गौरीगंगा ११ को विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । कैलालीको कैलारी गाउँपािलका वडा नम्बर ८ लोहरपुरमा तेस्रो भजहर कप फुटबल प्रतियोगिता सुरु भएको छ । थारुहरूको पर्व भजहरका अवसरमा हरेक वर्ष हुँदै आएको भजहर कपको तेस्रो संस्करण शनिबारदेखि सुरु भएको हो ।

युवा जनहित क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको कैलारी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा कैलारी गाउँपालिकाका कार्यवाहक अध्यक्ष ध्वजबहादुर बोहोराले उद्घाटन गर्नुभयो । पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गौरीगंगा ११ स्पोर्ट्स क्लब विजयी भएको छ ।

गदरियाको मसुरिया ११ स्पोर्ट्स क्लबलाई ३-१ ले हराउँदै गौरीगंगा क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको प्लेयर अफ द म्याच गौरीगंगा ११ का ललित ऐर हुनुभयो । उहाँले नगद एक हजार प्राप्त गर्नुभयो ।

वैशाख २३ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजारसहित ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिनुभयो ।

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडि बढाउनका लागि गरिँदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरूको पनि आयोजना गरिएको छ । त्यसका साथै थारु कला संस्कृति पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?