प्रधानमन्त्रीलाई शरणार्थी प्रकरणका दोषीबिरुद्ध दृढतापूर्वक उभिन एमाले अध्यक्ष ओलीको चुनौति

हिमालय टाइम्स
Read Time = 13 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीबिरुद्ध दृढतापूर्वक उभिन चुनौति दिनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल सो प्रकरणका दोषीलाई जोगाउने पक्षमा लागि परेकै कारण आफूले उहाँसँगको भेटमा ‘दोषीहरु कोही पनि नछुटुन’ भन्नुपरेको जिकिर समेत गर्नुभयो । प्रधानमन्त्री दाहालले सो प्रकरणका दोषीलाई जोगाउने, आफ्नो पार्टीलाई फसाउने खालको प्रयास गरेपछि आफूले सो प्रकरणको छानबिन गरी दोषीमाथि कारबाही गर्न दबाब दिनुपरेको उहाँको स्पष्टीकरण थियो ।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष ओलीले सो प्रकरणमा आफ्नो पार्टीलाई फसाउन र दोषीलाई जोगाउन प्रधानमन्त्री दाहालले कस–कसलाई निर्देशन दिएको भन्ने कुरा आफूलाई थाहा भएको र पछि त्यसको सार्वजनिक गर्ने पनि चेतावनी दिनुभयो । उहाँले प्रधानमन्त्री दाहालले आफूले भ्रष्टहरुलाई छुटाउन दबाब दिएजसरी सञ्चार माध्याममा बोलेको दोहो¥याउँदै हिरोइजमको खेल खेल्ने प्रयास नगर्न समेत चेतावनी दिनुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टी सो प्रकरणको दोषीलाई जोगाउने पक्षमा नरहेको पटकपटक दोहो¥याउनु भयो ।

उहाँले भन्नुभन्नु भयो, ‘भ्रष्टहरु नछुटुन् भनेर मैले प्रधानमन्त्रीलाई भन्नुको अर्थ छ । प्रधानमन्त्रीलाई मैले त्यसो भन्नुको अर्थ छ । किनभने प्रधानमन्त्री भ्रष्टहरुलाई जोगाउने र अनाआवश्यक ढंगले मान्छेहरुलाई पोल्न लगाउने र मुद्दामा फसाउने खालका प्रयासमा हुनुहुन्छ । त्यसकारण समयमा मैले प्रधानमन्त्रीलाई भनेको छु–निर्दोषलाई फसाउने कोशिस नहोस् । कोही पनि भ्रष्टाचार नउम्किउन् । प्रधानमन्त्रीले मसँगको भेटपछि बाहिर निस्केर मानिलिउँ पुष्पकमल दाहाललाई नेपाली जनताले चिनेकै छैन जसरी दुधले नुहाएको सेतो अवतारका साथ उहाँ मिडियामा निस्कनु भयो । पवित्र अवतार, चोखो अवतार । त्यसरुपमा निस्केर भ्रष्टलाई छोड्दिन, दवावमा पर्दिन । के मलाई उहाँले दवाव दिनका लागि बोलाउनु भएको हो ? मैले उहाँलाई दवाव दिएको थिए र ? उहाँले कुनै दबाब दिएको छैन भन्नुपर्छ नि । सही कुरा बोल्नुपर्दैन । मैले दबाब दिएजसरी उहाँ मिडियामा बोल्नुभयो । मैले गएर उहाँलाई मान्छे छुटाउन दबाब दिए, दोषीलाई छुटाउन दबाब दिए भनेजस्तो हिसावले धाक लगाउने भयो मानौं कि नेपाली जनताले प्रचण्डलाई चिनेकै छैनन् । कसैको दबाब मान्छु र मे । के भनेको त्यो ? उहाँले त्यसपछि कार्यकर्तामाझ गएर दुबोको माला लगाएर भन्नुभयो, यो त टेलर मात्रै हो, फिल्म आउन बाँकी छ । म प्रचण्डजीलाई सोध्न चाहन्छु–तपाईको सिनेमा हलमा फिल्म कहिले लाग्छ ? अन्त त धुमधाम भई सक्यो त ? सबैतिर चलेको छ सिनेमा । तपाईको हलमा कहिले लाग्छ ? हामी हेर्न चाहन्छौं त्यो सिनेमा । सबै टेलर मात्रै किन प्रचण्डजी । तपाई हल किन रित्तै, ताला लागेको छ । सञ्चार माध्याममा फिल्म आईराख्या छ । किन चुप हुुनुहुन्छ ? मलाई बोलाएर भेट्ने अनि यो त टे«लर मात्रै हो, फिल्म देखाईदिन्छु भन्ने । देखाउनुस्त फिल्म ? अहिले मेरो संवैधानिक परिषद् बैठकमा उहाँसँग भेट हुँदैछ । म आज पनि उहाँलाई सोध्नेवाला छु–फिल्म कहिले शुरु हुन्छ ? कसैको बारेमा उहाँ किन चुँसम्म बोलिराख्नुभएको छैन ? कसैको बारेमा उहाँ किन निकै चम्केर अगाडि बढिरहनु भएको छ ? अहिले म भनि हाल्दिन । ककसलाई फसाऊ भन्ने उहाँको निर्देशन छ ? कसकसलाई उम्काऊ भन्ने निर्देशन छ । त्यसबारेमा म पछि कुरा गरौंला । तर प्रधानमन्त्री भएर यस प्रकारको खेल चल्दैन प्रचण्डजी । र, प्रधानमन्त्रीले यस्ता भ्रष्टाचारको काण्डहरुको छानबिन दृढताका साथ गराउनु पर्छ । हिरोईजमको व्यापार गर्ने होइन । उहाँ हिरोइजमको व्यापार गरिराख्नुभएको छ । वा, दुबोको माला लगाएर हिरो । त्यसकारण यो व्यापार गर्ने होइन । स्टन्टबाजी गर्ने होइन प्रधानमन्त्रीजी । छानबिन गरेर दोषीमाथि कारबाही गर्नुप¥यो । अनि, प्रतिपक्षको बिरुद्ध होइन । दोषीको बिरुद्ध उभिने हिम्मत देखाउनुस् त ? म प्रधानमन्त्रीलाई चुनौति दिएर भन्छु–दोषीको बिरुद्ध उभिने हिम्मत देखाउनुस् । प्रतिपक्षका बिरुद्ध होइन । म तपाईहरुलाई आश्वास्त पार्न चाहन्छु–हाम्रो पार्टी कसैको दोष, अपराधको ढाकछोप गर्दैन । र, कोही पनि दोषीलाई बचाउने काम गर्दैन ।’

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ बोत्तलमा राखिएको पुरानो रक्सीको रुपमा चित्रण गर्नुभयो । तीतेपाती उदाहरण प्रश्तुत गर्दै उहाँले सो पार्टीको आयु बढीमा ४ महिनाको रहेको पनि बताउनु भयो । उहाँले नयाँ र पुरानोको हल्ला चलाउनुको कुनै अर्थ नरहेको पनि बताउनु भयो । ओलीले एमाले सबैभन्दा पुरानो र नयाँ पार्टीको भएको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा हल्ला चलेको छ अहिले । अब यो पुरानो पार्टी सक्किए भनेको खासगरी एमालेलाई टार्गेट गर्न खोजिएको हो । बुर्जुवामा पुरानो, नयाँको केही पनि अर्थ छैन । पुराना हुन् कि नयाँ आउन कि के मतलव ? बुर्जुवा आईडोलोजी इज बुर्जुवा आईडोलोजी । जे सुकै बजाएर, जेसुकै बोकेर आओस् न । केही फरक पर्दैन । तर नयाँ चिज के हो भने परिवर्तनकारी विचार मात्रै नयाँ विचार हो । कार्लमाक्सले भनेको जति नयाँ फिलोसोफी । कतिले पछि फिलोसोफीको नाममा बनाए होलान् तर कार्ल माक्र्सले अगाडि सारेको माक्सिजम सबभन्दा नयाँ, सबैभन्दा नयाँ दर्शन भनेको माक्र्सवादी दर्जन । त्यो भन्दा नयाँ दर्शन अर्को कुनैपनि छैन । नेपालमा सबभन्दा नयाँ पार्टी भनेको, सबभन्दा पूरानो पार्टी पनि यही पार्टी हो एमाले । र, सबभन्दा नयाँ पार्टी पनि यही हो । अहिले ४ महिना, ६ महिना, १० महिना अगाडि खोले पनि बुढो विचार बोकेर खोलेको पार्टी नयाँ कसरी हुन्छ ? त्यसकारण त्यो नयाँ हुँदैन । नयाँ के छ भन्दा परिवर्तनको, यस समाजलाई यस ठाउँबाट नयाँ उचाईमा पु¥याउने, नयाँ परिवर्तनमा पु¥याउने त्यो कुरा चाहीँ नयाँ हो । नेकपा एमाले सबैभन्दा नयाँ पार्टी हो । र, अहिले युवाहरुको बीचमा सबभन्दा नविन विचार बोकेको, सबभन्दा नयाँ युवा संघ, अहिले कसैले बनाउला । भोलीपर्सी पनि बनाउला । यो चाहीँ नयाँ भन्ला, होइन । नयाँ बोतलमा पुरानै रक्सी के भन्छ नि । यी बोत्तल जुनसुकै कलरका जे सुकै होऊन । बोत्तल नयाँ होला । रक्सी उही हो । उही रक्सी बोकेर हिँड्या छ । जेसुकै चिन्ह बोकुन् । अब देश बनाउने भिजनबिना, कहाँ पुग्ने भन्ने भिजनविना, समृद्धि नेपालः सुखी नेपालीजस्तो क्लिएर भिजनबिना हामी अगाडि बढ्न सक्दैनौं । त्यो भएर हामीले बुझ्नुपर्दछ कि यो कुनै पनि नयाँ चिज भनेको आएको केही नयाँ होइन । यस्ता हुइमहरु कहिलेकहिले आउँछन् । त्यस्ता हुइम हामीले देखेका छौं । एक पटक २४० सिटमध्ये १२० सिट माओवादीले ल्यायो । अव माओवादीले खायो भनेर दुनियाँ कराए । मैले भने–कहिलेकहिले यस्तो हुन्छ । एउटा भाँडामा दुई माना दुध राखेर बेस्सरी आगो लगाई दियो भने त्यो आगोको रापतापले भरी भएर पनि पोखिन्छ । त्यो त्यत्रो भरि दुध हुँदै होइन । दुई माना हो । पोखिएपछि एक माना बाँकि रह्यो होला । त्यसकारण यो टेम्प्रोररी फेनोमेना यस्तो कुराहरुलाई परमानेन्ट ठान्नुहुन्न । अर्को मैले भने छोटो आयु भएको अल्पायु चिजहरु छिटो हलक्क बढ्छ । एउटा पिपलको बिरुवा रोपदिनुस् । छोडदिनुस् । त्यसको छेउमा एउटा तीतेपाती उम्रिन्छ । त्यो ३ महिनामा पीपलको एउटा पनि टुसो पनि हालेको हुँदैन । तीन महिनामा तितेपानी ८ फिटको भएर उधुम झाँगिएर उधुम मच्चाउँछ । गयोगयो पीपल सिद्धियो, तीतेपातीको जमाना आयो, हेर बढेको । यो सालको रुखभन्दा ठूलो हुन्छ । यो पिपलभन्दा ठूलो हुन्छ भनेर कराउनेहरु कराउँदै गर्छन् । तर आयु पिपलको हजार वर्ष हुन्छ । उसको चार महिना म्याक्सिमम हुन्छ । ३ महिनामा पिपल तल फेदमा हराई राखेको हुन्छ । चार महिनामा हेर्दा पिपलको पातको छेउमा त्यो तीतेपाती ढलेको हुन्छ । तीतेपातीले हिउँद देख्यो भने वर्षा देख्दैन । वर्षा देख्यो भने शरद देख्दैन । शरद देख्यो भने शिशिर देख्दैन । शिशिर देख्यो भने वसन्त देख्दैन । नेकपा एमाले हिउँद, वर्षा, आँधी, तुफान, भूकम्प आदिइत्यादि सबै देखेको छ ।’

ओलीले देश बनाउने भिजनबिनाको पार्टीलाई नयाँ पार्टी भन्न नसकिने तर्क समेत गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?