नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।

मंगलबार बिहान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताउनुभयाे ।

भेटमा अध्यक्ष डा. पुनले “यात्री” लगायत नेपालमै उत्पादित सवारीसाधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएकाे थियाे ।

डा. पुनले नेपालमा उत्पादित सवारीसाधनलाई दर्ता गर्ने र प्रवर्द्धन गर्ने प्रयोजनका निम्ति सरकारले कानुन ल्याउने तयारी गरेकोमा धन्यवाद दिँदै कानुन निर्माणको काम छिट्टै सम्पन्न गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री प्रचण्डले डा. पुनले उठाएका विषयहरू राष्ट्रिय हित र समृद्धिको पक्षमा रहेको भन्दै नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले विज्ञान-प्रविधिको विकासबिना देशको विकास सम्भव नहुनेमा आफू स्पष्ट रहेको भन्दै नेपालमा उत्पादित सवारीसाधनलाई दर्ता गर्ने र राष्ट्रिय उत्पादनलाई प्रवर्धन गर्ने कानुनको मस्यौदा तयार पार्ने प्रक्रिया अघि बढिसकेको बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?