गुमेको आँखाको ज्योति फिर्ता पाएपछि ….

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 7 mins

सिन्धुली । आँखाको दृष्टिले जबसम्म ज्योती छरिरहेको थियो, मिश्रा माझीको सृष्टि झलमल्ल थियो । रुखमा चढेर घाँस झार्ने क्रममा लडेर आँखामा चोट लाग्यो । दुई महिनाको अवधिमा चोट निको थियो । तर, ३९ वर्षको उमेरमा मोतियाविन्दुले दुबै आँखाको दृष्टि गुम्यो ।

आफ्नो कर्मले सजाएको सृष्टि कालो बादलले ढाक्योे । दुधौली नगरपालिका–१ कुर्थौलीमा घर व्यवहार धानेर बस्नु भएकी माझी घाँसदाउरा, मेलापात धाउन नसक्ने हुनुभयो । परिवारको साहरा बनिरहनुभएको उहाँ आँखाको ज्योती गुमेपछि परिवारकै साहारामा बस्नुपर्ने बाध्यता आइलाग्यो ।

आँखा देखुन्जेल घरदेखि मेलापातका सबै काम एक्लै भ्याउने उहाँलाई आँखाले देख्न छोडेपछि बाहिर–भित्र गर्न तन्नेरी उमेरमै लठ्ठीको साहारा लिनु परेको थियो । चार वर्षअघि लाहानको आँखा अस्पतालमा गएर शल्यक्रिया गरेपछि देब्रे पट्टीको आँखा देख्न सक्ने भयो ।

लाहान पुगेर एउटा आँखाको अप्रेशन गर्दा उहाँको बीस हजार खर्च भएको थियो । तर, दाहिने आँखाको मोतियाविन्दु हटाउन आवश्यक पैसाको जोहो गर्न सक्नु भएन । ‘एउटा आँखा अप्रेशन गर्ने खर्च जुटाउन नसकेर त्यत्तिकै बसेको थिए, यहाँ निशुल्क उपचार हुने कुरा थाहा पाएर आएको, उपचार पनि भयो, अहिले त दुबै आँखाले देख्न सक्ने भएको छु, दुवै आँखाले देख्दा संसारै उज्यालो रहेछ’ माझीले भन्नुभयो ।

सिन्धुलीमाडीमा अवस्थित आँखा उपचार केन्द्रमा शनिबार दाहिने आँखा शल्यक्रिया गरेपछि पाँच वर्ष पहिले गुमेको दृष्टिको ज्योती जस्ताको त्यस्तै फिर्ता पाएकोमा उहाँ खुसिले दंग देखिनु भएको थियो । उमेरले ४५ औँ बसन्तमा प्रवेश गर्नुभएको उहाँले आँखाले बाटो राम्रो ठम्याउन नसक्दा कयौँ पटक भीर–पाखाबाट लडेको, काम बिग्रीएको सुनाउनुभयो ।

यता, गोलञ्जोर गाउँपालिका–५ हिर्दिङकी ललिता कुमारी थापा मोतियाविन्दुको शल्यक्रिया गराएपछि संसारै चम्किलो देखिएको सुनाउनुहुन्छ । उहाँको आँखा चिलाइरहन्थ्यो । आशु बगिरहने, एउटा बस्तु वा मान्छेलाई दुई, चार वटै देख्ने, धमिलो देखिने जस्ता समस्या उहाँका आँखामा थियो ।

६० वर्षमा गुमेको आँखाको ज्योती निशुल्क शल्यल्यक्रिया सेवा लिएर ७१ वर्षको उमेरमा फर्केपछि उहाँको खुसी अल्कीएको छ । ‘हेर्न आँखामात्रै भएर काम रहेनछ, देख्ने ज्योति नभएपछि, गुमेको ज्योती डाक्टरले फर्काइदिनुभयो,’ थापाले भन्नुभयो ।

कमलामाई नगरपालिका–११ चिसोपानीकी भिममाया भोलन पनि शनिबार प्रष्ट आँखा देख्ने हुनुभयो । मोतियाविन्दुका कारण उहाँका तीन वर्ष धमिलो संसारमा सकससँग विते । मजदुरी गरेर जीवीका चलाएकी भोलन खर्च अभावका कारण अस्पताल पुग्न सक्नुभएको थिएन ।

तेज कोल्ड एण्ड रुइत फाउन्डेशन, द प्रिड हलोज फाउन्डेशन, कमलामाई नगरपालिका र जानकारी आँखा अस्पताल जनकपुरको सहयोगमा नेपाल रेडक्रस सोसाईटी सिन्धुली शाखाले आँखा उपचार केन्द्रमा शुक्रबार र शनिबार आयोजना गरेको आँखा शिविरमामात्रै ४८ जना मोतियाविन्दुका विरामीको निशुल्क शल्यक्रिया गरिएको छ । मोतियाविन्दुको शल्यिक्रियापछि उहाँहरु सबैलाई निशुल्क चस्मा र औषधि समेत उपलब्ध गराइएको थियो ।

शनिबार मोतियाविन्दुको उपचार गराएका आँखाका विरामीलाई भेट्न आँखा उपचार केन्द्र पुग्नु भएका कमलामाई नगरपालिका सिन्धुलीका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले नागरिकको जनस्वास्थ्य स्थानीय सरकारको पहिलो दायित्व भएको बताउनुभयो ।

‘विभिन्न विकास निर्माण सँगसँगै नागरिकको जनस्वास्थ्य स्थानीय सरकारको प्रमुख दायित्व हुने भएकाले रेडक्रससँगको समन्यवमा नगरवासीलाई निःशुल्क मोतियाविन्दुको उपचार सेवा, सहज रुपमा बल्ड उपलब्ध सेवा लगायत नागरिकसँग प्रत्यक्ष सरोकार भएका कार्यक्रम संचालन गरिरहेका छौँ,’ उहाँले भन्नुभयो ।

वरिष्ठ आँखा रोग विशेषज्ञ आशिष बोहोरासहित आँखा उपचार केन्द्र सिन्धुलीका डाक्टर तथा चिकित्सकद्धारा मोतियाविन्दुका विरामीलाई शल्यक्रियाको सेवा सहजरुपमा प्रदान गरिएको रेडक्रस सभापति अशोक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मोतियाविन्दुको शल्यक्रिया गर्नकै लागि पहिला मोटो रकम खर्च गरेर काठमाडौ, लहान, जनकपुर लगायत अन्यत्र ठाउँमा जानु पर्ने बाध्यता थियो । पछिल्लो समय रेडक्रसले सिन्धुलीमै समय–समयमा आँखा शिविर सेवा प्रदान गर्न थालेपछि विरामीले सहज रुपमा उपचार पाएका छन् ।

पाँच वर्ष यता मात्रै उक्त सेवा एक हजार तीन सय जना विरामीलाई प्रदान गरिएको आँखा उपचार केन्द्र, सिन्धुलीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?