बुद्ध पूर्णिमाको महत्व र बुद्धत्व

Read Time = 20 mins

✍️ इन्द्रबहादुर शाक्य

नेपाल राष्ट्रभित्र लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा धेरै पहिले महाराज शुद्धोधन शाक्यवंशको शुभ विवाह देवदहका राजाकी छोरी युवराज्ञी महामाया देवी शाक्य वंशसँग सुसम्पन्न भएको थियो । हर्ष उल्लासका साथ धुमधामसँग विवाह सम्पन्न भयो र दुवैजना वैवाहिक जीवन बिताउन पाएकोमा अति खुशी थिए । विवाह गरेको बेला उनी दुवै राजा-रानीको उमेर राजाको ३७ वर्ष र रानीको ३५ वर्ष पुगेको थियो । राजा रानीको दुवैको उमेर धेरै पुगी सकेपछि मागी विवाह भएकाले सन्तान जन्माउन ढिला भएको हो । अन्ततः रानीबाट ५५ वर्षको उमेरमा सिद्धार्थ गौतम शाक्य वंशको जन्म भएको थियो ।

आषाढ पूर्णिमा बिहीबारको दिन पानी सिमसिम परिरहेको थियो । बेलुकीको अथवा रातिको खाना खाएर दुवैजना सुत्नुभएको थियो । त्यही रातमा रानी मायादेवीले सपनामा सेतो हात्ती आएर कमलको फूल चढाएको र कानमा खासखुस गरेको दृश्य देखियो । त्यसपछि महारानी निन्द्राबाट बिउँझिनु भयो अथवा आँखा खुल्यो, ‘यो के हो ?’ कोठामा चन्द्रमाको किरण आइरहेको थियो । सुतिरहेको राजा (आफ्नो पति) लाई यो सपनाको खबर सुनाइन् । राजाले यो खबर सुनेपछि रानीलाई नछोडीकन सुत्न दिनु भएन । किनभने यस्तो सपनामा देख्दा धेरै शुभलाभ हुने भएकाले राजाले सुत्न दिएनन् । रातभरी दुवैले मनोरञ्जन गरी रातभरि जागराम बसेर बिताए । त्यही रातमा महारानी मायादेवीको गर्भधारण भएको थियो । विवाह गरेर २० वर्षपछि महारानीले गर्भधारण गरेकी थिइन् ।

यस पूर्णिमालाई बुद्ध जन्म पूर्णिमा पनि भनिन्छ । शाक्य वशं कुलमा जन्मनु भएका सिद्धार्थ गौतम (बुद्ध) ले संसारमा ख्याति प्राप्त गर्नुभयो । यसले गर्दा नेपाल राष्ट्रका लागि गौरवको विषय भएको छ । नेपाल राष्ट्रको नाम संसारभरि फैलियो ।

त्यतिबेला राजाको उमेर ५७ वर्ष पुगेको थियो । विवाह गरेको २० वर्ष पुगेपछि रानीले गर्भधारण गरेकोमा राजा रानी निकै खुशी भए । अब रानीको कोखबाट एउटा सन्तान पाउने अथवा जन्म हुने पक्का विश्वास भयो । दुवैले मुसुमुसु हाँसी रात बिताए । बिहान मिरमिरै उज्यालो भइसकेपछि स्नान गरी नित्य पूजा सिध्याएर राजा शुद्धोधनले आफ्ना राज पुरोहित र गुरुलाई बोलाई यसबारे परामर्श गरेका थिए थियो ।
महाराजले यो सारै राम्रो समाचार सुनाउनु भयो भन्दै सबैले हिसाब गरेर राजालाई बिन्ति गरे कि यो सन्तान संसारले मान्ने ठूलो व्यक्ति हुन सक्दछ भनेर भविष्यवाणी गरी दिए । यो खबर सुनेर राजा सारै खुशी भए । ठाँउ-ठाँउमा पूजापाठ गर्न लगाए । रानीलाई पनि कुनै कुरा र कुनै सामानको कमी हुन दिएनन् । स्याहार र सुसारे राखी दिए । रानीको मनले चिताएको सबै कुरा पूरा गरिदिए ।

महिना वैशाख थियो । दिन गन्ती पुगिसक्यो । महारानी मायादेवीले आमा हुनुभन्दा अगाडि एक चोटि माइती गई आमाबाबुको मुख हेर्ने इच्छा गरिन् । महिलाहरूलाई गर्भवती भएको बेला आफ्नो माइतीका आमाबाबु सम्झेर माइती एकचोटि जाने इच्छा हुन्छ । त्यस्तै रानीलाई माइती जाने इच्छा भयो र आफ्नो पति राजा शुद्धोधन शाक्यसँग परामर्श गरी राजाबाट आज्ञा भएनुसार सुसारेहरू लिएर कपिलवस्तुबाट प्रस्थान गर्नुभयो । बिहानपख माइतीका लागि सवारी हुनुभएकी रानी मायादेवी लुम्बिनीको अति सुन्दर बगैंचामा (वनमा) पुगी आराम गरी, ठट्टा गरी दिउँसोको खाना (खाजा) भोजन गरी कुराकानी गरी रहेकी थिइन् । अति गर्मीले गर्दा लुम्बिनीको पोखरीमा अथवा तलाउमा नुहाउने इच्छा व्यक्त गरे पछि त्यस पोखरीमा स्नान पनि गरेकी थिइन् ।

स्नान गरिसकेपछि रानी मायादेवीलाई जिउ भारी भई हिँड्न र डुल्न इच्छा भएन । रात भएपछि त्यही नै वास बसी स्याहार सुसार गरे तर पेटको व्यथा कम भएन र झन्झन् पीडा बढेर आयो । सुसारेहरूले धेरै सहयोग गरिदिए । त्यही पनि दुखाइ कम भएन । त्यतिबेला गर्भमा बच्चा बसेको ११ महिना भइसकेको थियो । शुक्लपक्ष शुक्रबारको दिन वैशाख पूर्णिमा परेको दिन बिहानीपख सिरसिर हावा चलेको बेला लुम्बिनीको बगैंचा वा वनमा चराचुरुंगीहरूले संगीत दिइरहेका थिए ।

इतिहास अनुसार बिहानीपख रानी मायादेवीले एउटा रूखको मुनि दायाँ हातलाई माथि लगिर रूखको एक हाँगा समाइन् र त्यसपछि उनको कोखबाट एक बच्चा अथवा बालक (पुत्र) जन्म भयो । यो बालकलाई शाक्यमुनि बुद्ध, गौतम बुद्ध आदिले सम्बोधन गरिन्छ । यो पूर्णिमालाई शाक्यमुनि बुद्ध पूर्णिमा भन्दछन् । लुम्बिनीमा बुद्ध जन्म भएको हुनाले बुद्ध पूर्णिमाको दिन सबैले मान्दछन् । बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमा सारा संसारले मान्दछ । त्यो दिनमा हाम्रो देश नेपालको नाम अथवा देश सम्झेर, बुद्ध जन्म भएको देश भनेर मान्यता दिएको छ । यो नै हाम्रो लागि गौरव हो । यो पूर्णिमालाई बुद्ध पूर्णिमा र स्वाः (फूल) पूर्णिमा पनि भनिन्छ ।

बालक जन्मेको बेला भएको दृश्य
पौराणिक पुस्तकमा उल्लेख भएअनुसार यो बालक पृथ्वीमा पाइला हाल्ने बित्तिकै एक अनौठो दृश्य देखियो । नेपालको लुम्बिनी वन वाटिकामा फूल वर्षा भयो । ज्योति निस्कियो । सातवटा कमलको फूल देखियो, सात पाइला फूलमा टेकेको, हातमाथि लगेको, औंलो एउटा ठाडो गरेको, एक ऋषि (ब्रहृमा) आएर हातबाट माला लगाइदिएको, तेजिलो फूर्ति भएको एक बालक देखेर सबै सुसारेहरू गजब भए ।

१) वैशाख पूर्णिमामा जन्मेको बालक शाक्य कुलमा भएको हुनाले शाक्य पूर्णिमा पनि भन्दछ । जन्मेदेखि धेरै बुद्धि बोकेर जन्मेको दिनलाई बुद्ध पूर्णिमा भन्दछ, फूल वर्षा भएको हुनाले फूल पूर्णिमा (स्वाः पूर्णिमा) पनि भन्दछन् ।

यो बालक राजकुमारलाई जन्म दिएपछि पनि मायादेवीको पेट दुख्ने व्यथा कम भएन । दुखेको-दुख्यै नै भयो । यो खबर माइतीतिर देवदहका राजा मायादेवीको बुवाआमालाई खबर अथवा सन्देश पठाइयो । सारा माइतीवाला खुशीले गदगद भए । छोरीले छोरा पाएको र आफू बाजे भएको हुनाले हर्षको सीमा भएन । नातिको मुख हेर्न सबै प्रबन्ध मिलाई राजा र रानी सबै सुसारे लिएर देवदहको राजा अञ्जन शाक्य वंश लुम्बिनीतिर प्रस्थान गर्नुभयो ।

रानी मायादेवीलाई छोरो जन्मेको र बच्चाले सात पाइला कमलको फूलमा टेकेर हिँडेको खबर सुसारेहरूले बिन्ती चढाए । यो खबर सुनेर रानी अति खुशीले गद्-गद् भइन् । विवाह गरेको २० वर्षपछि २१ वर्षमा छोरा पाउनु ठूलो कुरा हो । राजा रानीले प्रथम पुत्र पाउनुभयो । बुढेसकालमा अर्थात् त्यतिबेला राजाको उमेर ५७ वर्ष थियो ।

यो खबर कपिलवस्तुका राजा शुद्धोधन शाक्य वंशलाई पनि खबर भयो । सो खबर सुनेर राजा अति खुशी भए । राजाले रानीलाई दरबार भिœयाउनका लागि सिपाई, बग्गी, घोडा आदि सबै बन्दोबस्त गरी रानी र छोरालाई स्वागत गर्न सबै तयारी गरी राजाले दरबारभित्र सवारी चलाउन आदेश दिनुभयो । दरबारभित्र आइसकेपछि राजा, रानी र छोराको अनुहार देखेर ज्यादै खुशी भए । हर्षको साथ बढाई गरियो । दरबारभित्र पसिसकेपछि बैठकमा राजालाई सुसारेहरूले बिन्ती चढाई सबै कुरा सुनाए जुन कुरा यस प्रकारका छन् ।

१) रानीको व्यथा बारेको वर्णन ।
२) बच्चा जन्मने बित्तिकै कमलको फूलमा सात पाइला टेकेको ।
३) पुष्पको वृष्टि भएको ।
४) हातमाथि उठाई एक औंला ठाडो गरेको ।

सबै कुरा राजाको अगाडि व्याख्या गरे । साथै रानीको पेटको व्यथा कम नभएको कुरा पनि राजको सामु राखे । यो कुरा सुनेर राजाले तुरुन्त वैद्यहरू बोलाएर उपचारका लागि तयारी गर्नुभयो । यस्तो खबर सुनेर राजाले भने यो अनौठो कुरा भएछ । भोलि के हुने हो भनेर विचार गरी बसेका थिए । राजा कोठा (खोपी) मा गएर रानी र छोराको मुख हेर्न गए । छोरा अति सुन्दर र तेजिलो अनुहार देखेर राजाको मन अति प्रसन्न भयो । छोराले हात खुट्टा चलाएर हँसिलो अनुहार देखाए । रानी मायादेवी पेटको व्यथाले गर्दा पलंगमा पल्टेर बस्नुभयो र राजासँग बोल्न सक्नु भएन ।

भोलिपल्ट नै राजाले पुरोहितलाई बोलाएर परामर्श लिन थाले । पुरोहितले के भनेँ :
१) यो बालकले ठूलो नाम कमाउँदछ अथवा नाम हुन्छ ।
२) संसारमा यसले राजकाजमा इच्छा गर्दैन ।
३) संसारमा आफू जन्म भएको देश अथवा भूमिलाई अगाडि ल्याउनेछ ।
यस्तो भनेर पुरोहितहरूले सरकारलाई बिन्ती चढाए । यस्तो कुरा सुनेर राजा गजब हुनुभयो र एकछिन बोल्न पनि सक्नु भएन । छोराका लागि हेरचार गर्नुपर्ने भएको हुनाले सुसारेहरू र धाइहरू राखिदिए । जन्म भएको पाँचौं दिनमा नै छोराको नामाकरण गर्नुभयो । यसका लागि राजाले राज पुरोहित र गुरुहरूलाई बोलाएर छोराको नामाकरण गर्नका लागि ठूलो समारोह र पाठपूजा गरी छोराको नाम सिद्धार्थ गौतम शाक्यवंशको नाम राखियो ।

भविष्यमा यो बालक सर्वश्रेष्ठ हुनेछ र संसार भरमा आफ्नो नाम अगाडि सार्ने भएकाले सर्वसिद्ध हुने हुँदा उनको नाम सिद्धार्थ भनी नामकरण गरेको थियो । यो सिद्धार्थ गौतम शाक्यवंशले आफ्नो नाम, देशको नाम, जन्मभूमिको नाम अगाडि ल्याउँदछ भनेर भविष्यवाणी गरी नामकरण गरेको थियो । रानी मायादेवीको स्वास्थ्य ठीक नभएकाले राजालाई चिन्ता भयो । राजवैद्यहरूलाई देखाए तर केही सीप लागेन र हेर्दा हेर्दै रोग चर्को भएर गयो तर केही गर्न सकिएन । पुत्र जन्म दिएर ७औं दिनमा रानी मायादेवी शाक्यवंशले यो संसारबाट बिदा लिनुभयो अथवा उहाँ स्वर्गीय हुनुभयो । यसले गर्दा सारा मानिसहरू दुःखकोे शोकमा डुबे तर बच्चालाई केही भएन । सानैदेखि मातृ शोक पर्नु भएका बालकलाई केही थाहा थिएन ।

बुद्ध संवतलाई अरू देशले पनि मान्यता दिएका छन् तर बुद्ध जन्मेको देश नेपालले बुद्धको संवत् राष्ट्रिय संवत् भनेर मानेका छैन । यहाँ बौद्धमार्गीहरूले पनिबुद्ध संवत् राखेर एउटा कार्यक्रम गरेको देखिँदैन । यही दुःखको कुरा हो ।

२१ वर्षपछि सन्तान पाएको रानीले बच्चा दरबारमा वा घर अथवा पाटीमा जन्म दिनुभएको होइन । जंगलमा जन्म दिनुभएको कुरा इतिहासमा लेखेको छ । त्यसैले होला राजकुमाुर सिद्धार्थले बुद्धत्व प्राप्त गरेको समय घर नभएका ठाँउमा बसेर बुद्धत्व प्राप्त गरेका थिए । घरभन्दा वन प्यारो भएकाले गौतम बुद्धको घर छैन । उहाँको जन्म अहिले २६४७ वर्ष भयो ।

यस पूर्णिमालाई बुद्ध जन्म पूर्णिमा पनि भन्दछ । शाक्य वशं कुलमा जन्मनु भएका सिद्धार्थ गौतम (बुद्ध)ले संसारमा ख्याति प्राप्त गर्नुभयो । यसले गर्दा नेपाल राष्ट्रका लागि गौरवको विषय भएको छ । नेपाल राष्ट्रको नाम संसारभरि फैलियो । अरू राष्ट्रले नेपाल बुद्धको जन्म भूमि, शान्तिको नारा दिने देश र अहिंसाको नारा दिने भनेर नेपाल भूमि संसार भरमा प्रचार भयो । नेपाललाई बुद्धको जनमस्थल भनेर पनि चिनिन्छ र यो हाम्रोलाई गौरवको कुरा हो ।

राजकुमार सिद्धार्थ कसरी बुद्ध भए ?
क) घरबाहिर जन्म भएको
ख) आमाको मुख हेर्न नपाएको
ग) आमाको माया ममता नपाएको
सबै त्याग गरेको, दुःख भएको हुनाले त्याग भावना जागेको, शान्ति र ज्ञानको खोजीमा गएको, केही चाहिँदैन ज्ञानमात्र भए पुग्छ भनेर ज्ञानको खोजीमा बाहिर आएको र पछि ज्ञान प्राप्त भएपछि बुद्धत्व प्राप्त भएको ।

१) यही वैशाख पूर्णिमाको दिनमा सिद्धार्थले बुद्धत्व प्राप्त गरेको थियो । बुद्धत्व प्राप्त गरेको २६१२ वर्ष भयो ।
शाक्यमुनि गौतम बुद्धको जन्म ज्ञान (बुद्धत्व प्राप्त गरेको) र परिनिर्वाण भएको वैशाख महिनाको पूर्णिमामा नै थियो । त्यसैले यो पूर्णिमा अति महत्वको छ । यस पूर्णिमाको दिनलाई सारा संसारले शान्तिको पूर्णिमा र बौद्धज्ञान पाएको पूर्णिमा पनि भनेर लिन्छन् ।

२) यही दिनमा अथवा वैशाख पूर्णिमाको दिनमा महापरिनिर्वाण भारतको कुसिनगरमा २५६७ वर्षअघि भएको थियो ।
यही सिद्धार्थ गौतम बुद्ध जन्मको दिनलाई सम्झेर संसारमा एकदिन संयुक्त राष्ट्र संघमा समेत बिदा दिने चलन छ । यो समयमा बुद्ध जन्म संवत पनि फेरिन्छ । यो संवत मान्ने अरू देशले पनि मान्यता दिन्छन् अथवा मनाउँछन् । नयाँ वर्ष पनि सुरु गरिन्छ । तर बुद्ध जन्मेको देश नेपालले बुद्धको संवत् राष्ट्रिय संवत भनेर मानेका छैन । साँच्चै भन्ने हो भने यहाँ बौद्धमार्गीहरूले बुद्ध संवत् राखेर एउटा कार्यक्रम गरेको देखिँदैन । यही दुःखको कुरा हो । त्यसैले अबदेखि बुद्ध जन्म संवत् नेपालको राष्ट्र संवत् भनेर मान्नु आवश्यक छ ।

संसारमा शान्तिको नारा, अहिंसाको नारा दिने नेपाल राष्ट्रको एकमात्र छोरा सिद्धार्थ गौतम बुद्ध हुन् । उनको संवत् मान्न किन डराउनुपर्ने हो ? संसारमा नेपालको नाम कमाउने अथवा ख्याति प्राप्त गर्नेमा गौतम बुद्धबाहेक अर्को कुन चाहिँ व्यक्तित्व छ ? शान्तिको नारा दिने संसारमा पहिलो देश नेपाल राष्ट्रको नाम अगाडि आउँदछ ।

संसारका नरनारीहरूले यो दिनमा सुस्वास्थ लाभ, दीर्घायुको कामना, धन लाभको कामना र शान्तिको कामना गरी मनाउँछन् । यस दिनमा बुद्धले दिएको उपदेशलाई सम्झेर पाठ पूजा गरी बुद्धको पूजा गरी बुद्ध जन्म जयन्ती नेपाल राष्ट्र भरी र अन्तर्राष्ट्रिय स्थानहरूमा पनि मनाउँछन् । यो नै हाम्रो नेपालको एकमात्र गौरवको हो । (शाक्य नेपाल हस्तकला महासंघको पूर्वअध्यक्ष हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?