तीन घण्टा धाएर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यताको अन्त्य

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवा रातमाटेमा शहरी स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवासुरु भएपछि तीन घण्टा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाले बिहीबार शहरी स्वास्थ्य केन्द्र उद्घाटन सँगै स्वास्थ्य सेवा शुभारम्भ गरेपछि डिकुवाको साविक वडा १, २ र ३ का करीव २०० परिवारलाई स्वास्थ्य सेवा लिनै पैदल तीन घण्टा धाउनुपर्ने बाध्यता हटेको हो ।

रातमाटेमा स्वास्थ्य चौकी नहुँदा साविक ३ वडाका २०० परिवार तीनघण्टा हिडेर डिकुवाको दाम्लीमा रहेको स्वास्थ्य चौकीमा जानुपर्ने बाध्यता थियो । खोप केन्द्रको भवनलाई व्यवस्थित गरेर स्वास्थ्य केन्द्र सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताउनुभयो ।

स्वास्थ्य केन्द्रमा हाललाई एकजना स्वास्थ्यकर्मी (अहेव) नियमित बस्ने र अन्य स्वास्थ्य चौकीहरुमा जस्तै यहाँबाट पनि सेवा प्रवाह हुनेछ । शहरी स्वास्थ्य केन्द्रको मेयर बिमला राई, उपमेयर रमेशकुमार राउतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठी, डिकुवाका वडाध्यक्ष देवेन्द्र राईलगायतको उपस्थिती थियो ।

भौगोलिक विकटता भएपनि स्वास्थ्य सेवाबाट नागरिक बञ्चित नहोस र अकालमै ज्यान गुमाउन नपरोस भनेर नगरपालिकाले डिकुवाको राटमाटेसँगै, राजापानीको भाँडबेंशी र आहाले, अर्खौलेको नवलपुर, दुर्छिमको हैदे, बाहुनीडाँडाको झाप्पामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर स्वास्थ्य सेवा दिईरहेको छ ।

आधारभूत स्वास्थ्य केन्द्र भवन शिलान्यास

हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को २० लाख बजेटमा असारसम्म निर्माण सम्पन्न गर्नेगरी डिकुवाकै छुङपाङमा आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरिएको छ । भवन उपभोक्ता समिति मार्फत निर्माण हुनेछ ।

डिकुवाको छुङपाङ, ओखलाङका २५० परिवार पनि स्वास्थ्य सेवालिन नै तीन घण्टा पैदल हिडेर दाम्ली स्वास्थ्य चौकीमा जानुपर्ने भएकाले गाउँघरमै स्वास्थ्य सेवा दिने लक्ष्यले भवन शिलान्यास गरिएको जनाईएको छ ।

आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएपछि त्यहाँपनि स्वास्थ्यकर्मी राखेर नियमित स्वास्थ्य सेवा दिईनेछ । भवनको मेयर राई बिमला राई र उपमेयर रमेशकुमार राउतले शिलान्यास गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?