✍️ भूपप्रसाद धमला
एकाबिहानै ओछ्यानबाट उठेर झ्यालको नजिकै जान्छु । बिस्तारै झ्याल खोलेर बाहिर हेर्नुको मज्जा बेग्लै हुन्छ । मेरो घरको झ्यालबाट परपरसम्म देखिन्छ । पारि पाखाको तलतिर एउटा नदी सलल बग्दैछ । सम्झनाको तरेलीमा म लहरिन्छु- यो नदी उहिले यसरी नै बग्थ्यो जसरी आज बग्दैछ । यो पाखो उहिले जस्तो थियो आज त्यस्तै छ । चराको चिरबिर आवाज पनि उस्तै छ । जंगलका रुखबुट्टा सुक्दै पलाउँदै गरे पनि ज्युँकात्युँ छन् । दिनहुँ स्कुल जाँदा र घर फर्कंदा म तिनको सौन्दर्य पान गरेर पुलकित हुन्थेँ । बिदाको दिन खेल्न बाहिर निस्कन्थेँ । साथीहरूसँग हाँसखेल गर्दै वनकुन्ज घुम्न कति रमाइलो हुन्थ्यो । स्वर्गीय आनन्दका ती दिनहरू सम्झेर म रोमान्चित हुन्छु ।
बिहानको खाना खाइवरी दिउँसोपख बाहिर निस्कन्छु । बिहानीपख झलमल्ल घाम लागेको मौसम छकालमै अनायास बदलिन्छ । उज्यालो घामलाई अँध्यारो बादलले ढपक्क ढाकिदिँदा घामलाई त फरक पर्दैन होला तर धरती अर्कै भएको छ । घमाइलो पाखामाथि एकैचोटि बादल पोखिन्छ । तमसोमा ज्योतिर्गमय हुनु पर्नेमा त्यसको उल्टो भएको छ । उदासी मनले आकाशतिर पुलुक्क हेर्छु । तिनै बादलका चोक्टाहरू तँछाडमछाड गर्दै यताउता भौँतारिन्छन् ।
आज म फगत एक्लै छु । किशोरवयका साथीहरू अहिले छैनन् । धेरै त गाउँ छोडेर शहरतिर गइसके । गाउँमै रहेका केही साथीहरू वयस्क भइसके । उनीहरूका आफ्नै काम छन् । कामै नभए पनि उहिले जस्तो गरी वनकुन्ज घुम्दै हाँस खेल गर्ने फुर्सद उनीहरूसँग छैन ।
कुनै कुनै बेला बादलले घामलाई छेकेन भने एक निमेष उज्यालो पनि भइदिन्छ तर उत्तिखेरै बादलले झ्याप्प छोपिहाल्छ । प्रकृतिमा यस्तो नियम कसले बनायो होला ? यस्तो वैषम्य किन हुने होला ? यसै घोत्लिन्छु । विरक्ति लागेर आउँछ । हुन्हुनाएर आएको हावाको झोक्काले मेरो निरीह गालामा थप्पड लगाएर जान्छ । किन यसो गर्छ त्यो पनि बुझ्न सक्दिन । प्रकृतिको असमान खेल सम्झेर विस्मित हुन्छु ।
आज म फगत एक्लै छु । किशोरवयका साथीहरू अहिले छैनन् । धेरै त गाउँ छोडेर शहरतिर गइसके । गाउँमै रहेका केही साथीहरू वयस्क भइसके । उनीहरूका आफ्नै काम छन् । कामै नभए पनि उहिले जस्तो गरी वनकुन्ज घुम्दै हाँस खेल गर्ने फुर्सद उनीहरूसँग छैन । उहिलेका हाम्रा रमाइला दिन अब गएछन् । खिन्न हुँदै यसो सम्झन्छु-उहिलेको मान्छे अहिले छैन । हामा पुर्खाको भौतिक उपस्थिति आज यहाँ छैन । पुर्खाकै आकृतिमा म यहाँ ठिङ्ग उँभिएको छु । भोलि के हुने हो कुनै ठेगान छैन ।
प्रकृतिको एउटा कुरामा भने परिवर्तन आएको छ भलै यो परिवर्तन मानव निर्मित परिवर्तन हो । अन्यत्र जस्तै मेरो गाउँमा पनि अन्धाधुन्ध धुले सडक कोरिएका छन् । गाउँले परिवेशको कच्ची सडकबाट बुङ्बुङ्ती धुलो उडिरहेको हुन्छ । सडकमा एउटा मालबाहक ट्रक घच्याक घच्याक गर्दै पार भएर जान्छ । त्यसले उडाएको धुलोले मेरो अनुहारै झ्याप्प छोपेजस्तो भान हुन्छ । नजिकैको धारोमा गएर धुलोले पोतेको अनुहार पखाली हेर्छु । फर्केर हेर्दा ट्रक निकै पर पुगिसकेछ । फेरि उस्तै सन्नाटा । उही सुस्त बेग । उस्तै धीमा चाल ।
उदास परिवेशमा बसेर म सोचमग्न हुन्छु-यसैगरी दिन बित्छन् । रात कट्छन् । ऋतु परिवर्तन हुन्छन् । उराठलाग्दो ग्रीष्मकालले धरती शुष्क बनाएर जान्छ । वर्षायामको विरसिलो साउने झरी पनि पार हुन्छ । शारदीय फूल लटरम्म फुल्छ । धानको बाला झुल्छ । आकाश निर्मल हुन्छ । धरतीले मन्द मुस्कान छोड्छ । पतझर हेमन्त पनि छिट्टै आएर जान्छ । कठोर शिशिरले रुखबुट्टा नाङ्गो पारेर बिदा हुन्छ । नवपल्लवित वसन्तले सुगन्धित फूल वर्षाउँछ तर त्यसले पनि गृष्मलाई निम्त्याएर विदा हुन्छ । चक्रीय प्रकृतिको नियम न हो कहिले घाम, कहिले पानी, कहिले बादल, कहिले झरी । यसै गरी प्रकृतिको समयचक्र चल्छ ।
प्रकृतिको जीवनचक्र सम्झँदा सम्झँदै मेरो मानसपटलमा मान्छेको जीवनचक्र उपस्थित हुन्छ । म विचारमग्न हुन्छु–प्रकृतिको जीवन झैँ मान्छेको जीवन पनि उतारचढाव र आरोहअवरोहको बीचबाट गुज्रन्छ । हरेक मान्छेको बचपनदेखि वृद्धावस्थासम्म यस्तै जीवनचक्र चल्छ । अनि एकदिन अनायास त्यही जीवन लोप भएर जान्छ । एउटा मान्छेको जीवन बिराट ब्रहृमाण्डको एक चिम्टी माटोमा विलीन हुन्छ । उसको जीवनको हरेक मोड विस्मृतिमा हराउँछ ।
प्रसिद्ध बेलायती नाटककार विलियम शेक्सपियरले याज यु लाइक इट भन्ने नाटकमा सिर्जना गरेको ज्याक भन्ने पात्रले बोलेको कुरा सम्झनाको तरेलीमा झल्याक झुलुक देखा पर्छ-यो संसार नाटक प्रदर्शन गर्ने रङ्गमञ्च जस्तै त हो । यी अनगिन्ती मान्छेहरू नाटकका पात्र हुन् । ती पात्रहरू रङ्गमञ्चमा आउँछन् । आफ्नो भागको अभिनय देखाउँछन् र फेरि नफर्कने गरी जान्छन् । हरेक मान्छे अन्जान शिशु जन्मिन्छ । ताते ताते गर्छ । तोते बोल्छ । बाबु-आमालाई हसाउँछ । अनि किशोर वय पार गर्दै मस्त युवा हुन्छ । अर्को प्रेमालापमा भुल्छ । सिपाही भएर ज्यानको बाजी थाप्दै सिपाही बनेर देशको लागि भन्दै ब्यर्थको लडभिड गर्छ ।
प्रकृतिको समयचक्रमा दिन बितेर रात हुन्छ भन्ने थाहा छ । वसन्त पार हुँदै शिशिर आउँछ भन्ने कुरा पनि थाहा छ । त्यसैगरी मान्छेको जीवनमा पनि शिशुको उदयपछि वृद्धको अस्त हुन्छ भन्ने कुरा थाहा भएर पनि म अति चञ्चल छु ।
त्यसपछि दाह्री जुँगा पालेको बुद्धिमान् भएर उपदेश दिन्छ । अनि दुब्लो पातलो र ख्याउटे हुँदै ओछ्यान पर्छ । आखिरमा दाँत फुक्लेर बच्चा जस्तै थोते हुन्छ र एक दिन अचानक लोप भएर विस्मृतिमा हराउँछ । सम्झेर म अझ दिक्दार हुन्छु । सोचेर ल्याउँदा झनै दिक्दारी बढेर आउँछ । प्राणी मात्रले जन्मनु र मर्नु किन परेको होला ? किन प्रकृतिमा जन्मेर यही प्रकृतिमा मर्नुपर्ने होला ? यस्तै सोचमा परेर म बिचलित हुन्छु । जन्मनु र मर्नुपर्ने मान्छेको जीवनको अर्थ के होला भनेर घोरिन्छु ।
धेरै सोचेर म एउटा तत्व ज्ञान फेला पार्छु-मान्छेको भौतिक जीवन क्षणभंगुर भए पनि उसको सोचविचार अजर अमर हुनसक्छ तर त्यही सोचविचार पनि सापेक्ष समय हुन्छ । शायद यही सोचविचारलाई परम्परागत दार्शनिकहरूले अमरआत्मा भनेका होलान् । मलाई भने यो बेला मलाई पाश्चात्य जगतका दार्शनिक रेने डेकार्टको प्रसिद्ध उक्तिको सम्झना आउँछ । उनी भन्छन् आई थिंक देअरफोर आई याम । उनका विचारमा मान्छेको सोचविचारले मात्र ऊ अस्तित्ववान छ । विचारशून्य मान्छेको अस्तित्व असम्भव हुन्छ ।
दिउँसैदेखि बादलले घाम ढाकेको ढाकेकै छ । साँझ नपरीकनै अँध्यारो भएको छ । कदाचित बादल हट्यो भने त घामले आफ्नो किरण पृथ्वीतिर फेरि पनि तेस्र्याउला । नत्र उही बिरसिलो पाखा । उही नीरव वातावरण । उदासीन धरतीको मुहार देखेर फेरि मेरो मन उद्विग्न हुन्छ । चञ्चलताको तिर्सना तेर्सिएर मन उद्वेलित हुन्छ । मेरो मात्र मन किन यति चञ्चल छ जुन एकै छिन पनि ढुक्कले अडिएर बस्न सक्दैन ? किन यो चुलबुले चञ्चलता मेरो मानसपटलमा खिल्कट बनेर बसेको छ ? असी अचम्भित हुन्छु । फेरि अर्को मनले सोच्छु-यसो हुनु पनि ठीकै होला किनभने रेने देकार्टले भने जस्तै सोचविचारलाई सक्रिय बनाइराख्नु पनि त पर्नेछ ।
अब त दिन टाढा र रात नजिक हुँदैछ । पश्चिम क्षितिजबाट घाम उसपार हुँदैछ भन्ने बुझेको छु । एकै छिनमा सूर्यास्त हुन्छ भन्ने थाहा छ । प्रकृतिको समयचक्रमा दिन बितेर रात हुन्छ भन्ने थाहा छ । वसन्त पार हुँदै शिशिर आउँछ भन्ने कुरा पनि थाहा छ । त्यसै गरी मान्छेको जीवनमा पनि शिशुको उदयपछि वृद्धको अस्त हुन्छ भन्ने कुरा थाहा भएर पनि म अति चञ्चल छु । जिजीबिषा त छँदैछ तर जीगिषा पनि झन् प्रबल बनेर मेरो मनमा मडारिन्छ । मैले चाहेर पनि चञ्चलताको यो नियम बदल्न सक्दिन । म बिबश छु । जगतको जीवनचक्रमाथि सोच्दै बिस्तारै म घरतिर मोडिन्छु जहाँ मेरो जीवनको अस्तित्व अझसम्म कायम छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच