उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी गर्न भारतलाई परराष्ट्रमन्त्रीको आग्रह

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी बेपत्ता नेपालीको खोजी र उद्धारका लागि भारतीय पक्षसँग आग्रह गर्नुभएको छ । उहाँले शनिबार उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयागस्थित गौरीकुण्डमा खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोजी र उद्धारका लागि आग्रह गर्नुभएको हो । सो पहिरोमा १९ जना बेपत्ता छन् । भारतीय सञ्चार माध्यमका अनुसार बेपत्तामध्ये अधिकांश नेपाली छन् । बेपत्ताको खोजीका लागि शनिबार बिहानैदेखि सुरक्षाकर्मी र अरू निकाय खटाइएको मुख्यमन्त्री धामीले परराष्ट्रमन्त्री साउदसँग बताउनुभयो । बेपत्ताको खोजीका लागि आफूले स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको धामीले बताएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जानकारी गराएको छ । त्यसअघि, शुक्रबार परराष्ट्रमन्त्री साउदले दिल्लीस्थित नेपाली राजदूतावासलाई भारत सरकारसँग समन्वय गरेर पहिरोमा परी बेपत्ता नेपालीको खोज, उद्धार तथा राहतका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको थियो ।

यसैबीच, पहिरोमा परेर मृत्यु भएका तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार कालीकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उहाँहरूका आफन्तबाट पहिचान खुलेको हो । ‘घटनास्थलमै रहेका आफन्तबाट तीन शवको पहिचान खुलेको हो,’ नयाँदिल्लीबाट रासससित कुरा गर्दै उहाँले भन्नुभयो । घटनास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रूपमा, स-साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले बताउनुभयो । बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।

बिहीबार रातिदेखि परेको वर्षाका कारण रुद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए । बेपत्ताको खोजी जारी छ । उक्त क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका अन्य सदस्यसहित काम गर्दै आएका छन् । सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ । बेपत्ताको खोजीका लागि नयाँ दिल्लीस्थित दूतावासमार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शोकमा डुब्यो जुम्लाको चौरगाउँ
भारतको केदारनाथमा बिहीबार राति गएको पहिरोमा परी एकै घरका सातसहित एकैगाउँका ११ जना बेपत्ता भएपछि जुम्ला पातारासी-३ को चौरगाउँ शोकमा डुबेको छ । धन कमाउँला भनेर भारत गएकाहरू पहिरोमा पुरिएर बेपत्ता भएपछि गाउँमा सन्नाटा छाएको हो । केदारनाथमा गएको पहिरोमा चौरका २८ वर्षीय अमर बोहोरा, उहाँकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, आठ वर्षीया छोरी पिंकी, सात वर्षीय छोरा पृथ्वी, ६ वर्षीय छोरा जटिल र तीन वर्षीय छोरा वकिल बेपत्ता हुनुभएको हो । उहाँहरूसँगै चौरगाउँकै शुकराम रावत र बमबहादुर बोहोरा पनि बेपत्ता हुनुभएको छ ।

एकैपटक यति धेरै बेपत्ता भएपछि गाउँमा रुवावासी नै चलेको छ । पातारासी–२ पेरे गाउँमा पनि रुवावासी चलेको छ । पहिरोमा ५५ बर्षीय धर्मराज बुढा र २४ बर्षीय चन्न कामी पनि बेपत्ता हुनुहुन्छ । पहिरोमा पुरिएकामध्ये अमर होटल चलाएर बस्नुभएको थियो । अन्य युवाहरू केदारनाथमा मान्छे बोक्ने, पल्लीदारी गर्नेदेखि स्याउ बोक्ने र बगैँचाको हेरचाह गर्नेसम्मको काम गरिरहेका थिए ।

बेपत्ता नेपालीको खोजी गर्न सरकारसँग कांग्रेसको माग
भारतको उत्तराखण्ड राज्यमा केदारनाथ गौरीकुण्डनजिकै पहिरोमा परेर बेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरूको स्वास्थ्योपचारको व्यवस्था मिलाउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ । पार्टीले स्वदेश फिर्ता ल्याउनका लागि भारत सरकारसँग अविलम्ब पहल गर्न सरकारसँग माग गरेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिरोमा परेर नेपाली नागरिक बेपत्ता भएको खबर अत्यन्तै दुःखद छ । बेपत्ता हुने अधिकांश व्यक्ति जुम्ला पातारासी गाउँपालिकाका भन्ने बुझिन आएको छ । यस दुःखद घटनामा बेपत्ता भएका व्यक्तिको परिवारजनको पीडाप्रति नेपाली कांग्रेस गहिरो संवेदनशीलता र सहानुभूति प्रकट गर्दछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?