आर्सनलको लज्जास्पद हार

Read Time = 3 mins

लण्डन । आर्सनलले घरेलु मैदानमा ब्राइटनसँग ३-० को हार बेहोरेको छ । इंग्लिस प्रिमियर लिगमा आइतबार राती भएको खेलमा ब्राइटनको जितमा जुलियो इनसिसो, डेनिज अन्डभ र पर्भिस इस्टुपिनानले गोल गर्नुभयो ।

खेलको ५१औँ मिनेटमा जुलियो इनसिसोको गोलबाट ब्राइटनले अग्रता लियो । ८६औँ मिनेटमा डेनिज अन्डभले पास्कल ग्रसको पासमा गोल गर्दै ब्राइटनको अग्रता दोब्बर पार्नुभयो । इन्जुरी समयमा पर्भिस इस्टुपिनानले गोल गर्दै ब्राइटनलाई ३-० को जित दिलाउनुभयो ।

यो हारसँगै आर्सनल शीर्षस्थानको म्यानचेस्टर सिटीसँग चार अंकले पछि परेको छ । जितसँगै ब्राइटनको भने प्रिमियर लिगमा शीर्ष ६ मा रहने सम्भावना बलियो बनेको छ । छैटौँ स्थानमा रहेको ब्राइटनको ३४ खेलबाट ५८ अंक पुगेको छ । पराजित आर्सनल ३६ खेलबाट ८१ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ ।

यस्तै, प्रिमियर लिगको अर्को खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई ३-० ले पराजित गर्‍यो । सिटीको जितमा इल्केए गुन्डोगानले दुई तथा नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालाण्डले एक गोल गर्नुभयो । खेलको ३७औँ मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाउनुभयो । त्यसको दुई मिनेटपछि नै हालाण्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनुभयो ।

५१औँ मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाउनुभयो । यस जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३५ खेलबाट ८५ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको आर्सनलको ८१ अंक छ । पराजित एभर्टन ३६ खेलबाट ३२ अंक जोडेर १७औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?