बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाहरूका लागि रियालिटी शो हुँदै

Read Time = 5 mins

काठमाडौं । एएनपी मिडिया हाउसले बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाहरूका लागि रियालिटी शो आयोजना गर्ने भएको छ ।

विभिन्न प्रतिभा तथा सौन्दर्यमूलक प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले बालबालिकामा अन्तरनिहित गायन र नृत्य प्रतिभालाई बाहिर ल्याउनका लागि बागमती गट ट्यालेन्ट सिंगिङ एण्ड डान्सिङ रियालिटी शोका नाममा गायन र नृत्यको रियालिटी शो आयोजना गर्न लागेको हो ।

आयोजक संस्था एएनपी मिडिया हाउसका सिइओ लवबहादुर कार्कीले शहरकेन्द्रित रियालिटी शो भइरहेका समयमा गाउँ–गाउँका अवसरविहीन गायन र नृत्य प्रतिभालाई अवसर र मञ्च प्रदान गर्नका लागि यो रियालिटी शो आयोजना गर्न लागिएको बताउनुभयो । ‘अहिलेका बालबालिकामा सानैदेखि फरक स्तरको लोभलाग्दो गायन र नृत्य प्रतिभा पाइन्छ । त्यस्ता वास्तविक प्रतिभा अवसर र मञ्च पाउनबाट वञ्चित हुँदै आएका छन् ।

तीनै वास्तविक प्रतिभाको खोजीका लागि पहिलोपटक प्रदेशस्तरमा बागमती गट ट्यालेन्ट सिंगिङ एण्ड डान्स रियालिटी शो गर्न लागिएको हो,’ कार्कीले भन्नुभयो, ‘यसका लागि हामी बागमती प्रदेशका नौ स्थानमा पुगेर वास्तविक प्रतिभाको खोजी गर्नेछौँ । पहिलोपटक बागमती प्रदेशमा रियालिटी शो गरिसकेपछि चरणबद्धरूपमा बाँकी ६ प्रदेशका प्रतिभाका लागि पनि यसप्रकारको रियालिटी शो गर्ने योजना छ ।’

रियालिटी शोका लागि धादिङ, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, मन्थली, सिन्धुली, भक्तपुर र काठमाडौंमा चरणबद्धरूपमा अडिसन गरिने भएको छ । नौ स्थानको अडिसनबाट चुनिएका प्रतिभालाई काठमाडौंमा ल्याएर डिजिटल अडिसन गरिनेछ भने त्यसबाट चुनिएकाहरूलाई रियालिटी शोमा सामेल गरिनेछ । रियालिटी शोको अन्तिम स्पर्धाबाट गायन र नृत्य विधामा विजयी बागमती गट ट्यालेन्टलाई पुरस्कारस्वरूप जनही नगद एक लाख रुपैयाँ तथा फस्ट रनर अपलाई जनही ३० हजार र सेकेण्ड रनर अपलाई जनही २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएका छन् ।

अडिसनको सुरुवात धादिङबाट भइसकेको छ भने वैशाख ३० गते शनिबार चितवनमा अडिसन हुने आयोजक कार्कीले जानकारी गराउनुभयो । उहाँका अनुसार रियालिटी शोमा आठदेखि १३ वर्षका बाल प्रतिभालाई सामेल गरिनेछ ।

बागमती गट ट्यालेन्ट सिंगिङ एण्ड डान्सिङ रियालिटी शो ख्यातिप्राप्त अभिनेत्रीद्वय मिथिला शर्मा र गौरी मल्ल तथा ख्यातिप्राप्त गायक–गायिकाद्वय आनन्द कार्की र देविका वन्दनाको मार्गदर्शनमा हुन लागेको हो । अभिनेत्री मिथिला शर्माले यो रियालिटी शो गायन र नृत्यको क्षेत्रका लागि नयाँ आयाम हुने बताउनुभयो । अभिनेत्री गौरी मल्लले यसबाट देशले नवप्रतिभा पाउने विश्वास गर्नुभयो ।

गायक आनन्द कार्कीले लुकेर रहेका प्रतिभाका लागि यो सुनौलो अवसर हुने बताउनुभयो । गायिका देविका बन्दनाले गाउँ–गाउँमा लुकेर रहेका प्रतिभा यो रियालिटी शोबाट बाहिर आउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय टेलिभिजनबाट प्रसारणमा आउने रियालिटी शोमा निर्देशन लवबहादुर कार्कीको रहनेछ भने कार्यक्रम संयोजक राजेन्द्र लुईंटेल, इभेन्ट संयोजक शम्भुप्रसाद रेग्मी, इभेन्ट व्यवस्थापक ए तामाङ र भिजन संयोजक डेभिल राजपूत रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?