एसिसी प्रिमियर कप : मलेसियाको पहिलो जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले साउदी अरेबियालाई आठ विकेटले पराजित गरेको हो । यसअघि भएको पहिलो खेलमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको थियो । यस जितसँगै दुई खेल खेलेको मलेसियालले दुई अंक जोडेको छ ।

साउदी अरेबियाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । आजको खेलमा साउदी अरेबियाले प्रस्तुत गरेको १५४ रनको लक्ष्य मलेसियाले २१ दशमलब २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । मलेसियाका मोहम्मद अमिर र वीरनदीप सिंहले अर्धशतकीय पारी खेले ।

अमिरले ४४ बलमा १२ चौकाको मद्दतमा सर्वाधिक ५६ रनको योगदान दिनुभयो । त्यस्तै, वीरनदीप सिंहले ५३ बलमा आठ चौकाको मद्दतमा ५१ बनाउनुभयो । मलेसियाका अर्का खेलाडी सैयद अजिजले अविजित ३४ रन जोड्नुभयो । साउदी अरेबियाका लागि जइन उल अबिदीनले दुई विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले ४६ दशमलब दुई ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनाएको थियो । साउदीका लागि हसिब घफोरले सर्वाधिक ४० रनको योगदान दिनुभयो भने अब्दुल वाहिदले ३६ रन बनाउनुभयो । त्यसैगरी कप्तान हिसम शेखले २७ तथा अतिफ उर रहमानले अविजित १८ रन बनाउनुभयो ।

बलिङतर्फ मलेसियाका खिजर हायातले तीन विकेट लिनुभयो भने मोहम्मद वाफिक, रिजवान हैदर र अनवर रहमानले समान दुई/दुई विकेट लिनुभयो । त्यस्तै, वीरनदीप सिंहले एक विकेट झार्नुभयो ।

एसिसी प्रिमियर कपको समूह ‘ए’ मा घरेलु टोली नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मूलपानीमा हुनेछ । प्रतियोगिताको उपाधि जित्ने टोलीले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछन् ।

नेपालले दोस्रो खेल शुक्रबार ओमानसँग, तेस्रो खेल साउदी अरेवियासँग वैशाख ११ गते खेल्नेछ । नेपालले वैशाख १४ मा कतारसँग टियुमा खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?