मुढे–बाघखोर–कालापानी सडक कालोपत्रे सुरु

हिमालय टाइम्स
Read Time = 7 mins

-नवराज शिवाकोटी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मुढेबाट दोलखाको शैलुुङ गाउँपालिको बाघखोर बजार हुँदै कालापानी पुग्ने मुढे–बाघखोर–कालापानी सडक कालोपत्रे गर्न सुरु गरिएको छ । बैशाख १४ गतेबाट सडक कालोपत्रे गर्न सुरु गरिएको हो ।

सो सडक खण्ड अन्तर्गत मुढे देखि शैलुङ गउँपालिकाको बघखोर बजार हुँदै ढुङ्गे बजार सम्म १६ दशमलब पाँच किलोमिटर सडक स्तरोन्नति गरी कालोपत्रे गर्न ठेक्का लगाइएको बागमती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले बताएको छ । मुढेदेखि उक्त लम्बाईको सडकको स्तरोन्नति तथा पिच समेत गर्न ३१ करोड ७५ लाख तीन हजारमा २०७६ आसार ५ गते ठेक्का सम्झौता गरिएको थियो । विभिन्न बहानामा ठेकेदार कम्पनीले काम नगरेपछि यो सडक वर्षातमा हिलाम्य तथा हिउँदमा धुलाम्य बन्ने गरेको थियो ।

शैलुङ गाउँपालिकाको लाइफलाईन यो सडक पिच सुरु भएपछि भने शैलुङ गाउँपालिकाका स्थानीयहरुमा केही आस पलाएको छ । “अहिले ठेकेदारले काम त सुरु गरेको छ । तर विगतको जस्तै हुने हो की ?” बाघ खोरबजारका स्थानीय ब्यापारी रत्न श्रेष्ठले आशंका ब्यक्त गर्दै भन्नु भयो,“हिउँदमा धुलो ले बस्न नसकिने हुन्छ । वर्षातमा समान ल्याउन लान कठिन । अहिले चाहिँ वर्खामा दुःख पाइन्न कि ?”

आलु खेती नैं मुख्य उत्पादन रहेको शैलुङ क्षेत्रबाट वार्षिक ६० करोड बढीको आलु निकाशी हुने गरेको शैलुङ गाउँपालिका वडा नम्बर ३ मा रहेको ढुङ्गेका किसान पूर्णबहादुर खड्काले बताउनु भयो । आलु निर्यात गर्ने मुख्य सिजनमा बाटो खराब हुँदा आलुको उचित मूल्य पाउन आफूहरुले नसकेको उहाँको गुनासो छ । बाग्मती प्रदेश सरकारले यो पटक चाहीँ समयमै ठेकेदारलाई काम गर्न लगाए यो क्षेत्रका किसानहरुले प्रदेशको ठूलो गुन मान्ने उहाँले बताउनु भयो ।

सडक निर्माणको लागि महालक्ष्मी: द कञ्चनजंघा/शुभकामना जेभीसँग सम्झौता भएको करिब चार वर्ष विति सकेको छ । २०८० साल असार ५ गते सम्म ठेक्काको म्याद बाँकी रहेको छ । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ५० प्रतिशत भन्दा बढी पुगेको छ । सडकमा आसवाल्ट प्रविधिको पिच गर्न सुरु गरिएको पूर्वाधार विकास कार्यालय सिन्धु पाल्चोकका ईञ्जिनीयर राकेस रिमालले जानकारी दिनुभयो । सडक कालोपत्रे गर्नेक्रममा कामको गुणस्तरीयतामा कमी हुन नदिन प्राविधिकहरुले निरन्तर निगरानी गरिरहेको उहाँको भनाई रहेको छ ।

निर्माण कम्पनी शुभकामना निर्माण सेवाका प्रतिनिधि अर्जुन कुमार तामाङले हाल सम्म साँढे सोह्र्र किलोमिटर सडक मध्ये स्ट्रक्चरको काम केही ठाउँमा नाला बनाउने बाहेक करिब सकिएको बताउनु भयो । एक किलोमिटर ढलानको काम समाप्त भएको तथा करिब साँढे ३ किलो मिटरमा बेस सब बेस राख्ने तथा ९ किलोमिटरमा ग्राभेल राख्ने काम सकी पिच सुरु गरिएको बताउनु भयो । चालु आर्थिक वर्षमा करिब ९ किलोमिटर सडक कालो पत्रे गर्ने उहाँको दावी छ ।

दोलखाको प्रसिद्ध पर्यटकीय स्थल शैलुङसम्म कच्ची सडक पुगेपछि त्यो क्षेत्रमा आन्तरिका पर्यटक आउने क्रम बढेको शैलुङको द्वार मानिने कालपानीका होटल ब्यावसायी लालबहादुर श्रेष्ठले बताउनुभयो । सडक बनेसँगै अहिले गाउँछोडेर बाहीर गएकाहरु पनि गाउँ फर्किएर आलु खेती गर्न थालेको उहाँको भनाई छ। सडक पक्की बनेमा कोही पनी गाउँछाडेर जानु नपर्ने उहाँले बताउनु भयो । विशेष गरी आलु, काउली बन्दा जस्ता तरकारी खेती नै शैलुङ क्षेत्रका कृषकहरुको मुख्य पेशा हो ।

शैलुङ गाउँपालिकाको लाइफलाईन यो सडक पक्की बनाउ ढिलै भएपनि सुरु भएकोमा आफूलाई खुशि लागेको शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरतप्रसाद दुलालले बताउनु भयो । यो सडक निर्माण सम्पन्न भएपछि समग्र शैलुङ क्षेत्रको विकासमा ठूलो प्रभाव पर्ने ठेकेदारले सडक विचल्ली पार्दा काम सुचारु गराउन आफ्नो कार्यकालमा निक्कै प्रयास गरेका पूर्व अध्यक्ष दुलालको विश्वास छ ।

सडक पूर्वाधारको विकासनै विकासको मुल आधार रहेकोले समग्र शैलुङक्षेत्रको विकासकालागि यो सडकको काम सिघ्र सम्पन्न गर्न बागमती प्रदेशले विशेष ध्यान दिन आवश्यक रहेको शैलुङ गाउँपालिकाकी उपाध्यक्ष पार्वती थापाले बताउनु भयो । कृषि तथा पर्यटन विकासकालागि यो सडक कोशेढुङ्गा सावित हुने उहाँको भनाई छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?