सर्यो रास्वपाको केन्द्रीय समिति बैठक, अब दिउँसो २ बजे बस्ने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सरेको छ । बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक बुधबार नै दिउँसो २ बजे बस्ने गरी सारिएको हो । महामन्त्री डा. मुकुल ढकालले बताउनुभयो ।

‘केन्द्रीय सदस्यहरू उपत्यका बाहिर पनि रहेकाले केही समय बैठक सारिएको बताइएको छ । रास्वपाका सभापति रवि लामिछाने र अधिकांश केन्द्रीय सदस्यहरू उपनिर्वाचन प्रचारप्रसारका लागि तनहुँ, चितवन र बारामा भएकले काठमाडौं आइपुग्न समय लाग्ने बताइएको छ ।

पार्टीबाट समानुपातिकतर्फ सांसद रहनुभएका ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच कुराकानीको अडिओ सार्वजनिक भएपछि रास्वपाले अनुशासन समितिमार्फत् छानबिन गरेको थियो । श्रेष्ठलाई सांसद र पार्टीका जिम्मेवारीबाट निलम्बन गरेर रास्वपाले छानबिन गरिरहेको छ।

श्रेष्ठसँग रास्वपाको अनुशासन समितिले अडिओ प्रकरणबारे मंगलबार बयानसमेत लिइसकेको छ। प्रारम्भिक बयानमा सांसद श्रेष्ठले उक्त अडियो आफ्नो नभएको बयान दिनुभएको थियो ।

तर सांसद श्रेष्ठलाई रास्वपाले सांसद र पार्टी साधारण सदस्य समेत नरहनेगरी निलम्बन गर्ने तयारी गरेको छ । भ्रष्टाचारको प्रकरणमा मुछिनेलाई छोड्न नहुने भन्दै सभापति लामिछानेले आपतकालीन केन्द्रीय समितिको बैठक बोलाउनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?