एक सय मिटर दौडमा अभी र डिनालाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौंका अभी डाँगी र मकवानपुरकी डिना गोपालीले १३औँ राष्ट्रपति रनिङ शिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १०० मिटर दौडमा स्वर्ण पदक जित्नुभएको छ । अभी छात्र तथा डिना छात्रामा पहिलो हुनुभएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभीले ११.८ सेकेण्डमा निर्धारित दूरी पूरा गर्नुभयो । मकवानपुरका सुजन राई तथा चितवनका आशिष राउत तेस्रो हुनुभयो । डिनाले दौड पूरा गर्न १३.९ सेकेण्ड समय लगाउनुभयो । भक्तपुरकी स्वागता खइजु दोस्रो तथा चितवनकी रोजिना गुरुङ तेस्रो हुनुभयो ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको छात्र ८०० मिटर दौडमा नुवाकोटका दिनेश राईले स्वर्ण जित्नुभयो । प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा दिनेशले दुई मिनेट १०.४ सेकेण्ड समय निकाल्नुभयो । मकवानपुरका सुमन योञ्जनले रजत तथा सिन्धुलीका आशाराम अधिकारीले कांस्य जित्नुभयो । सो स्पर्धाको छात्रामा दुई मिनेट ४८.२ सेकेण्ड समयसाथ सिन्धुपाल्चोककी अस्मिता भुजेलले पहिलो स्थान हात पार्नुभयो । नुवाकोटकी आस्था राई दोस्रो तथा दोलखाकी सुष्मा भुजेल तेस्रो बन्नुभयो ।

छात्र ट्रिपलजम्पमा चितवनका सुजितकुमार महतो शीर्ष स्थानमा रहनुभयो । उहाँले १३.२४ मिटर जम्प गर्नुभयो । दोलखाका सुदिप मिजार दोस्रो तथा धादिङका सुवाल वल तेस्रो स्थानमा रहनुभयो । उक्त स्पर्धाको छात्रामा ९.४९ मिटर जम्प गर्दै चितवनकी प्रनिशा महतो पहिलो बन्नुभयो । काभ्रेकी विजया गिरी दोस्रो तथा भक्तपुरकी स्वागता खइजु तेस्रो हुनुभयो ।

छात्र ज्याभ्लिन थ्रोमा मकवानपुरका सुमन योञ्जनले ४४.३२ मिटर थ्रो गर्दै स्वर्ण हात पार्नुभयो । दोलखाका धनबहाुर तामाङले रजत तथा रामेछपका सञ्जय मोक्तानले कांस्य जित्नुभयो । उक्त स्पर्धाको छात्रामा चितवनकी अप्सरा श्रेष्ठ पहिलो हुनुभयो । अप्सराले २८.५३ मिटर टाढा फाल्नुभयो । धादिङकी अप्सरा सुनुवार दोस्रो तथा रामेछापकी अरुणा मानन्धर तेस्रो हुनुभयो ।

मार्सल आर्ट्समा काठमाडौंले ‘क्लिन स्विप’ गरेको छ । कराँतेमा ६ स्वर्ण, उसुमा चार स्वर्ण र तेक्वान्दोमा तीन स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बन्न सफल भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?