धौलागिरि हिमाल आरोहणका लागि स्पेनका ८३ वर्षिय कार्लोसको १३औं प्रयास

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । संसारकै सातौं अग्लो (८ हजार १ सय ६७ मिटर) धौलागिरि हिमाल आरोहणका लागि स्पेनका ८३ वर्षिय कार्लोस सोरिया बेसक्याम्पमा पुग्नुभएको छ ।

म्याग्दीको धौलागिरि गाउँपालिका –४ मुदीमा अवस्थित धौलागिरि हिमाल आरोहण कार्लोसको यो १३ औँ पटकको प्रयास हो ।

धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गर्नुभएका कार्लोसको दुई दशक यता १२ औँ पटक आरोहण गर्दा पनि धौलागिरिको चुचुरोमा पुग्ने सपना पुरा हुन सकेको छैन । धौलागिरि आरोहण गर्ने सपना पुरा गर्न यसपालि कार्लोस फेरी बेसक्याम्प पुग्नुभएको कार्लोस संलग्न आरोहण दलको नेतृत्व गर्नुभएका मिङतेम्बा शेर्पाले जानकारी दिनुभयो ।

अहिले धौलागिरि आरोहण क्रममा रहेका कार्लोसले यसअघि ६० देखि ८२ वर्षको हुन्जेलसम्ममा थुप्रै शिखर आरोहण गर्नुभएको छ । सन् २००१ मा सगरमाथा आरोहण गरेका उहाँले चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजंघा, अन्नपूर्णसमेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको आरोहण गरी विश्व रेकर्ड राख्नुभएको छ ।
सन २०२१ सेप्टेम्बर १४ मा पनि कार्लोस धौलागिरिको ७ हजार १ सय मिटर उचाइको तेस्रो क्याम्प पुग्नुभएको थियो ।

गत वर्ष सन् २०२२ मा पनि १२ औँ पटकको प्रयासमा कार्लोस ७ हजार मिटरको उचाइमा रहेको पहिलो क्याम्पमा पुगेर फर्किनु भएको थियो ।
मौसम बिग्रेपछि त्यहाबाट अघि बढ्न नसकेर फर्किनुभएको थियो । संसारका जेठा पर्वतारोहीलाई यस वर्ष धौलागिरि आरोहण गराउन लागेको सेभेन समिट ट्रेक्सले जनाएको छ  ।

सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटर भन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान राख्न कार्लोस सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा धौलागिरि हिमाल चढ्न लाग्नुभएको हो ।
प्रतिकुल मौसमका कारण यतिखेर कार्लोसको आरोहण दल बेसक्याम्पमा रोकिएको छ । कार्लोसको आरोहण दलको नेतृत्व मिङतेम्बा शेर्पाले गर्नुभएको छ । सेभेन समिटका तर्फबाट २५ जना विदेशी आरोही बेसक्याम्पमा पुगेको सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईँले जानकारी दिनुभयो । अनुकूल मौसम भए २० देखि २५ दिन भित्रमा हिमाल आरोहण गर्ने उहाँले जानकारी दिनुभयो ।

‘‘स्पेनका ८३ वर्षीय पर्वतारोही कार्लोस सोरिया सहितको आरोही टिम १२ दिन अघि बेसक्याम्पमा पुगेको छ, अहिले त्यहाँ भारी हिमपात भइरहेको खबर आएको छ,’’ सेभेन समिटका गुरागाईँले भन्नुभयो, ‘‘आरोहीहरू अनुकूल मौसमको प्रतीक्षामा छन्, मौसममा सुधार आए लगत्तै आरोहीहरू धौलागिरिको चुचुरोतर्फ लाग्नेछन् ।’’ ८३ वर्षीय कार्लोसले यसपालि धौलागिरि हिमाल आरोहण गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?