संविधानसभा सदस्य बस्नेतको निधन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । संविधानसभा सदस्य पुरूषोतम बस्नेतको निधन भएको छ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका उहाँ वि.स.२००२ साल मंसिर २१ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ मा जन्मिनुभएको थियो । नेपाली कांग्रेसका अनुसार ७८ वर्षीय बस्नेतको शुक्रबार बिहान ४ बजे सिफल हाइट, काठमाडौंमा निधन भएको हो । उहाँको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदै छ ।

बस्नेत नेपाली कांग्रेसका पूर्वकेन्द्रीय आमन्त्रित सदस्य, सोलुखुम्बुका पूर्वसभापति मात्र नभइ उहाँको परिचय साहित्यकार, सम्पादक तथा र समाजसेवीको रूपमा रहेको छ । उहाँले लामो समयसम्म नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ प्रकाशन गर्नुभएको थियो । साथै उहाँले ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ भाग एक र दुई प्रकाशन गर्नुभएको थियो । गोरखापत्र संस्थानको पूर्व कार्यकारी अध्यक्षसमेत रहनु भएका बस्नेतले धेरै साहित्यिक पत्रपत्रिकाको सम्पादनसमेत गर्नु भएको थियो ।

यस्तै उहाँले स्वं गिरीजाप्रसाद कोइरालाको सल्लाहाकार भएर काम गर्नुभएको थियो भने वीपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष हुनुहुन्थ्यो ।

उहाँको निधनमा नेपाली कांग्रेसले वैशाख २९, ३० र ३१ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने, वैशाख ३१ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने र स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने कार्यक्रम निर्धारण गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसको इतिहासका जानकार बस्नेतले राजनीतिक जीवन यात्राका विभिन्न समयमा नौ वर्ष जेल जीवनसमेत व्यतित गर्नु भएको थियो । उहाँ अत्यन्त शालिन, सादगी र सरल व्यक्तित्वको रुपमा परिचित हुनुहुन्थ्यो । नेपालको राजनीतिक एवं सामाजिक रुपान्तरणको अभियानमा संलग्न रहँदै गर्दा अविवाहित रहेर सामेल हुनुभयो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक असल, अनुभवी, इतिहासका जानकार व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उहाँको निधनप्रति सभापति शेरबहादुर देउवाले पनि गहिरो दुःख व्यक्त गर्नुभएको छ । जारी विज्ञप्तिमा भनिएको छ, नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, लेखक, साहित्यकार पुरुषोत्तम बस्नेतको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । नेपाली कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले पुर्याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनबाट नेपाली कांग्रेसले बहुआयमिक व्यक्तित्वलाई गुमाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?