परिवार पाल्न भारतकै भर

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 7 mins

दाङ । सुमित्रा कुमाल गढवा गाउँपालिका–८ मुसीनाकामा पर्छ । यो नाका नेपाल–भारत सीमा अन्तर्गत् पर्छ । पहाडको काखमा खरले छाएका टहरामा बुहारी र नानातिनासँग सुमित्राको बसाइ छ । सुमित्राका दुई छोरासहित श्रीमान् मजदुरीका लागि भारतमा हुनुहुन्छ । घरमा उत्पादन हुने अन्नपातले परिवार पाल्न नसकिने भएकाले परिवार पाल्नकै लागि मजदुरी गर्न बाहिर जानुपर्ने सुमित्राको परिवारलाई बाध्यता छ ।

‘यहाँ सिजनमा मकै र आलु मात्रै हुन्छ, बाँकी घरका लागि खाने अन्नपातदेखि कपडा सबै बाहिरबाटै किन्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो, ‘घरको दैनिकी गुजारा चलाउनकै लागि पनि कमाउन बाहिर जानुपर्ने बाध्यता छ ।’ घरमा बस्ने आपूmहरूले बाख्रासँगै गाईवस्तु पाल्ने गरेको उहाँको भनाइ छ । सिंचाइको सुविधा नहुँदा सिजनमा गाउँमा मकै, मसुरो र आलुलगायतको अन्नबाली उत्पादन भए पनि अन्य खेती हुँदैन । त्यसैले छाक टार्नकै लागि भारतको भर पर्नुपर्ने स्थानीयलाई छ ।

‘गाइवस्तु पालेर मात्रै परिवार पाल्न गाह्रो हुन्छ, यहाँ उत्पादन हुने अन्नपातले ६ महिना पनि धान्दैन । सलाईदेखि चालमसम्म भारतकै भर पर्नुपर्ने बाध्यता छ’, उहाँले भन्नुभयो, ‘त्यसैले काम पनि उतै गर्ने र खाद्यान्न पनि उतैबाट किनेर ल्याउनुपर्ने बाध्यता छ ।’ मुसी नाकाकै रामकुमारी विकले पनि करिब तीन/चार घण्टा हिंडेर भारतको बालापुरमा लाग्ने हाट बजारबाट खाद्यान्न ल्याएर दैनिकी चलाउनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।

‘सिंचाइको सुविधा नहुँदा गाउँमा अन्नपात उत्पादन हुँदैन । केही परिवारले बाख्रा पालेर आम्दानी गर्ने गरे पनि विक्रीका लागि नजिकमा बजार छैन’, उहाँले भन्नुभयो, ‘त्यसैले गाउँमा अधिकांश परिवार भारतका बजारसम्म पुगेर मजदुरी नै गर्ने गर्दछन् ।’ मुसीनाकामा सशस्त्र प्रहरी बसेपछि विद्युतसँगै हिउँदमा टेक्टर र मोटरसाइकल चल्ने सडक बनेको छ तर ठूलो पानी परेको खण्डमा सडक हिलाम्य भएर हिड्नै नमिल्ने उहाँ वताउनुहुन्छ । सडक बिग्रिएपछि खाद्यन्न किनमेल गर्न भारतको बालापुर र बिरामी हुँदा कोइलाबास पुग्न समेत समस्या हुने गरेको उहाँ वताउनुहुन्छ ।

‘गाउँमा विद्युत र सडक त बनेको छ तर हिउँदमा मात्रै काम लाग्छ, पानी प¥यो भने बाटो बिग्रिहाल्छ । विद्युत पनि कति दिन जान्छ÷आउँछ पत्तै हुँदैन’, विकले भन्नुभयो, ‘त्यसपछि आफै बोक्नुपर्ने बाध्यता हुन्छ तर बाटो राम्रो नहुँदा निकै समस्या हुन्छ ।’ बर्सातको समयमा गाउँमा कोही बिरामी भए बोकेर स्वास्थ्य चौकी लाग्नुपर्ने बाध्यता रहेको विक बताउनुहुन्छ । अन्य सुविधा भन्दा पनि बाह्रैमहिना राम्रोसँग हिड्न मिल्ने सडक भैदिए स्थानीयका लागि ठूलो राहत हुने विक बताउनुहुन्छ ।

‘अहिले त ठिकै छ, जंगल र खोलाको बाटो भए पनि टेक्कटर र मोटरसाइकल हिड्ने मिल्छ’, उहाँले भन्नुभयो, ‘तर बाटो बिग्रने र बर्सातका कारण खोलाहरू बढ्ने गर्दा हिड्न नसकिने हुन्छ । यो समस्या समाधान गरिदिए स्थानीयका लागि सहजता हुने थियो ।’ उहाँकाअनुसार स्थानीयलाई नेताको आश्वासन अब विश्वास लाग्दैन । त्यसको मुख्य कारण हो, नेताहरू चुनाव ताका मात्रै नाकाका बस्तीहरू पुग्छन् र भोट दिए विकास गरिदिने वाचा पनि गर्दछन् तर चुनाव जितेपछि न नेता आउँछन् न चुनाव ताका गरेका विकास निर्माणका वाचा नै पूरा गर्छन् ।

सडकसँगै खानेपानीको पनि समस्या उस्तै छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँमा खानेपानीको समस्या समाधान गर्ने प्रयास भएको त छ तर खानेपानी आयोजना भरपर्दाे बन्न नसकेको अर्का स्थानीय कमल विक बताउनुहुन्छ। ‘सामान्य भए पनि खानेपानी टेङ्की निर्माण भएको छ तर गर्मी समयमा धारामा पानी नै आउँदैन’, उहाँले भन्नुभयो, ‘त्यसैले पानीकै लागि स्थानीयलाई खोलामा पानी खोज्दै हिड्नुपर्ने बाध्यता छ ।’ टाढा भए पनि मूलको पानी पहिचान गरेर ल्याउन सके सहज हुने उहाँले वताउनुभयो ।

मुसीनाकाबासीलाई सञ्चारको समेत समस्या छ । जुनसुकै बेला घरमा फोन गरौँ भने पनि त्यसो गर्न पाउँदैनन् । त्यसको कारण गाउँमा फोनको नेटवर्कले काम गर्दैन । फोनमा कुरा गर्नुपरे पहाडको डाँडासम्म पुग्नुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ । ‘गाउँमा अधिकांश मानिस बाहिर हुनुहुन्छ, घरमा सुख–दुःख बुझ्न चाहन्छन्’, उहाँले भन्नुभयो, ‘तर घरमा फोन नै लाग्र्दैन, फोन गर्नका लागि दिउँसो पहाडमा अग्लो डाँडाहरू खोज्नुपर्ने हुन्छ ।’

यो दुई÷चार घरपरिवारको मात्रै नभएर मुसीनाकाबासीको समस्या भएको गढवा गाउँपालिका वडा नं. ८ का पूर्व वडाध्यक्ष सद्दाम सिद्दिकी बताउनुहुन्छ । ‘मुसीनाका भौगोलिक रूपमा विकट क्षेत्र हो । गाउँमा विद्युतसँगै सडक, खानेपानीको सुविधा पु¥याउने प्रयास भएको छ’, उहाँले भन्नुभयो, ‘तर भौगोलिक विकटताका कारण विकास निर्माणका काम गर्न समस्या छ ।’ मुसीनाकामा करिब ३२ घरपरिवार बस्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?