सुख्खा जमिनको छारोसँगै उडिरहेको किसानका सपना

Read Time = 13 mins

✍️ सञ्जय साह मित्र

पानी नपरेको धेरै महिना भइसक्यो । खेतहरू पूर्णतया सुख्खा भइसकेका छन् । आजभोलि किसानहरू खेतमा कुनै न कुनै बाली लगाइरहन चाहन्छन् । खेत खाली छाड्न चाहँदैनन् । एउटा बाली भित्र्याएपछि खनजोत गरी खेतमा अर्को बाली लगाइहाल्न चाहन्छन् तर यसपटकको मौसमले भने निकै धोका दिएको छ । गहुँ र मसुरो बालीको समयमा एक दिन पानी नपर्दा अपेक्षा गरेअनुसार दलहन, तेलहन तथा गहुँबालीको उत्पादन हुनसकेको छैन । चैतको पहिलो हप्तादेखि नै चल्न थालेको सुख्खा पश्चिमी वायुले गहुँबालीलाई सुकाइदिँदा पनि उत्पादनमा कमी आएको हो । लागत र अपेक्षानुसार उत्पादन नहुँदा किसानमा निराशा छ ।

खेतबाट मसुरो, गहुँ, तोरी आदि बाली घरमा भित्र्याएपछि किसानले खाली भएको खेतमा अत्यन्त कम समयमा हुने तरकारी बाली वा खेतको माटोलाई फाइदा गर्दै र मलको काम गर्ने मुङखेती गर्दछन् । यसपटक पानी पर्दै नपरेका कारण अधिकांश किसानले खेत खाली नै छाडेका छन् । गहुँ र मसुरो बाली भित्र्याउँदा नै जमिनको माटो सुकेर पूरै अररो भइसकेको अवस्थामा खनजोत गर्न नमिल्ने देखिसकेका किसानको अगाडि सिँचाइको अभाव छ । यदि नहर छ भने पनि यस मौसममा नहरमा पानी आउँदैन । कतिपय किसानले बोरिङको भरमा तरकारी तथा मुङखेती गरेका छन् तर बोरिङबाट सिँचाइ गर्न निकै महँगो पर्छ । अझ अहिलेको सुख्खा मौसममा एक हप्तामा यदि सिँचाइ गरिएन भने खेतको बाली सुक्न थाल्छ ।

कतिपय किसानले लगाएको मुङदालको बिरूवा सिँचाइको अभावमा खेतमै सुक्न थालेको छ । अरूको सिँचाइ साधनको भरमा चैते धानखेती गरेका किसानहरू अहिले दुःख मनाउ गरिरहेका छन् । आकाशे पानी नपर्दा चैते धानखेतीमा रोग लाग्न थालेको र बालीको अपेक्षित वृद्धि विकास हुन नसकेको देखिएको छ । डिजलको भरमा पम्पसेट चलाएर सिँचाइ गरी धानखेती गरेको किसानलाई यसपटकको चैते धान निकै महँगो साबित हुँदैछ । यद्यपि विद्युतीय उपकरणले सिँचाइ गर्ने किसानलाई भने तुलनात्मक रूपमा निकै सजिलो छ ।

अहिलेको सुख्खा खडेरीले उखुखेती र केराखेतीलाई पनि प्रभावित पारेको छ । फलफूल खेतीलाई पनि प्रभावित पारेको छ । बागवानी केन्द्रहरूमा तयार हुँदै गरेका विभिन्न फल तथा फूलका बिरुवाहरू पनि मर्ने र रोग लाग्ने समस्याले ग्रसित भएको पाइएको छ ।

अहिलेको सुख्खा खडेरीले उखुखेती र केराखेतीलाई पनि प्रभावित पारेको छ । फलफूल खेतीलाई पनि प्रभावित पारेको छ । बागवानी केन्द्रहरूमा तयार हुँदै गरेका विभिन्न फल तथा फूलका बिरुवाहरू पनि मर्ने र रोग लाग्ने समस्याले ग्रसित भएको पाइएको छ । वसन्त ऋतुमा जसरी साना बोटबिरुवामा हरियोपना देखिनुपर्ने हो, जति मुना निस्कनुपर्ने हो, हुनसकेको छैन । यसैगरी आँप, लिची तथा कटहरजस्ता मौसमी फल पनि प्रभावित हुने देखिएको छ । विज्ञहरूका अनुसार लामो समयदेखि पानी नपर्दा आँपको बोटले आवश्यक मात्रामा पानी पाउन नसकेको कारण अहिलेसम्म जति वृद्धि हुनुपर्ने हो, आँपको चिचिलाको राम्ररी वृद्धि र विकास हुन सकेको छैन ।

यस वर्ष आँप र लिचीको बोटमा जति धेरै मञ्जरी लागेको थियो, त्यो देखेर आँपको उत्पादनमा निकै वृद्धि हुने विश्वास गरिएको थियो । आँपको बोटमा चिचिला पनि निकै लागेको थियो तर सुख्खा मौसमको प्रकोपल आँपको झरिरहेको छ । लिचीको अवस्था पनि उस्तै रहेको छ । तातो हावा चल्ने तथा जमिन पनि सुख्खा हुनाले आवश्यक पोषण अपुग भई आँप र लिची फलको आकार पनि स्वाभाविक वृद्धि हुन नपाउँदा उत्पादनमा कमी आउने सम्भावना रहेको छ । सुख्खाले गर्दा सहिजन तरकारीका बोटहरू धेरै ठाउँमा सुकिसकेका छन् ।

सुख्खा खडेरीको प्रभाव प्रत्यक्ष रूपमा कटहरमा नदेखिए पनि जमिनमा पानीको मात्रा कम भएको कारण कटहर फलको वृद्धि र विकास पनि प्रभावित हुने सम्भावना रहेको कृषिसित सम्बन्धित विज्ञहरूको अनुमान रहेको छ । निरन्तरको खडेरीले तरकारी तथा फलफूलको उत्पादन कम हुने तथा उत्पादन लागत बढ्ने देखिएको छ । बजारमा उत्पादन कम हुँदा र उत्पादन लागतमा वृद्धि हुँदा स्वाभाविक रूपमा बजार भाउ बढ्ने हुन्छ वा बाहिरबाट फलफूल र तरकारी आउँदा यहाँका किसान मारमा पर्ने सम्भावना रहन्छ । सुख्खा खडेरीले गर्दा दाल, तरकारी तथा फलफूलमा यस वर्ष पनि परनिर्भरता बढाउने देखिएको छ । मुलुकले आयात निर्यातमा सुख्खा मौसमको कारणले पनि अलिकति प्रभाव पर्ने देखिएको छ ।

गहुँ, तोरी, मसुरो भित्र्याइसकेपछि खेत खाली छ । खाली खेतलाई अहिले धानबालीको लागि तयारी गर्ने बेला हो । अब केही हप्तामा किसानले धानको ब्याड तयार पारी बिउ छर्ने बेला हुन्छ । ब्याडलाई तयार पार्न पहिलेदेखि नै खनजोत गरिरहनुपर्ने हुन्छ तर सुख्खा खडेरीले गर्दा धानखेतीका लागि ब्याडको तयारी हुन सकिरहेको छैन । खेतको माटो यसरी सुकेको छ कि अहिले बिना सिँचाइ खनजोत गर्ने अवस्था छैन । किसानहरू आकाशतिर हेरिरहेका छन्, पानी परिरहेको छैन । पानी नपर्दा धानखेती पनि प्रभावित हुने हो कि भन्ने डर किसानको मनमा पर्न थालिसकेको छ ।

सर्वसाधारण किसानले यस वर्ष साउनमा मलिमास पर्ने भएकोले खेतीपाती केही ढिलो हुने विश्वास गरिरहेका छन् । यस वर्ष केही ढिलो गरी पानी पर्ने अनुमान किसानको रहेको छ । यद्यपि सामान्यतया हिउँदमा हुनुपर्ने बर्खा नभएपछि आकाशको भरमा गरिने खेतीप्रति विश्वस्त हुन नसकिरहेको अवस्था छ । परम्परादेखि नै आकाशे भरमा खेती गरिरहेका किसानहरू समग्रतामा अहिले संक्रमणको अवस्थामा छन् । कतै कतै विद्युतीय सिँचाइ पुगिसकेको छ जहाँ चैते धान तुलनात्मक रूपमा निकै राम्रो छ । चैते धानको खेती बिजुलीबाट सिँचाइ गर्ने हिसाबले नै गरेका किसानहरूलाई भने खासै चिन्ता रहेको छैन ।

खेतमा छारो उडिरहेको छ र किसानले समृद्धिको सपना देखिरहेका छन् । छारोले आफूसितै किसानको समृद्धिको सपना उडाइरहेको अवस्था छ । विद्युतीय सिँचाइले भने परिवर्तन गर्न सक्ने सम्भावना छ । अहिले किसानको खेतमात्र खाली छैन, स्वयं किसान पनि बेरोजगारजस्ता भएका छन् ।

कतै डिजलबाट चल्ने पम्पसेटको भरमा चैते धानखेती गरेका छन् भने तिनीहरू पछुतो मानिरहेका छन् । यहीँनेर सर्वसाधारण किसान पनि आफ्नो खेतसम्म विद्युतको पहुँच हुनुपर्ने आवश्यकता अनुभव गरिरहेका छन् । खेतखेतसम्म विद्युत् पुर्‍याउन सकेका पालिकाका किसानहरू भने विस्तारै अन्यत्रको तुनलामा सम्पन्न हुँदैछन् । बेमौसमी र मौसमी दुवै किसिमका तरकारीको उत्पादन गरेर किसान पनि व्यवसायी बनिरहेका छन् । तरकारी खेती गरेर शहरका राम्रा विद्यालयमा बालबालिकालाई पढाइ पनि रहेका छन् तर खेतबारी भएर पनि नभएजस्तो अर्काको मुखताकी बस्नुपरेको जस्तो भरपर्दो सिँचाइको अभावमा अधिकांश किसान टुहुरो बनेका छन् । अहिलेको अवस्थामा हरेक खेतसम्म सिँचाइ पुर्‍याउन सकिने सजिलो र अन्य माध्यमभन्दा सस्तो विद्युतीय सिँचाइ नै हो ।

खेतमा छारो उडिरहेको छ र किसानले समृद्धिको सपना देखिरहेका छन् । छारोले आफूसितै किसानको समृद्धिको सपना उडाइरहेको अवस्था छ । यस अवस्थामा विद्युतीय सिँचाइले भने परिवर्तन गर्न सक्ने सम्भावना छ । अहिले किसानको खेतमात्र खाली छैन, स्वयं किसान पनि बेरोजगारजस्ता भएका छन् । किसानको हातमा अहिले कुनै काम छैन । साधारण किसानले दुई-चार बाख्रा, एक-दुई गाई वा भैँसी वा गोरू पालेका हुन्छन् । तिनै पशुधनलाई पाल्नुबाहेक खेतीपातीको काम सुख्खाले ठप्प भएका किसानहरूको श्रम र सीप अहिले खेर गइरहेको छ । किसानहरूले आफ्नो उन्नति देख्न पाइरहेका छैनन् ।

वर्तमान अवस्थामा परिवर्तनका लागि संघ सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार र नेपाल विद्युत् प्राधिकरणको समन्वयमा कुनै एक वर्षलाई खेतखेतमा विद्युत् पुर्‍याउने वर्षको रूपमा घोषणा गरेर खेतमा सिँचाइ पु¥याउनु अत्यावश्यक भइसकेको छ । यदि हरेक खेतमा विद्युतीय सिँचाइ पुग्ने हो भने आफ्नै खेतमा परिश्रम गरी खाद्यान्न, दाल, तरकारी तथा फलफूलको उत्पादन गरेर किसानहरू सम्पन्न हुन सक्छन् । युवाहरूले पनि आर्थिक आम्दानी प्राप्त गर्ने बाटो भेटेपछि विदेश पलायन हुने प्रवृत्तिमा केही कमी आउने सम्भावना रहन्छ । समयमा खेतीपाती गर्न पाउँदा किसानलाई बेरोजगार भएको अनुभूति हुँदैन ।

किसान सबैभन्दा बढी सन्तुष्ट हुने समय भनेकै खेतमा बाली लहलहाएको अवस्था हुन्छ । खेतमा बाली लहलहाइरहन चाहिँ उसको आफ्नो हातमा सिँचाइ हुनु आवश्यक छ । आफ्नो हातमा सिँचाइ हुनु भनेकै विद्युतीय सिँचाइ हो । विद्युतीय सिँचाइ एकातिर निक्कै सस्तो छ भने अर्कोतिर भरपर्दो पनि छ । सस्तो र भरपर्दो भएपछि किसानले समृद्धिको सपना देख्नु स्वाभाविक हुन्छ । कृषिको माध्यमले मुलुकलाई पनि सम्पन्नताको बाटोमा डोर्‍याउन तथा कृषिजन्य उत्पादनको आयात कम गर्न पनि देशमै उत्पादन भइरहेको विद्युत्लाई खेतखेतसम्म पुर्‍याउन आवश्यक छ । कृषि क्षेत्रलाई प्राथमिकता राखेर यदि कृषि विद्युतीकरणलाई महत्व दिने हो भने देशका किसानको लागि वरदान साबित हुने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?