महासंघको टिमलाई ग्रिल व्यवसायीको सम्मान

फाईल तस्बिर

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले करिब ८० प्रतिशत राजस्व र रोजगारी सिर्जना गरेर योगदान पुर्‍याएको भन्दै निजी क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण सकारात्मक हुनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी महासंघद्वारा आयोजित उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारी सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

पछिल्लो समय निजी क्षेत्र नाफाका लागि मात्रै काम गर्छ । सामाजिक उत्तरदायित्व पूरा गर्दैन भन्ने भ्रम जनतामा रहेकाले त्यस्तो भ्रम हटाउनुपर्ने उहाँको भनाइ थियो ।

साथै उहाँले क्रमिकरूपमा रेमिट्यान्स र पर्यटक आगमनमा वृद्धि, बैंकको तरलता सहज, बैंकको ब्याजदर घट्ने क्रममा रहेको पनि बताउनुभयो । अध्यक्ष ढकालका अनुसार निक्षेपको ब्याजदर बढेका कारण कर्जाको ब्याजदर वृद्धि भए पनि सरकार, नेपाल राष्ट्र बैंक, बैंकर्स संघ र निजी क्षेत्रको पहलमा ब्याजदर कम हुँदै गएको हो ।

महासंघका उपाध्यक्ष हेमराज ढकालले महासंघको वर्तमान नेतृत्व आएसँगै महासंघ धेरै चलायमान भएको दाबी गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अध्यक्षको नेतृत्वमा प्रधानमन्त्रीदेखि अर्थमन्त्री र पार्टीका अध्यक्षहरूलाई भेटेर ध्यानाकर्षण गराएको बताउनुभयो ।

ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले नीतिगत विभेदका कारण देशभरमा ६० प्रतिशत स्टिल व्यवसायीहरू कानुनी दायरामा आउन नसकेको बताउनुभयो । व्यवसायीले कानुनीरूपमा व्यापार व्यवसाय गर्न चाहे पनि सरकारले बेवास्ता गरेको उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?