सेनाको पदयात्रा गोरखा हुँदै जितगढी

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा ।  नेपाली सेनाको पदयात्रा गोरखा हुँदै जितगढी तय भएको छ । चैत २९ गतेदेखि गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको सेना पाल्पा आईपुुगेको छ ।

ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने तथा सैनिक ईतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले पदयात्रा गरिरहेको छ । उक्त पदयात्रा का क्रममा सेनाको टोली अहिले पाल्पा आइपुगेको हो ।

गोरखा, तनहुँ, स्याङ्जा हुँदै शनिबार पाल्पाको रामपुर भित्रिएको सेनाको टोली तानसेन आइपुगेको हो । गत शनिबार तनहुँको फौजले पाल्पामा तैनाथ फौजलाई पाल्पाको केलादीघाटमा झण्डा हस्तान्तरण गरेको थियो । रामपुर आइपुगेको टोलीलाई भव्य स्वागत गरिएको थियो । टोलीलाई जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, २२ नम्बर बाहिनी बुटवलका सहायक रथी ललितबहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापा, सेनाको दि फेमस महिन्द्र दल गणका गणपति बालमुकुन्द विष्टलगायत रामपुर नगरपालिकाका कर्मचारी, स्थानीय बासिन्दाले पञ्चेबाजासहित स्वागत गरेका थिए । अहिले उक्त टोलीले पाल्पाका कोत, गढी र किल्लामा पदयात्रा गरिरहेको छ ।

रामपुरको केलादीदेखि सुरु भएर ऐतिहासिक पौवा, देवीस्थान, सीताकुण्ड, बेलडाँडा, सिलुवा, जब्गादी, वीरकोट, बाकुमगढी, ताँहु, हुमीन, देवीनगर, मुन्टुङ, केरौली, झडेवा, जगात, गोठादी, हर्नेटार, मरमरा, सिकारकोट, दमार, एक्लेबर सराई, दमकडा, प्रवास हुँदै टोली तानसेन आएको छ । टोली तानसेनको रणउजीरेश्वरी भगवती मन्दिरमा गएको छ । त्यहाँबाट पुनः काजीपौवा डुम्रे, मस्याम, सिस्ने, मरेक झुम्सा, दोभान भएर नुवाकोट गढीमा पुग्ने दि फेमस महिन्द्र दल गणका गणपति बालमुकुन्द विष्टले बताउनुुभयो ।

तानसेन आइपुगेको टोलीलाई तानसेन नगर सरकारले भव्य स्वागत समेत गरेको छ । पदयात्रामा ४८ जनाको सहभागिता रहेको छ । पाल्पाको फौजले आज रुपन्देहीमा तैनाथ फौजलाई पाल्पाको नुवाकोटगढीमा झण्डा हस्तान्तरण गर्दै छ । गोरखा दरबारदेखि रुपन्देहीको जितगढीसम्म करीब २ सय ७ किलोमिटर पदयात्रा गरिनेछ ।

उक्त पदयात्रा, वैशाख ७ गते रुपन्देहीको जितगढी पुगेर समापन हुनेछ । उक्त दिन विजय उत्सव दिवसको रुपमा समेत मनाउँदै आईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?