राष्ट्रिय जुडोमा इन्द्र र निर्मला उत्कृष्ट खेलाडी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र लुम्बिनी प्रदेशकी निर्मला कुँवर अठारौं राष्ट्रिय जुडो प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । उत्कृष्ट बनेका इन्द्रले पुरुष ६६ केजीमुनि स्वर्ण तथा निर्मलाले महिला ६३ केजीमुनि कांस्य जित्नुभयो ।

नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन सात स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । पहिलो दिन पनि सात स्पर्धाको फाइनल भएको थियो ।

पुरुष ८१ केजीमुनि सुदूरपश्चिम प्रदेशका योगेन्द्र विष्टले स्वर्ण जित्नुभयो । उहाँले फाइनलमा नेपाल एपीएफ क्लबका सुजन तामाङलाई पराजित गर्नुभयो । नेपाल आर्मीका जंगबहादुर सारु र प्रहरीका मधु रोकामगर तेस्रो हुनुभयो । ९० केजीमुनि प्रहरीका मनीष महतो पहिलो हुनुभयो । उहाँले फाइनलमा आर्मीका राजेश थापा मगरलाई हराउनुभयो ।

एपीएफका लेलिन डंगोल र बागमती प्रदेशका रामभक्त तामाङले कांस्य जित्नुभयो । १०० केजीमुनि प्रहरीका श्रीराम मकाजुले फाइनलमा मधेस प्रदेशका हिमान्शु गुप्तालाई पाखा लगाउँदै शीर्षस्थान हात पार्नुभयो । बागमतीका आकाश आले मगर तेस्रो स्थानमा रहनुभयो । १०० केजीमाथि आर्मीका रन्जेश गोलेले बाजी मार्नुभयो । उहाँले फाइनलमा प्रहरीका राजन जोशीलाई निराश पार्नुभयो । कर्णाली प्रदेशका निश्चल राई तेस्रो बन्नुभयो ।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको महिला ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो हुनुभयो । फाइनलमा पुनमले प्रहरीकी रजनी मगरलाई पन्छाउनुभयो । बागमतीकी रञ्जना खड्का तेस्रो बन्नुभयो । ७८ केजीमुनि प्रहरीकी दीपा गुरुङले फाइनलमा कर्णालीकी पुर्णिमा चौधरीको चुनौती समाप्त पार्दै शीर्षस्थान कब्जा गर्नुभयो आर्मीकी निर्मला घर्ती मगरले कांस्य हात पार्नुभयो । ७८ केजीमाथि आर्मीकी आकृति जोशीले प्रहरीकी पूजा राजवंशीमाथि जित दर्ता गर्दै स्वर्ण चुम्नुभयो । कर्णालीकी दिपिका अछाजु तेस्रो हुनुभयो ।

प्रतियोगितामा समावेश विभिन्न १४ स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडी असोज ६ गतेदेखि चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि प्रारम्भिक छनोट गरिएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाउनुभएको छ । दुईदिने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका ६४ पुरुष र ५२ महिला गरी ११६ खेलाडी सहभागी हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?