बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौं : देउवा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गर्नु पर्ने बताउनुभएको छ ।

बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दैै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले हत्या र हिंसाको बिरोध गर्न पनि आब्हान गर्नुभएको छ ।

‘हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घटनाहरूबाट मुक्त हुन सकेको छैन । मानव अधिकार विरोधी यस्ता क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक कार्य गर्न आश्वयक छ । दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन,’ उहाँले आफनो शुभकामना सन्देशमा भन्नुभएको छ, ‘शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौं । अशान्ति, हत्या र हिंसाको विरोध गरौँ ।’ देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना देउवाले गर्नुभएको छ ।

उहाँले विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६७ औं जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धधर्मावलम्वी, शान्ति र अहिंसाप्रेमी दिदीबहिनी तथा दाजुभाइ एवं किराँत समुदायको महान पर्व उभौलीको अवसरमा किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्तसमेत गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?