पुस्तक : सुवेदीको कथासंग्रह ‘तमोरको सुसेली’

हिमालय टाइम्स
Read Time = 8 mins

- सुशीला घिमिरे
‘तमोरको सुसेली’ लक्ष्मीकिशोर सुवेदीको कथासंग्रह हो । शिखा बुक्स प्रकाशक रहेको यस पुस्तकको यो पहिलो संस्करण हो जो २०७८ सालमा प्रकाशित भएको छ । सर्वाधिकार लेखकमै रहेको यस पुस्तकको वितरक ज्ञानज्योति बुक्स पब्लिकेसन प्रालि रहेको छ । यसको लेआउट प्रकेश सिन्धुलीयको रहेको छ । पुस्तक डिएमआई साइजमा छ । पुस्तकमा पहेँलो हलुका कागज प्रयोग भएको छ । छपाइ स्तरीय छ तर कतै कतै अशुद्धिहरू भने भेटिन्छन् । पुस्तकमा भूमिका खण्डमा १८ र पाठ्यखण्डमा २२० गरी जम्मा २३८ पृष्ठ रहेका छन् । पुस्तकको मूल्य ३७५ रुपैयाँ रहेको छ ।

पुस्तकको आवरण पृष्ठ आकर्षक छ । सप्तकोशीका सात शाखानदीमध्ये एक तमोर जो सबैभन्दा पूर्वमा पर्दछ त्यही नदीलाई मूल विषय बनाएर लेखिएको यस पुस्तकमा शीर्षक जसरी नै आवरणमा पृष्ठभूमि नदी जस्तो देखिन्छ र त्यसमाा एउटा डुंगा प्रवावशील भएको छ । माथि कथाकारको नाम मझौला आकारका राता अक्षरमा ‘लक्ष्मीकिशोर सुवेदी’ भनेर राखिएको छ भने तल ठूला अक्षरमा पुस्तकको शीर्षक ‘तमोरको सुसेली’ भनिएको छ । ‘तमोर’ जति नीला अक्षरमा छन् भने ‘सुसेली’ चाहिँ राता अक्षरमा रहेका छन् ।

पुस्तकको पृष्ठ आवरणमा प्रसिद्ध कथाकार महेशविक्रम शाहको कथाकार सुवेदीका बारेमा दिइएको छोटो अभिव्यक्ति रहेको छ । तल प्रकाशक शिखा बुक्सको नाम छ भने यस पुस्तकको साना आवरण तस्वीर पनि दिइएको छ । सँगै पुस्तकको बारकोड र मूल्य पनि दिइएको छ ।

भूमिका खण्डमा ‘जन्मदाता मातापितामा कोटिकोटि नमन’ भनिएको छ भने त्यसपछि कथाकारको ‘मेरो भन्नु’, प्रसिद्ध कथाकार महेशविक्रम शाहको ‘मानवीय संवेगको सङ्लो संगालो’ शीर्षकअन्तर्गत कथाकार र कथा विषयमा उहाँको भनाइ दिइएको छ । शाहको यो भूमिका पढ्दा कथा कथाकारबारे धेरै जानकारी हुन सक्छ । त्यसपछि विषयसूची दिइएको छ । यस संग्रहमा १८ वटा कथा समावेश छन् ।

यस कथासंग्रहमा समावेश कथाहरू विभिन्न विषयमा अधारित छन् । यी कथाले समाजमा विद्यमान विविधतालाई समेट्ने प्रयास गरेका छन् । प्रकृति चित्रण, मानिसको यौन मनोविज्ञान वा प्रवृत्ति, जीवन र जीवनवृत्ति, प्रेम लगायतका कुराहरू कथामा विषय बनेर आएका छन् ।

कथा पूर्वीय तथा पश्चिमी दुवै साहित्यले अपनाउँदै आएको विधा हो । यस अर्थमा कथालाई दुवैको साझा विधाका रूपमा लिनुपर्ने हुन्छ । कथा पश्चिमी साहित्यले सुरु गरेको विधा हो । तापनि हाल पूर्वीय साहित्यमा पनि यसको लेखन व्यापक मात्रामा भएको छ । कथाका बारेका प्रसिद्ध कथा समीक्षक एड्गर एलेन पो भन्छन्, ‘छोटा कथा एक बसाइमा पढिसकिने तर स्वयंमा पूर्ण हुन्छन् । आधा घण्टादेखि दुई घण्टासम्ममा पढिसकिने आधारमा कथा लेखिनुपर्छ ।’

अङ्ग्रेजी साहित्यका समीक्षक हड्सन कथाका बारेमा भन्छन्, ‘कथाको आयतन एक बसाइमा पढिसकिने हुनुपर्छ । एकपटक तयार भएको मानसिक स्थिरता भंग नभएसम्ममा समाप्त हुने गरी लेखिएको आख्यानात्मक रचना नै कथा हो ।’ प्रसिद्ध अंग्रेजी साहित्यकार एचजी वेल्स कथाका बारेमा भन्छन्, ‘१५ मिनेटदेखि ५० मिनेटसम्ममा पढिसकिने कलायुक्त, मर्मस्पर्शी, कौतुहलपूर्ण प्रस्तुति भएको आख्यानात्मक रचनाविशेष कथा हो ।’

नेपाली साहित्यका शिखर प्रतिभा लक्ष्मीप्रसाद देवकोटा कथाका बारेमा भन्छन्, ‘कथा एउटा सानो झ्याल हो जसबाट एउटा सानो संसार चियाइन्छ । यो पनि एउटा संसार हो र महान् संसार हो ।’ निष्कर्षमा भन्दा कथा संक्षिप्त आकृतिको गद्यात्मक आख्यानमा चरित्रका माध्यमबाट गरिने सहज प्रस्तुति हो । कथामा कथानक, चरित्र वा पात्र, वातावरण वा परिवेश, भाषा शैली र उद्देश्य वा सन्देश जस्ता तत्वहरू रहेका हुन्छन् ।

कथाकार सुवेदीका कथाहरूमा छोटा छोटा शीर्षक रहेको पाइन्छ । एक शीर्षकका रोशी, सारिका, पागलप्रेमीहरू, रमा, स्वाभिमान र अक्षता गरी छवटा, दुई शब्दका शीर्षकमा तमोरको सुसेली, प्यारी किचकन्नी, फाल्टु माइलो, सुनिता भाउजू, साधु माधवेश्वर, दिव्य स्वैरिणी, जिन्दगीको बाटो, बृजलाल सर र नारी –सुख गरी नौवटा, तीन शब्दका एक थुंगा गुलाफ, एक र चार शब्दका जीवन एक : आयाम अनेक र मेरी पत्नी र ऊ दुईवटा कथाहरू रहेका छन् ।

यसबाट कथाकारको प्राय एक वा दुई शब्दका शीर्षक राखेर कथा लेख्ने प्रवृत्ति देख्न पाइन्छ । यसैगरी उहाँका कथाहरू पुस्तकमा नौ पृष्ठदेखि १६ पृष्ठसम्मको फैलावटमा रहेका छन् । यसले गर्दा कथाकार सुवेदीको यस पुस्तकमा समावेश गरिएका कथाहरूलाई मझौला आकारका कथाहरू भन्न सकिन्छ । डिएमआई साइजको पुस्तकमा १६ पृष्ठसम्म्को फैलावटमा रहेका कथाहरूलाई छोटा कथा भन्न सकिँदैन, यी एक दुई वटा कथालाई लामा कथाभन्दा हुन्छ र नौ देखि १२ पृष्ठसम्मको फैलावटका कथाहरूलाई मझौला आकारका कथा भन्न सकिन्छ ।

यस कथासंग्रहमा समावेश कथाहरू विभिन्न विषयमा अधारित छन् । यी कथाले समाजमा विद्यमान विविधतालाई समेट्ने प्रयास गरेका छन् । प्रकृति चित्रण, मानिसको यौन मनोविज्ञान वा प्रवृत्ति, जीवन र जीवनवृत्ति, प्रेम लगायतका कुराहरू कथामा विषय बनेर आएका छन् । कथाका शीर्षकहरूमध्ये धेरैजसो शीर्षकहरू मानिस वा व्यक्तिवाचक तथा जातिवाचक नामहरू रहेका छन् । कथासंग्रहको पहिलो कथा ‘तमोरको सुसेली’ हो जो यस कथासंग्रहको शीर्ष कथा पनि हो ।

समग्रमा कथाकार सुवेदीको यस संग्रहमा समेटिएका कथाहरू स्तरीय र सन्देमूलक छन् । कथाकारबाट यस प्रकारका अन्य कृतिहरूको अपेक्षा गर्नु अन्यथा हुने छैन । उहाँलाई अग्रिम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?