ऋचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगितामा नरपथगञ्ज र एपिएफको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 5 mins

विराटनगर । प्रथम ऋचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्ज र विभागीय टिम एपिएफले विजयी सुरूवात गरेका छन् । सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई चार विकेटले निराश बनाउँदै नरपथगञ्ज विजयी भएको हो । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा भएको उद्घाटन खेलमा १२५ रनको विजयी लक्ष्य पछ्याएको नरपथगञ्जले १६ दशमलब चार बलमा ६ विकेट गुमाई पूरा गर्‍यो । नरपथगञ्जका रवि रोयले ३० बलमा ४० रनको योगदान दिनुभयो । उहाँले तीन छक्का र तीन चौका प्रहार गर्नुभएको थियो । भानु आनन्दले ३३ रन बनाउँदा अमर चौधरीले २० रनको योगदान दिनुभयो । आर्मीका जितेन्द्र मुखिया र आकाश चन्दले समान दुई-दुई विकेट लिनुभयो । सुशान्त विराजले एक विकेट लिनुभयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले १७ दशमलब चार बलमा अलआउट हुँदै १२४ रनमा सीमित भयो । आर्मीका हरि चौहानले ४० बलमा ६३ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँले चार छक्का र ६ चौका प्रहार गर्नुभयो । राजेश पुलामीले २६ बलमा ३४ रनको योगदान गर्नुभयो ।

नरपथगञ्जका श्रवन बर्माले चार ओभरमा १९ रन खर्चिएर चार विकेट लिनुभयो । रबडा कुमारले दुई विकेट लिनुभयो । म्यान अफ द म्याच नरपथगञ्जका श्रवन घोषित हुनुभयो । सोही दिन भएको दोस्रो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई चार विकेटले हराउँदै विभागीय टिम एपिएफ विजयी भएको छ ।

११६ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १७ दशमलब तीन बलमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । जसमा एपिएफका पुरन विकले २७ रन, अरुणले २६ रनको योगदान दिनुभयो । बलिङमा वाइआरसिसीका कमल खत्री र हर्षले समान दुई-दुई विकेट लिनुभयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको वाइआरसिसीले १८. पाँच बलमा अलआउट हुँदै ११५ रनमा समेटियो । वाइआरसिसीका अलराउण्डर खेलाडी हर्षले ३० बलमा ४४ रन बनाउनुभयो । उहाँले चार चौका र दुई छक्का प्रहार गर्नुभयो ।

एपिएफका दुरन विकले तीन दशमलब पाँच बलमा २६ रन खर्चेर चार विकेट लिनुभयो । एपिएफका अमरसिंह सौटेलाले तीन विकेट लिनुभयो । २२ रन र तीन विकेट लिने अमरसिंह खेलको म्यान अफ द म्याच घोषित हुनुभयो । मंगलबारको पहिलो खेल वाइआरसिसी र आर्मीबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल एपिएफ र नरपथगञ्जबीच हुनेछ ।

चैत २७ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टिमसहित आठ टिमको सहभागिता रहेको पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कारसहित ट्रफी पाउनेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाउनेछ ।

नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्वउपाध्यक्ष नरेश श्रेष्ठले दिवंगत छोरीको नाममा आयोजना गरिएको प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपिएफसहित एनबिएससी विराटनगर, राहुल ११, सुदूरपश्चिम क्रिकेट क्लब, भारतको नरपथगञ्ज र दिल्ली युनाइटेड सहभागी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?