षेत्रहरूको विकास र प्रवद्र्धनमा ध्यान दिनसके आर्थिक अवस्था सबल हुने विश्वास व्यक्त गर्नुभएको छ । धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुबी भ्यालीमा आइतबार आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ५० वर्ष अगाडि जेलमा रहँदा नै रुबी भ्यालीका बारेमा आफूले सुनेको स्मरण गर्नुभयो । आफूले पहिलोपटक भ्यालीमा पाइला टेकेको भए पनि यहाँ पाइने पत्थरहरूको विशेषताबारे व्याख्या गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले रुबी पत्थर, शिलाजित लगायतका बहुमूल्य पत्थरहरू संकलन गरेर सुरक्षित राखिरहेको बताउनुभयो ।

यस्ता बहुमूल्य पत्थरहरू र खनिज पदार्थ पाइने ठाउँको विकास गर्न सरकारमार्फत आवश्यक बजेट व्यवस्थापनमा आफूले पहल गर्ने उहाँले बताउनुभयो । धादिङबेंसीदेखि रुबी भ्यालीसम्मको बाटोलाई डबल लेनसहित स्तरोन्नति गराउने कामलाई पहिलो प्राथमिकतामा राख्ने पनि उहाँको भनाइ छ । अध्यक्ष ओलीले यस भ्यालीको सबैभन्दा चर्चित पर्यटकीयस्थल पाङ्साङ पाससम्म सडक सञ्जाल पु¥याउन सकिने र आफू त्यस क्षेत्रको विकासमा निरन्तर लागिरहने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?