ठूला आयोजना अघि बढाउने बोर्डको निर्णय

Read Time = 3 mins

काठमाडौं । सरकारले स्वदेशी, विदेशी र ठूला आयोजना नेपाल लगानी बोर्डमार्फत् अघि बढाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बोर्डको ५३औँ बैठकले यस्तो निर्णय गरेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार ऊर्जा क्षेत्रमा जलविद्युत् आयोजना अघि बढाउने निर्णय भएको छ । तल्लो अरुण, माथिल्लो मस्र्याङ्दी, दूधकोसी-२ लगायत जलविद्युत् आयोजना अघि बढाउने लगानी बोर्डको बैठकले निर्णय गरेको हो । त्यसैगरी सिमेन्टमा लगानी भएका आयोजनामा उत्पादन तहमा पुगेका छन्, त्यससँग जोडिएको विषयमा पनि केही निर्णय भएको मन्त्री डा. महतले बताउनुभयो ।

रासायनिक मल उत्पादनको चासो सर्वत्र छ । सो सम्बन्धमा पनि बोर्डले निर्णय गरेको छ । लगानी बोर्डका उपाध्यक्षसमेत रहनुभएका अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘मल उत्पादनका लागि वैदेशिक लगानीकर्ताले विस्तृत अध्ययन गर्न अनुमति पर्खिरहनुभएको छ, दुईवटा वैदेशिक लगानीकर्तालाई अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।’

लगानीसँग जोडिएका अन्य धेरै विषयमा बोर्डमा छलफल भएको उहाँले बताउनुभयो । मन्त्री महतले भन्नुभयो, ‘यतिबेला लगानी विभिन्न चरणमा छन्, केही अध्ययन चरणमा छन्, केही सम्पन्न हुने चरणमा छन्, केही कार्यान्वयन चरणमा पुगेका छन् । यी विभिन्न चरणका आयोजना अघि बढाउने र त्यो सँगसँगै आगामी दिनमा बोर्डको प्राविधिकलगायत अन्य क्षमतामा वृद्धि गरेर थप लगानीको परिवेश निर्माण गर्ने कुरामा छलफल भएको थियो ।’

बोर्ड बैठकमा कार्यविधि, ऐनमा संशोधन गर्नुपर्ने कुरा उठेका थिए, सो सम्बन्धमा सरकारले आवश्यकताअनुसार निर्णय लिने पनि मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगामी दिनमा लगानी सम्मेलन गर्ने विषय पनि उठेको थियो, त्यसको उपयुक्त मिति छलफलपछि टुंग्याइनेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?