सरकारले दिगो व्यवस्थापन नगर्दा मेलम्चीको पानी वर्षायाममा ल्याउन कठिन

आजदेखि दुई हप्तासम्म आपूर्ति बन्द हुँदै

नारायण भण्डारी
Read Time = 8 mins

काठमाडौं । मर्मतका लागि मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा आपूर्ति भइरहेको पानी आजदेखि दुई हप्ताका लागि बन्द हुने भएको छ । हेलम्बु-१ स्थित आयोजनाको मुहान तथा हेडबक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो । सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्नेगरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उहाँले जानकारी दिनुभयो । खानेपानी मन्त्रालयले २०८० को बर्खामा मेलम्चीको पानी आपूर्ति नियमित गर्ने योजना बनाएको थियो । तर, आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणमा सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने घोषणा गर्‍यो । समितिले गर्दै आएको काम कसलाई जिम्मा दिने र त्यहाँका कर्मचारीलाई कसरी व्यवस्थान गर्ने जस्ता कुनै योजना नबनाई सरकारले हचुवाका भरमा उक्त निर्णय गरेको भन्दै सरकारको आलोचना पनि भइरहेको छ । बजेटमा घोषणा गरेको विषय सरकारले कार्यान्वयन गर्न नसक्दा नियमित काम पनि सञ्चालन सकेनन् । गत चैत २७ गतेको मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी पुनर्गठन गर्ने निर्णय गरेको खानेपानी मन्त्रालयले जनाएको छ ।

मेलम्ची खानेपानी वर्षातको समयमा पनि काठमाडौं उपत्यकामा ल्याउने तयारी गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले वर्षातको समयमा पानी ल्याउन अहिले थप बाढीले क्षति पुर्‍याएको संरचना निर्माण भइरहेको जनाएको छ । विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले यसपटकदेखि वर्षा याममा पनि पानी ल्याउन काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार मेलम्ची नदीको पानी पथान्तरण गर्नुपरेका कारण सुरुङको रेक्टिफिकेसनका कार्य एवं २०७८ सालको बाढीले क्षतिग्रस्त हेडबक्र्सलगायत संरचनाहरूको निर्माण गर्न पानी बन्द गर्न लागिएको हो । ‘अस्थायी रूपमा ल्याएको पानी वर्षा याममा बन्द गर्ने गरेका छौँ, यस पटकदेखि भने वर्षा याममा पनि चलाउन केही उपाय निकाल्न सकिन्छ कि भन्ने हिसाबले मर्मत भइरहेको छ, त्यो भयो भने वर्षा याममा पनि सबै पानी आउँछ,’ उहाँले भन्नुभयो । उहाँले अहिले वैकल्पिक रूपमा मात्रै पानी ल्याउने गरिएको जानकारी पनि दिनुभयो । ‘साढे दुई सय मिटरको अहिलेको वैकल्पिक सुरुङ थियो, त्यहाँ पाइप जोडेर पानी हालेको हो,’ उहाँले भन्नुभयोे, ‘हो यो वैकल्पिक सुरूङको १ नम्बर इनलेट र आउटलेट (मुख पुच्छर)मा संरचना बनाइरहेका छौँ, जस्तो १ नम्बरमा ढुंगा पस्न नदिन सुरक्षाको लागि र्‍याक राख्छौँ ।’ उहाँले ९ नम्बरको आउटलेटमा भित्र ढुंगा, गिटी, बालुवा भरियो भने त्यसलाई पखाल्न सकिने संरचना बनाइरहेको जानकारी दिनुभयो । ‘यति काम भए वर्षामा पानी ल्याउन सजिलो हुन्छ, यी काम कन्टेक्टरले दुई हप्ताभित्रमा सकिन्छ भनेको छ, हामीले चाँडो गर्नु भनेका छौँ,’ उहाँले भन्नुभयो ।

सरकारले जेठमा घोषणा गरेको आफ्नै निर्णय कार्यान्वयन गर्न नसकेर चैत अन्तिममा फिर्ता लिए पनि मन्त्रालय र विकास समितिले पानी नियमित ल्याउने गरी काम गर्न पर्याप्त समय नभएको बताएका छन् । नियमित पानी सञ्चालन गर्ने योजना बनाउँदा बनाउँदै पनि २०८० मा बन्द गर्नुपर्ने अवस्था आएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर (सिडिई) पदम कुँवरले बताउनुभयो । उहाँका अनुसार मेलम्चीको पानी बाह्रै महिना काठमाडौंमा ल्याउन १० करोड रुपैयाँभन्दा बढी लाग्छ । तर, यो वर्ष भने बजेटभन्दा पनि समय नै थोरै हुँदा मेलम्ची मर्मत गर्न नसकिएको हो ।

सरकारले दिगो व्यवस्थापन गर्न नसक्दा मेलम्चीको पानी अहिलेसम्म हिउँदमा ल्याउने र पानी परेपछि बन्द गर्ने गरिँदै आएको छ । बहुचर्चित मेलम्ची खानेपानी आयोजना सुरु भएको दुई दशकपछि उपत्यकाभित्र पहिलोपटक विसं २०७७ चैत १५ गते पानी वितरण थालिएको थियो । पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण भयो । तर, ०७८ सालको असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो । क्षति भएको नौ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो । तर, पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै सरकारले २०७९ जेठ १७ गतेबाट उपत्यकामा मेलम्चीको पानी ल्याउन बन्द ग¥यो । बर्खा सकिए पनि सरकारले समयमा पानी ल्याउन सकेन । बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी सरकारले काठमाडौं ल्यायो । क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको हो । विकास समितिका अनुसार पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण भइरहेको थियो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता राईले मेलम्चीको पानी नआए पनि यही स्रोतका पानीलाई समानुपातिक ढंगले ग्राहकहरूलाई वितरण गर्ने जानकारी दिनुभयो । ‘सोमबारदेखि मेलम्चीको पानी बन्द हुने भनेर पत्र पाएका छौँ, अब कसरी वितरण गर्नेबारे आज बैठक बस्दै छौँ, त्यही निर्णयअनुसार पानी वितरणको लागि सार्वजनिक सूचना जारी गर्छौं, समानुपातिक रूपमा वितरण गर्ने प्रयास गर्छौं,’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?