कैलालीमा मिटरव्याजी विरुद्ध धमाधम ‘अनलाइन’ उजुरी पर्दै

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । कैलालीमा मिटर ब्याजबाट ठगिएकाहरु धमाधम अनलाइनबाट उजुरी दर्ता गराउन थालेका छन् । जिल्लामा ८७ मिटर ब्याज पीडितहरुले अनलाइनबाट जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दर्ता गराएका हुन् । नेपाल सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ गठन गर्दै पीडितहरुलाई निःशुल्क उजुरी दर्ता गर्न आह्वान गरेपछि उजुरी दिने पीडितको संख्या बढ्दै गएको छ ।

साथै लिखित उजुरी दिएका पुराना पीडितले समेत अनलाइन उजुरी दर्ता गराउनुपर्ने भएको छ । कैलालीमा मिटरब्याजीहरुको जालोले विकराल रूप लिएपछि पीडितहरु उजुरी दिन थालेका छन् । शुक्रवार सम्म मात्र ८७ पीडितहरुले अनलाइन उजुरी दर्ता गराएका छन् ।यसअघि ९५ जनाले उजुरी दर्ता गराएका थिए । तर लिखित उजुरी दिएका पुरानाले समेत अनलाइन उजुरी दर्ता गराउनुपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले उजुरी दर्ताको सात दिन समय थप गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आयोगबाट म्याद थप भएको छ । स्थानीय तहहरुलाई भनेका छौँ । हामीले पनि सूचना सार्वजनिक गरेका छौँ ।’ जिल्ला प्रशासन कार्यालयले सुरुमा वैशाख १७ गतेदेखि ३१ गतेसम्म उजुरी दर्ता गर्न सूचना जारी गरेको थियो ।

अब पुनः म्याद थप गरी जेठ ७ गतेसम्म कायम गरेको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले सहायता कक्ष नै स्थापना गरेको छ । कैलालीमा मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिमसमेत बढेको छ । साथै, गैर कानुनी मानिएको मिटर ब्याजमा गरिएको ठुलो लगानी असुल हुन नसकेपछि यसका लगानीकर्ताको भागाभाग मच्चिन थालेको छ ।

मिटर व्याजको कारोबारमा ठगिएका र ठगी गर्ने दुवै पक्ष जनप्रतिनिधि, प्रहरी प्रशासनमा धाउने क्रम कैलालीमा बढेको छ । जोशीका अनुसार सबैले अनलाइन उजुरी दर्ता गर्नुपर्ने भएको हो । उहाँले भन्नुभयो, ‘अनिश्चित लेनदेन भन्ने भएको छ । उहाँहरुले आयोगले तोकेको अनलाइनमा दर्ता गर्नुपर्नेछ । पीडित भएको प्रमाणहरु ल्याउनुपर्ने हुन्छ ।’

कैलालीमा मिटर ब्याजको कारोबारमा तीन वटा समूहको संलग्नता देखिएको छ । पहिलो समूहले बढी ब्याजको लोभमा आफूसँग भएको रकम दोस्रो समूहका मध्यस्थकर्तालाई दिन्छन् । दोस्रो पक्षले पहिलो पक्षबाट लिएको भन्दा बढी ब्याजदरमा तेस्रो पक्षलाई ऋण दिन्छन् । मध्यस्थकर्ताको भूमिका खेल्ने व्यक्ति सीमित छन् ।

पहिलो पक्ष लगानी डुबेर र तेस्रो पक्ष बढी ब्याजदरको ऋण लिँदा ठगिएर पीडित भएका छन् । मासिक दुईदेखि पाँच प्रतिशत ब्याजदरमा सापटीका रूपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको भूमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रिम २० प्रतिशत रकम कटौती गर्छन् । अनि, हरेक महिना पूरै साँवा रकमको १० देखि २५ प्रतिशतसम्म ब्याज असुली गर्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?