मेरो यात्राको म

हिमालय टाइम्स
Read Time = 14 mins

✍️ कलानिधि दाहाल

मनभरि विश्वासका बिस्कुन सुकाएको छु । सगरमाथाको टोपी शिरमा छपक्क सजिएको छ । तारेभीरको कञ्चन त्यत्तिकै कमाल छातीभित्र विश्वविविधताका अङ्ग भिन्न परिवेश अटाएर ठिङ्ग र शान्त उभिँदाको मजा अरू कसलाई मिल्छ जहाँ म छु । एकमात्र आस्थाको आकाश हत्केलामा अटाएर बाहिरी चर्मचक्षुका खेल हेर्दा आउने आनन्दानुभूति हिट्लरको बन्दुकभित्र कहाँ मिल्न सक्छ र !

प्रलोभनलाई दिलको सिरान बनाएर छद्म खेलमा नाँच्ने नेतालाई के थाहा ? जीवनका अन्तर गहिराइमा कस्ता सिँढी छन्, हरेक सिँढीका किनारामा प्रशान्तका सागर छल्काका सङ्गीतले नुहाउँदाको आनन्दयी बक्बके मिजासको बाहिरी सतह दौडेका दयानायकले देख्नु भनेको काकाकुलको टिठलाग्दो आवाजमात्र हो । आफैँ नभएकाले अर्को देख्ने दौड रोज्नु मृगमरीचिकाको यात्रा सिवाय के नै हुन सक्छ र अर्को ?
पाखाभरि मनका स्याउ फलाएर हिमाली हृद्धड्कनका न्याना कपडाभित्र गुट्मुटिएका आँखासामु अनेकौँ चहल्पहलहरू छताछुल्ल भएर नाँचिरहेछन् । बौडाइका बेगमा गिद्धका आँखाले निशाना ताक्दै माथि पहाडको टुप्पाबाट समुद्रका बीच हाम्फाल्नु, चारैतिरको सामुद्री दृश्यावलोकनपछि विनामांशआहार सेता आरुबखडाका फूलसँग मितेरी लगाउँदाका स्वच्छानुभूति तिनलाई के थाहा ? जो चेतनाका अङ्कुरसँगै दासताका शिरपेच पहिरेर सामान्य ज्ञानका रटानले बिरामी पर्छन्, तिनलाई के थाहा जो मस्तिष्कभरि माउसुली जस्तै विचारलाई चौघेराका खाल्डामा घुमाउँदै चार पैसाका लोभमा सेवाग्राहीका शरीरभित्र गिद्घका आँखामा राखेर चुचाका स्वादसँग कर्मचारीका थोत्रे कुर्सी झुमेका छन्, सेवा आयोगको टिठलाग्दो सपनामा समयका पलभित्र मुटुको बेग उचाल्दै जीवनको सफलतालाई दासताका तराजुमा राखेर तौलन्छन् ।

पदप्रलोभनको चाहना नै मृत्युको सजीव ढोका हो । त्यही खोल्नाका लागि कखराका भूत शिरमा चढेपछि मान्छे दिनरात एक न एक दासताका बाटा पक्रेर जीवनको मृत्यु जितिरहेको हुन्छ र ठान्छ-मेरो सर्वोच्चता यही हो, मेरो संसार यसकै सिँढी उक्लाइका शीघ्रतामा स्वर्गको रमझम छ ।

पद प्रलोभनको चाहना नै मृत्युको सजीव ढोका हो । त्यही खोल्नाका लागि कखराका भूत शिरमा चढेपछि मान्छे दिनरात एक न एक दासताका बाटा पक्रेर जीवनको मृत्यु जितिरहेको हुन्छ र ठान्छ-मेरो सर्वोच्चता यही हो, मेरो संसार यसकै सिँढी उक्लाइका शीघ्रतामा स्वर्गको रमझम छ । उसलाई थाहा नै छैन आफू दासताका दुर्गन्धे गल्लीमा कति तल गिर्दै छु, परजीवनका दुर्बल पाटामा सर्पमुखमण्डूक बनेर एक पित्को भए पनि झार टिप्न लालायित छु ।

यो बाटो लागेपछि इष्र्याका पाठशाला कतै अरू खोज्नु नै पर्दैन । एकपछि अर्कासित लाम लागेर सामुद्री किनारा डाकिएझैँ दिलदिमाखका किनारा भरिन्छन् । मात्र एक पाइलो सार त्यो नै तिम्रो संसार हो, थ्याच्यक्क बालुवा टेक्नुको बिर्खे मजाक तिम्रो पदोन्नति हो, आजभोज, भोलि मोज, छि : जिन्दगीको कति घिनलाग्दो सन्सनाहट ! कति सुखद् ठानिने जीवनको यात्रा जो पलपल हिँड्छ मृत्युका पाइला, जो सास फेर्छ मृत्युको सास, जो मोटाइरहेको छ-मृत्युको माटाइ । मात्र आर्यघाटका किनारामा एक जमात मलामी थुपारेर जीवनको सास फेर्नेहरू, जन्मेकै दिनदिल दिमाखले मृत्युको सिरानी मर्छन् ।

दासताबाहिर देखिने वस्तु होइन, भित्र खेल्ने मनोकुण्ठाको दरो सङ्क्रामक जीवाणु हो, जसले जीवनयात्राका हर पाइलामा भौतिक चाहनाका घुङ्घुरु बजाउँछ । मुटुका प्वालप्वालमा नयाँ पदस्थापनका शङ्ख बजाउँछ । उसका नसामा हाकिमका इशारा रगतका थोपा बनेर बहन्छन् । कारण हाकिम नै दासताको जिउँदोजाग्दो पुजारी बनेको हुन्छ । उसका सामुको पाइला टेक्ने सिँढी भन्नु नै अर्को कुर्सी हो र प्राप्तिको दिन त्यही नै ईश्वर साक्षात्कार हो । ईश्वरको आशीरवाद भनेको अवकाशपछि प्राप्त महिनावारीको एक बिटो रकम हो जसमा चेतनाको चार्वाक गति चिताको खरानीमा परिणत हुन्छ र ऊ एउटा मोटोघाटो वा खिरिलो प्रयोगशालाको जीवित नरकङ्काल बनेर छोए हल्लन्छ, चुपचाप राखे स्ट्याचु उभिन्छ ।

म सुन्दै छु यिनीहरूका अहङ्कार, म देख्दै छु यिनीहरूका आनीबानी र यिनीहरूका सोचाइका स्तर । झिँगाको खुट्टो आफू भएर हात्तीपाइलाको बयानमा यिनीहरू धड्कन्छन् । भदौमा पानीले फुलेको आकाजस्तो अहंले यिनको शरीर भरेको हुन्छ । त्यसमै स्वाभिमान फक्रेको देख्नु यिनको स्वर्ग हो । देशभक्तिको गायत्री मन्त्र यिनकै मुखारविन्दबाट सबभन्दा बढी उभ्भरित हुन्छ । चोरले साधुको सिद्घान्त सबभन्दा बढी रटेको हुन्छ । आफूसँग जे छैन त्यसको मुटुजस्तै बनेर वकालत गर्ने व्यक्ति नै उही हुन्छ । एउटा खुङ्खार अपराधी जो छलकपटको सिँढ चढेर गँजडीले बिँढीको धुँवा उडाएझैँ अर्काकै रगतपसिनामा बाँचेको हुन्छ । ऊ नै सबभन्दा बढी उपकारीको, मानवतावादको, परसेवाको दस्ताबेज बनेझैँ पाउञ्जेल वकालत गरेर हाँडीघोप्टे अनुहारमा चिम्रे आँखा उभ्याउँछ ।

बिडम्बनाका यी र यस्ता दासलाई स्थायी सरकारको पगरी लगाइदिएर विश्वदासहरू कतै नेताका ओठ हल्लन्छन्, कतै कार्यकर्ताका पाइताला दौडन्छन्, कतै तानाशाहका जुरा हल्लन्छन् त कतै झुक्किएर घरभित्रकै अतिवादी मनोवृत्तिविरुद्घ विद्रोहका बुद्घ पनि जन्मन्छ–लाखौँ वर्षको एक बिन्दुमा ।

भ्यागुते टर्टराइको आयतन कुन फित्ताले नापिन्छ ? आवाजको उग्रता नै गतिको शून्याभास हो, कर्मको अकर्मण्यता हो । इमानदारले धुलोमा पाइला राखेर शिखरारोहणको वकालत किमार्थ गर्दैन बरू शिखरारोहणको अग्लो आसनमा उभिएर आफूलाई बिन्दुविलयमा आभासित गराउँछ । अब तपाईंहरू बुझ्नोस् सबेरै पशुपतिमा पुगेर फूलका माला र अविरका लप्काले सबभन्दा बढी शरीर आच्छादित गराउने तिनै छद्मअपराधका पोकाहरू हुन्छन् जो सही कर्मका नामको पाइला चाल्न जान्दैनन् ।

भजनमण्डलीका भाटे जमातमा तिनै शिर छोपेका मुखुण्डेहरूका चर्का आवाज उरालिन्छन् जसले समाज सेवाका सका अक्षरसम्म चिनेका हुँदैनन् । आफूभित्रका बद्ख्वाइका बबण्डर फोहोर छोप्न यिनीहरू सबभन्दा असलका वकालतमा आफू समाहित भएका हुन्छन् र आफ्ना बडप्पनका मण्डूक टर्टराइमा असलका चाहनाले बर्बराउँछन् ।

मनोविज्ञानको मूलमर्म नै आफूसँग जे छैन, हुन नै सक्दैन, जे गर्न चाहँदैनन्, असलको एक पित्को जोसँग हुँदैन ऊ नै निर्लिप्त भएर निरन्तर त्यसकै वकालतमा बर्बराइरहेको हुन्छ । जसका मुटुमा देशको द छैन उसकै ओठबाट राष्ट्रवादका सुस्केरा सपननाका पिङ्झैँ खेलिरहेका हुन्छन् । जसको व्यवहार अर्काका भलाइमा एक पित्को वा एक चिम्टी अग्रसर रहँदैन ऊ नै ओठबाट चौबीसौँ प्रहर आफू परोपकारी भएको हुङ्कार गर्जिरहन्छ ।

जोसँग अस्मिताको एक त्यान्द्रोसम्म हुँदैन ऊ नै अस्तित्वको वकालत नपढेका जमात जम्मा गरेर धेरै पढेका तर पठित मूर्खहरू भिडभित्र अस्मिताको जिब्रो उचाल्छ र भेडाहरूका तालीमा डिस्कोका तिघ्रा हल्लाएर रमाउँछ । विचित्रको खेती चित्रले गर्छ ।

जोसँग अस्मिताको एक त्यान्द्रोसम्म हुँदैन ऊ नै अस्तित्वको वकालत नपढेका जमात जम्मा गरेर धेरै पढेका तर पठित मूर्खहरू भीडभित्र अस्मिताको जिब्रो उचाल्छ र भेडाहरूका तालीमा डिस्कोका तिघ्रा हल्लाएर रमाउँछ । विचित्रको खेती चित्रले गर्छ । दुनियाँको यथार्थ टाढा जङ्गलका कुनामा बाघसँग लुकामारी खेलेर रमाउँछ । समाज डोर्‍याउने स्यालहरूका रजाइँमा छिनाझम्टीका लुछालुछ यता यिनकै रवाफे हुइँयामा संसद् खडा हुन्छ, अदालतको कालो घर उभिन्छ र ब्वाँसाहरूका विलासमा विश्व दौडेको छ । निर्धाका घाँटीमा गोलीका निशान तेस्र्याएर दिग्विजयको स्वाङमा तानाशाहहरू आफ्नै आँतको रगतको झोल सुर्कन्छन् । सुरामा फुर्कन्छन्, सुन्दरीका स्वाद यिनका चास्नी बन्छन् र गुण्डाका गलबन्दी बन्नुमा सुन्दरी राजको स्वर्ग खडा हुन्छ ।

एकथरी नखरमाउले विद्वत गुण्डाहरू अर्को अक्षरविहीन घरमा भोज रमाउन क्यालेण्डरका पाना गते भिढाउँछन्, उसलाई साहित्यिक महाराजका आसनको माला लगाइदिएर डुल्नुको दैनिकीमा आलीशान उक्लेको सास फेर्छन् । बौद्घिक भनाउँदा विलासीहरूका थोत्रा रंगमञ्चमाथि हड्डीको औँलो ठड्याएर उचालिन्छन्-मभन्दा हिमालको हिउँ बिटुलो छ, समुद्रको पानीको छाल अपवित्र छ । यिनै दुई पैसे डम्फू सिरानमा राखेर सेवकहरूका लाम लाग्छन् पङ्गु पानाका अक्षरलाई पुरस्कृत गर्न अर्चनाका पुष्पाञ्जलार्पणमा उभिन्छन् चम्के पुरस्कार प्राप्तिको रवाफमा प्वाँख फैलाएर ।

अन्धाहरू गन्धाका पीठमा चढेर दासताका रछ्यानलाई फूलको वास्ना ठानुन् केही छैन । दुईचार भ्रष्टको समूह नालीको आलीमा बसेर आउने इसाराको गन्ध फ्याँक्छन् र गन्धमन रङ्गिएर अत्तरको नाक सुँुघ्नेहरू भेडाको भीडमा जाम परेका छन् परून् केही छैन । यी खेलाडीका खेलभित्रका फोहोरभन्दा टाढा उन्मुक्त आस्थाका आकाशबाट अनन्तयात्राका प्वाँख फिँजाएर उकालो हिँड्दाको आफ्नै मजा, थकाइ लाग्दा द्यौरालीको शीतल हावामा भौतारको आनन्द, विश्रामपछिको स्वच्छ मनोलोकबाट देखिने पाखाका पिरामिड, मयूरका नाच, कोयलीका सुमधुर स्वरलहरीभित्रबाट निस्केका सङ्गीतको कर्णस्नान, पर डाँडाका सुनसान एकान्त छाँगामा अविदित अनन्तता चिरेर टुप्लुक्क आइपुग्दै चुम्बालिइरहेको सप्तरङ्गी इन्द्रेनीको अनुहारमा झल्केको दिव्यकलासँग प्रस्तुत माथिका मनोलड्डुका भिखारीको जम्काभेट दुनियाँमा कहीँ कतै सम्भव नहुन सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?