एनआरएनएको १५ औँ युरोपेली सम्मेलन सुरु

Read Time = 3 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५औँ युरोपेली सम्मेलन शुक्रबारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले गर्नुभयो । अमेरिका, क्यानडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी मुलुकका तीन सय बढी प्रतिनिधिको सहभागिता रहेको सम्मेलनको समापन समारोहमा परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने कार्यक्रम रहेको एनआरएनएले जनाएको छ । सम्मेलनको व्यवस्थापनको जिम्मा एनआरएनए चेक रिपब्लिकले लिएको छ ।

सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न क्षेत्रीय संयोजकद्वय सन्तोष भट्टराई र चिन्तामणि सापकोटाको संयोजकत्वमा समिति गठन गरिएको छ । सम्मेलनको सञ्चार संयोजन संघका सञ्चार संयोजक चिरन शर्माले गर्नुहुनेछ ।

एनआरएनएका कार्यकारी अध्यक्ष डा. बद्री केसीका अनुसार सम्मेलनमा संघका नियमित एजेण्डालगायत नेपालमा १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोषलगायतका विषयमा घनिभूत छलफल हुनेछ । साथै सम्मेलनमा संघको विधान, आन्तरिक एकता, सदस्यता वितरण र आगामी १५औँ विश्व सम्मेलनलगायतका विषयमा समेत छलफल हुनेछ । एनआरएनए उपाध्यक्ष डा. हेमराज शर्माले नेपालमा जति पूँजीको लगानी छ, त्यति नै सीप, ज्ञान र प्रविधिको लगानीको महत्व भएको भन्दै क्षेत्रीय सम्मेलनमा नेपालमा बौद्धिक लगानीको सम्भावना र चुनौतीबारेमा समेत छलफल गरिने बताउनुभएको छ । सम्मेलनमा नेपाली कांग्रेसका सचेतक रमेश लेखक, नेपाल स्वतन्त्र पार्टीका सांसद मनिष झाका साथै एनआरएनएका पदाधिकारी, नेपाल उद्योग वाणिज्य महासंघको पनि सहभाागिता रहने आयोजले जनाएको छ ।

एनआरएनएका उपमहासचिव रामशरण सिम्खडाका अनुसार सम्मेलनको दोस्रो दिन शनिबार राष्ट्रिय समितिको प्रतिवेदन, युवा र महिला सम्मेलन, मिलाप (एकता) एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रमोसनलगायतका कार्यक्रम तय गरिएको छ भने तेस्रो दिन आइतबार नेपालमा १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, भोटिङ राइट, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि ट्रान्फरलगायतका विषयमा छलफल हुनेछ । सम्मेलनले प्राग घोषणापत्र जारी गर्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?