प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले संसद् बन्धक, आ-आफ्नै अडानमा सत्ता–प्रतिपक्षी

डिबी शर्मा
Read Time = 14 mins

काठमाडौं । ‘आफूलाई प्रधानमन्त्री बनाउन भारतीय व्यवसायी प्रितम सिंह दिल्ली गएको’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विवादस्पद अभिव्यक्तिलाई लिएर संसद् बन्धक बनेको छ । विपक्षी दलहरूको अवरोधका कारण संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक नियमित चल्न सकेको छैन । राष्ट्र हितविपरीत अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न दिने विपक्षी दलहरूको अडान छ । प्रधानमन्त्री प्रचण्डले नेपालमा पहिलोपटक ट्रक भित्र्याउने भारतीय व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा गत सोमवार विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । प्रचण्डको उक्त अभिव्यक्तलाई लिएर उहाँको चर्को आलोचना भइरहेको छ । सोही अभिव्यक्तिलाई लिएर संसद्मा विपक्षी दलहरूले राजीनामा मागेका छन् ।

अभिव्यक्तिकै कारण शुक्रबार बस्ने तय भएको प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेसहित विपक्षी दलहरूले सदन अवरोध गर्ने भएपछि प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित गरिएको हो । शुक्रबार ३ बजेका लागि बोलाइएको बैठक आइतबार १ बजेसम्मको लागि स्थगित गरिएको संघीय संसद्मा महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

प्रतिनिधिसभासँगै विपक्षी दल एमालेले राष्ट्रियसभा बैठक अवरोध गरेको छ । एमाले सांसद विमला घिमिरेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नसक्ने बताउनुभयो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले तीन दिनदेखि बैठक अवरोध हुँदै आइरहेको भन्दै संवाद र छलफलबाट समस्याको समाधान खोज्न आग्रह गर्नुभएको थियो । एमालेले अडान नछाडेपछि बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ ।

संसद् खुलाउन सभामुखको आग्रह
सभामुख देवराज घिमिरेले अवरुद्ध संसद् खुलाउन सत्ता पक्ष र प्रतिपक्षबीचको सहमति खोज्नुभएको छ । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संसद् खुलाउन सहमति खोज्न आग्रह गर्नुभएको हो । दलहरूबीच सहमति गराउन आफूले सहजीकरण गर्ने उहाँले बताउनुभयो । ‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर सहमति गर्नुहोला । संसद् अवरुद्ध हुँदा मिटरब्याजसम्बन्धी सहितका महत्वपूर्ण विधेयक निष्क्रिय हुनु राम्रो होइन,’ उहाँले भन्नुभयो, ‘तपाईंहरू एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि म सहजीकरण गर्न तयार छु ।’

प्रधानमन्त्रीले बोलेको प्रष्ट छ, राजीनामा नदिई संसद् चल्दैन : पन्त
नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई संसद् बैठक नचल्ने स्पष्ट पार्नुभएको छ । शुक्रबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् नचल्ने बताउनुभयो । ‘हामी निरन्तर अवरोध कायम राख्छौँ भनेका छैनौँ । प्रधानमन्त्रीले राजीनामा दिए पर्सि नै खुल्छ,’ उहाँले भन्नुभयो, ‘उहाँले बोलेको कुरालाई लिएर क्लिएरिफेकसन दिनुपर्ने कुरा छैन । आफ्नो साँचो कुरा उहाँले व्यक्त गर्नुभयो । उहाँको ठाउँमा बसेर जो बोलेको भए पनि गलत हो । त्यो अरूले बोलेको भए पनि राजीनामा मागिन्थ्यो । राजीनामा दिनुपर्छ हाम्रो अडान त्यही हो ।’

प्रधानमन्त्रीले बोल्न नहुने बोल्नुभयो, सबैलाई अप्ठ्यारो महसुस भएको छ : थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् अवरुद्ध भएकोबारे प्रधानमन्त्रीले संसद्मा आफ्नो धारणा राखेपछि स्पष्ट हुने बताउनुभएको छ । केन्द्रीय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिले सबैलाई अप्ठ्यारो महसुस गरेको बताउनुभयो । प्रधानमन्त्री दाहालले पुस्तक विमोचनका क्रममा अभिव्यक्त गरेका कुरा प्रधानमन्त्रीको हैसियतले बोल्नु नहुने र शोभनीय नभएको उहाँको भनाइ थियो । प्रधानमन्त्री स्वयंले यस विषयमा संसद्मा स्पष्टीकरण दिएपछि अन्योल हट्ने पनि उहाँले बताउनुभयो ।

नेताहरूमा विदेशीको सेवा गरेर मात्रै सत्तामा बस्न सकिन्छ भन्ने मनोदशा छ : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झनै गम्भीर बनाएको उहाँले जिकिर गर्नुभयो । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको भू-राजनीति तथा सामरिक चुनौतीहरू’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहालले अघिल्लोपटक प्रधानमन्त्री बन्दा पनि छिमेकीका लागि कम्फर्टेवल सरकार बनाउनुपर्ने धारणा राखेर विदेशीलाई खुसी बनाउन खोजेको आरोप लगाउनुभयो । विदेशीको सेवा गरेर मात्रै सत्तामा टिकिरहन सकिन्छ भन्ने मनोदशाका कारण मुलुकको भूराजनीतिक परिस्थिति पेचिलो भन्दै गएको उहाँले भनाइ थियो । ‘मलाई प्रितम सिंहले प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली धाउनुभएको थियो भन्दा दिल्लीसँग राम्रो सम्बन्ध छ भन्ने सुनाएर देशवासीलाई प्रभाव दिन खोज्ने प्रधानमन्त्री अहिले मुलुकले पाइरहेको छ । यो एउटा मात्रै घटना होइन । अघिल्लोपटक सरकार बनाउने क्रममा पनि अहिलेकै प्रधानमन्त्रीले ‘कम्फर्टेबल’को कुरा गर्नुभएको थियो,’ लिङ्देनले भन्नुभयो, ‘हाम्रो नेताहरू विदेशीको सेवा गरेर मात्रै, विदेशीहरूको साथ र समर्थन पाएर मात्रै सत्तामा बस्न सकिन्छ भन्ने मनोदशाबाट प्रेरित हुँदै गएको अवस्था छ ।’

विपक्षीले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्नुहुन्न : प्रवक्ता शर्मा
सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान चालेपछि विपक्षी दलको टाउको दुःखेको टिप्पणी गर्नुभएको छ । सरकारकी प्रवक्तासमेत रहनुभएकी शर्माले प्रेस सेन्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिने भन्दै राजीनामा भने नदिने स्पष्ट पार्नुभयो । ‘प्रधानमन्त्रीले बोलेको विषयमा संसद्मा राजीनामा चाहिन्छ भन्ने खालको नियोजित माग गरिराख्नु भएको छ । त्यसप्रति सरकार गम्भीर छ । प्रधानमन्त्रीले के बोल्नुभएको हो सदनमा स्पष्ट पार्नुहोस् भनेको भए सहज हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने कहीँ पनि प्रचलन छैन । उहाँले आफ्नो कुरा राखेपछि हामी अगाडि बढ्छौँ । पछिल्लो समय सरकारले चालेको कदमले कतिपयको टाउको दुःखाइको विषय बनेको हामीले बुझेका छौँ ।’

अति भएपछि हामीले राजीनामा माग गरेका छौँ, प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले लोकतन्त्र, देश र सार्वभौम सत्तामाथि ठट्टा गरिएको टिप्पणी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले छिमेकी देशलाई समेत विवादमा तान्ने प्रयास गरेको आरोप लगाउनुभयो ।

नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने उहाँले दोहोर्‍याउनुभयो । सत्तापक्षले घमण्ड देखाएर संसद्मा भेट्न भनेको उल्लेख गर्दै सत्तापक्षसँग यसबारेमा कुनै पनि ठाउँमा भेट्न तयार रहेको उहाँले बताउनुभयो । ‘सरकार संसद्बाट छानिएको होइन रहेछ । अस्ति प्रधानमन्त्री आफैँले एउटा प्रमाण पेस गर्नुभएको छ । यस्ता कति प्रमाण छन् छन् । कति दिल्ली कुदेका र उडेका छन्,’ ओलीले भन्नुभयो, ‘तर, उहाँले प्रितम सिंहलाई पनि बेकार मुछ्नुभयो । प्रितम सिंहले म प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको होइन भन्नुभएको छ । प्रचण्डले झुट बोल्नुभयो । मित्रराष्ट्र भारतले नेपालमा सरकार बनाउँछु अहिलेसम्म भनेको छैन । तर, नेपालको प्रधानमन्त्री भनिरहेका छन्, नेपालको सार्वभौमसत्ता नेपालको संसद्मा छैन, नेपाली जनतामा छैन, नेपालका सांसद, संसद्ले सरकार बनाउने होइन, दिल्ली दौडिएर सरकार बन्छ । सार्वभौम सत्तामाथि मजाक उडाइएको छ । अति भएपछि हामीले राजीनामा माग गरेका छौँ । प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ ।’

प्रचण्डले भारत भ्रमणका क्रममा रअ प्रमुखको निवासमै गएर भेटेको दाबी
ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर संस्था (रअ) प्रमुखसँग भेटेर आएको दाबी गर्नुभएको छ । उहाँले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणका क्रममा रअ प्रमुखकै घरमा गएर बसेको दाबी गर्नुभयो । रअ प्रमुखसँगको भेटबारे प्रधानमन्त्रीले लुकाएको आरोप उहाँको आरोप छ । भारतीय रअ प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रूपमै भेटेको र कुनै कुरा नलुकाएको दाबी गर्नुभयो । ‘भारतबाट रअका प्रमुख नेपाल आएर मसँग भेट्छु भने मैले सार्वजनिक रूपमा भेटेँ । यसपटक प्रचण्डजी दिल्ली जानुभयो र उनको निवासमा गएर लुकेर भेट्नुभयो,’ ओलीले भन्नुभयो, ‘गोप्य मन्त्रणा गरेर आउनुभयो । मैले त्यस्तो गोप्य मन्त्रणा गरेको होइन, उहाँ गएर भेटेको होइन । मलाई भेट्न आएको ठाउँमा मैले भेट दिएको हो । उहाँले भेटेको कुरा पनि स्वीकार्न सक्नुहुन्न ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?