तनहुँ-१ उपनिर्वाचन : तीन दलीय प्रतिस्पर्धा, कांग्रेस-एमालेलाई रास्वपा चुनौती

डिबी शर्मा
Read Time = 13 mins

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा नौजना उम्मेदवार प्रतिस्पर्धामा छन् । गठबन्धन र एकल गरी विभिन्न नौ दलबाट नौजना चुनावी मैदानमा होमिएका हुन् । नेपाली कांग्रेसका गोविन्द पोखरेल, नेकपा एमालेका सर्वेन्द्र खनाल, रास्वपाका स्वर्णिम वाग्ले, राप्रपाका शोभा गुरुङ लगायतले उम्मेदवारी दिनुभएको छ । तनहुँमा नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनारसमेत उम्मेदवार हुनुहुन्छ । कांग्रेस उम्मेदवारलाई नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको समेत समर्थन छ भने अरू दलका उम्मेदवारहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो । तनहुँ १ मा नौजना उम्मेदवार भए पनि आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा प्रमुख तीन दल कांग्रेस, एमाले र रास्वपाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तीन पार्टीका उम्मेदवार क्रमसः गोविन्द भट्टराई, सर्वेन्द्र खनाल र स्वर्णिम वाग्लेबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

अर्थशास्त्री वाग्ले कांग्रेस छोडेर चैत १६ मा मात्रै रास्वपामा प्रवेश गर्नुभएको थियो । उहाँ पहिलोपटक चुनावी मैदानमा हुनुहुन्छ । एमालेबाट उम्मेदवार बन्नुभएका खनाल पूर्व प्रहरी महानिरीक्षक हुनुहुन्छ । उहाँ गत निर्वाचनमा काठमाडौं-६ बाट रास्वपा उम्मेदवार शिशिर खनालसँग पराजित हुनुभएको थियो । कांग्रेसका भट्टराई पहिलोपटक संसदीय चुनावी प्रतिस्पर्धामा उत्रिँदै हुनुहुन्छ ।

कसलाई कति सहज ?
गत मंसिरको निर्वाचनमा २५ हजार ३८१ मत प्राप्त गर्दै कांग्रेसका रामचन्द्र पौडेल विजयी हुनुभएको थियो । पौडेललाई माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सघाएका थिए । उहाँका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९८१ मत पाउनुभएको थियो । तेस्रोमा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी हुनुहुन्थ्यो । उहाँले ६ हजार ८८६ मत प्राप्त गर्नुभएको थियो । चौथो नम्बरमा रहनुभएका रास्वपा उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत पाउनुभएको थियो । तनहुँ १ मा अहिले एक लाख २३ हजार ३०५ मतदाता छन् ।

पहिलेकै मत कायम रहने हो भने माओवादी र एकीकृत समाजवादीको समेत समर्थन भएकाले कांग्रेस उम्मेदवार अगाडि देखिएका छन् । चुनावमा व्यक्तिको प्रभाव पनि पक्कै हुन्छ । अहिलेका उम्मेदवारका व्यक्तित्वले मत परिणाममा फरक पार्ने निश्चित छ । अर्को कुरा गत निर्वाचनमा दलहरूले पाएको समानुपातिक मत र प्रत्यक्ष मतमा भिन्नता छ । कांग्रेसले तनहुँ-१ मा समानुपातिक मत जम्मा २० हजार १५८ ल्याएको थियो भने एमालेले १६ हजार ६ सय ८३ मत पाएको थियो । जबकि दुवै दलका प्रत्यक्षतर्फका उम्मेदवारले योभन्दा धेरै भोट ल्याएका थिए । जहाँ रास्वपाले १२ हजार ७७३ मत ल्याउँदै तेस्रो बनेको थियो । तर, रास्वपा उम्मेदवारले प्रत्यक्षमा ६ हजार मात्रै भोट ल्याएका थिए ।

तनहुँको चुनावमा गोविन्दराज जोशी फ्याक्टर महत्वपूर्ण मानिन्छ । उहाँले यसपालि पनि कांग्रेसलाई साथ नदिने स्पष्ट पारिसक्नु भएको छ । उहाँले रास्वपा उम्मेदवार वाग्लेलाई सहयोग गर्ने संकेत गर्नुभएको छ । यसले तनहुँमा रास्वपा उम्मेदवार बलियो दाबेदार देखिनुहुन्छ । रास्वपाले गत निर्वाचनमा पाएको समानुपातिकसहित जोशीको र केही मत बढाउँदा चुनावी नतिजा हात पार्न सक्ने आँकलन गरेको छ ।

कांग्रेसले पुरानो मत कायम राख्न सके जितिने ठानेको छ । तर, कांग्रेस र रास्वपा उम्मेदवारबीच मत बाँडिँदा आफू विजयी हुने एमाले उम्मेदवारको दाबी छ । एमालेका नेताहरू आफ्नो हिजोको मत सुरक्षित रहेको र नेपाली कांग्रेसको मत रास्वपामा विभाजित हुने हुँदा खनालको जित सहज हुने विश्वासमा छन् । मुख्य दलका प्रभावशाली उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएपछि तनहुँको चुनाव प्रतिष्ठाको लडाइँ बनेको छ । तीन पार्टीको चुनावी चर्चाले अरू उम्मेदवारलाई ओझेलमा पारेको छ ।

गठबन्धनको शक्ति प्रदर्शन
तनहुँ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न शीर्ष नेता तनहुँ पुगेका छन् । भट्टराईको पक्षमा चुनावी माहोल बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू तनहुँ पुग्नुभएको छ । त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेताहरू पनि तनहुँ पुग्नभएको हो । तनहुँ १ मा कांग्रेसबाट भट्टराई, रास्वपाबाट स्वर्णिम वाग्ले र नेकपा एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ ।

ठूला गफ हाँक्नेको असलीयत बाहिर आउँदै छ, खहरे खोला सुक्छ : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै खहरे खोला सुक्ने टिप्पणी गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्डले तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कुनै आँधी, हुरी र बताससँग नआत्ती सतिसालझैँ खडा भएर शान्ति, संविधान र विकासको निम्ति उभिन आग्रह गर्नुभयो । ‘कहिलेकाहीँ खहरे खोला उर्लिएर आउँछ, डरलाग्दो गरी आउँछ,’ उहाँले भन्नुभयो, ‘तर, त्यो सुक्नेवाला छ । नदी गम्भीर ढंगले महासागरतिर लम्किरहन्छ, यो कुरा नभुलाँै ।’ उहाँले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न आफूले रवि लामिछानेले गृहमन्त्री भएका बेला गरेको ठेक्का सम्झौता रद्द गरेको बताउनुभयो । प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध ठूला गफ हाँक्नेको असलीयत के हो भन्ने आफूहरूले देखेको बताउनुभयो ।

सरकारले लामिछानेले गरेको ठेक्का सम्झौता रद्द गर्दै छानविन समिति गठन गरेको छ । उपचुनावमा गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाएर पठाउने आश्वासनसमेत उहाँले दिनुभयो ।

तनहुँ राष्ट्रपतिको भूमि भइसक्यो, अब भट्टराईलाई मन्त्री बनाउने हो : देउवा
नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले देश निर्माणमा तनहुँको योगदान उच्च रहेको बताउनुभएको छ । बुधबार तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पनि पृथ्वीनारायण शाहको जत्तिकै भएको बताउनुभयो । तनहुँ आदिकवि आचार्यको जन्मभूमि भएको भन्दै देउवाले अब राष्ट्रपतिको भूमि पनि भएको बताउनुभयो । अब पनि देशमा सरकार आफूहरूकै बन्ने उहाँको भनाइ छ । ‘देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम छैन । तनहुँले अब राष्ट्रपति पनि पाइसकेको छ । यो राष्ट्रपतिको समेत भूमि हो,’ उहाँले भन्नुभयो, ‘सरकार अर्काको बन्दैन बन्ने हाम्रै हो, गर्ने हाम्ले हो । गोविन्द योग्य उम्मेदवार हुनुहुन्छ । उहाँ मन्त्री हुन योग्य हुनुहुन्छ, हुनुहोला ।’

राजनीतिलाई सही दिशा हामी दिन्छौँ, तपाईंहरू निर्वाचनमा सही निर्णय लिनुस् : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिलाई सही दिशा दिने जिम्मेवारी आफूहरूको भएको बताउनुभएको छ । बुधबार तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिलाई सही दिशामा लिएर जान तनहुँका मतदाताले सही उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । ‘राष्ट्रिय राजनीतिलाई सही दिशामा लाने जिम्मा हाम्रो भयो । यसका लागि निर्वाचनमा तपाईंले सही निर्णय लिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘तनहुँसँगै जोडिएको गोरखाका दुई प्रधानमन्त्री हामीसँग हुनुहुन्छ, एक पूर्वप्रधानमन्त्री र एक बहालवाला ।’

रवि लक्षित डा. भट्टराईको टिप्पणी : कसैले जितेर पद बार्गेनिङ गरिरहेको देख्छु
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रवि लामिछानेले जितेर आफ्नै लागि पद बार्गेनिङ गरेको आरोप लगाउनुभएको छ । बुधबार तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले यस्तो बताउनुभएको हो । ‘कोही राम्रो उम्मेदवार पनि होलान् तर, गठबन्धन बाहिरको भयो,’ उहाँले भन्नुभयो, ‘कसैले जितेर पद बार्गेनिङ गरिरहेको देख्छु ।’ भट्टराईले सरकारलाई स्थिरता दिएर सुशासन र समृद्धिको आधार तयार गर्ने लक्ष्य लिइएको बताउनुभयो । उहाँले फेरि देशलाई अस्थिरतामा लैजाने कि स्थिर सरकार बनाउने भन्ने विषयमा जनताले सोच्नुपर्ने बताउँदै सुशासन र समृद्धिका लागि गोविन्द भट्टराईको विजय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?