सन्दीपको दुर्लभ विश्व कीर्तिमान

हिमालय टाइम्स
Read Time = 3 mins

यज्ञराज जोशी/हिटा
काठमाडौं । नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले दुर्लभ विश्व कीर्तिमान कायम गर्नुभएको छ । एसिसी प्रिमियर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा ओमानका अदिल शफिकलाई आउट गर्दै उहाँले उक्त कीर्तिमान रच्नुभएको हो ।

अब उहाँ एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विकेट लिने एक मात्र खेलाडी बन्नुभएको छ । यसअघि ओडिआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ । रसिदले ४४ खेलमा सय विकेट लिनुभएको थियो । शुक्रबार भएको खेलकोे १३औँ ओभरमा आफ्नो पहिलो ओभर लिएर आउनुभएका सन्दीपले शफिकलाई एलबिडब्लुको धरापमा पार्दै उक्त कीर्तिमान बनाउनुभएको हो ।

यस्तै, अष्ट्रेलियाका मचेल स्ट्राकले ५२, पाकिस्तानका साकरिन मुस्फाकले ५३, न्युजिल्याण्डका साइबन्ड र बंगलादेशका मुस्ताफिजुर रेहमानले समान ५४-५४ खेलमा सय विकेट पूरा गर्नुभएको छ ।

सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यु गर्नुभएका सन्दीप ओडिआईमा ५० विकेट सर्वाधिक छिटो पूरा गर्ने विश्वकै दोस्रो खेलाडीसमेत हुनुहुन्छ । सन्दीपले २२ खेलमा ओडिआईमा ५० विकेट पूरा गर्नुभएको थियो । सन्दीपले तीनपटक पाँचवटा भन्दामाथि विकेट पनि लिनुभएको छ । यस्तै, नेपालका लागि सोमपाल कामीले ४४ खेलमा ६१ तथा करण केसीले ३८ खेलमा ५६ विकेट लिनुभएको छ ।

नेपाल र ओमान दुवै ओडिआई राष्ट्र भएकाले शुक्रबारको खेललाई एकदिवसीय मान्यता प्राप्त छ । नेपालले यसअघि मलेसियाविरुद्ध खेलेको म्याचमा सन्दीपले तीन विकेट लिए पनि एक दिवसीय खेलको मान्यता प्राप्त नभएकाले त्यसको गणना भएन । आफ्नो १००औँ विकेट पूरा भएसँगै उहाँले मैदानलाई ढोगेर/चुमेर खुसी मनाउनुभएको थियो । उहाँलाई विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट बधाई आइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?