सरकारी वकिल र अदालतको चक्कर काट्दै ‘भिआइपीहरू’

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा राज्यका उपल्लो तहका राजनीतिज्ञ र प्रशासकहरू प्रहरी हिरासतमा छन् । प्रकरणमा जोडिएका तत्कालीन उपपप्रधानमन्त्री, गृहमन्त्री र बहालवाला सचिव प्रहरी हिरासत छन् । हालसम्म पक्राउ परेका १३ जनामध्ये पूर्वउपप्रधानमन्त्री टोपहादुर रायमाझी, पूर्वगृहमनत्री बालकृष्ण खाँण र बहालवाला सचिव टेकनारायण पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरू फरक-फरक मितिमा पक्राउ परेका हुन् । उनीहरूसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई पनि हिरासतमा छन् । उनी पनि उच्च पदस्थ राजनीतिज्ञ हुन् । हिरासतमा रहेका उनीहरूको दिनचर्या नै फेरिएको छ ।

‘भिआइपी’हरू सरकारी वकिलको कार्यालय र जिल्ला अदालत काठमाडौंमा चक्कर काटिरहेका छन् । बयान दिन र म्याद थप गर्न उनीहरूलाई वकिलको कार्यालय र जिल्ला अदालतमा ल्याउने र लैजाने काम भइरहेको छ । सत्ता र शक्तिमा रहँदा अघिपछि देखिने समर्थकको भिड अहिले छैन । उनीहरूका अघिपछि प्रहरी तैनाथ छन् । कुनै बेला उनीहरूलाई देख्नेबित्तिकै तनक्क तन्किएर सलाम ठोक्ने प्रहरीहरू अहिले डो¥याएर हिँडिरहेका छन् । कुनै श्रद्धा र सम्मान भाव छैन । मानव तस्करीको जालोमा संलग्न सम्भावित अपराधीहरूलाई उनीहरूले केरकार गरिरहेका छन् ।

प्रकरणमा जोडिएका पूर्वगृहमन्त्री खाँणसहित तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बहालवाला सचिव टेकनारायण पाण्डेसमेत हिरासतमा छन् । यस्तै, नरेन्द्र केसी, सन्दीप रायमाझी, सागर राई, रामशरण केसी, गोविन्द चौधरी, सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी र कुमार गुरुङ पनि प्रहरी हिरासतमा छन् । प्रकरणमा जोडिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी मात्र फरार छन् । यस्तै, प्रकरणमा नाम जोडिएकी खाँण पत्नी मन्जु भने सम्पर्कविहीन हुनुहुन्छ ।

टोपबहादुरलाई तीन दिन हिरासतमा राख्न अनुमति, बयान लिन थालियो
नक्कली शरणर्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीलाई तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । रायमाझीलाई अनुसन्धानका लागि तीन दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट प्रहरीले पक्राउ गरेको थियो । वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि उहाँ फरार हुनुभएको थियो ।
अदालतबाट म्याद थप गरेसँगै रायमाझीको बयान लिन थालिएको छ । जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएसँगै उहाँको बयान लिन सुरु गरिएको हो । सोमबार जिल्ला सरकारी वकिलको कार्यालयका प्रहरीले पहिलो दिनको बयान लिएको हो । यसअघि उहाँको छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

खाँणको बयान जारी
शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको सोमबार पहिलो दिन बयान लिइएको छ । सरकारी वकिलको कार्यालयमा सोमबार पहिलो दिन करिब साढे दुई घण्टा उहाँको बयान लिइएको हो । सरकारी वकिलको कार्यालय स्रोतका अनुसार पहिलो दिनको बयानमा उहाँले इन्कारी बयान दिनुभएको छ । उहाँको बयान सकिएको छैन । आज (मंगलबार) पनि लिइनेछ । सोमबार लिएको बयान नसकिएपछि आज पुनः बयान लिन लागिएको हो । यसअघि सरकारी वकिल र प्रहरीले उहाँका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायतको बयान लिएको थियो ।

शरणार्थी प्रकरणमा बद्मासी अरूले गरे, एमालेलाई दोषी सावित गर्ने धृष्टता भइरहेको छ : पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भएको आरोप लगाउनुभएको छ । एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाँणको मुख्य योजनामा प्रकरणको सुरुवात भएको उहाँको जिकिर छ । सोमबार पार्टीनिकट युवाहरूको संगठन राष्ट्रिय युवासंघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले राष्ट्रमाथि घात हुने खालको प्रकरणमा बद्मासी अरूले गरे पनि आफ्नो पार्टीलाई दोषी सावित गर्ने धृष्टता भइरहेको जिकिर गर्नुभयो । दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न पनि उहाँले सरकारसँग माग थियो । ‘भुटानीका नाममा नेपाली नागरिकलाई अवैध तरिकाबाट अमेरिका पठाउने काम राष्ट्रमाथिको घात हो,’ उहाँले भन्नुभयो, ‘बदमासी एउटाले गर्ने र संकेत अर्कोतर्फ देखाउने धृष्टता भइरहेको छ । एमाले नेतृत्वको सरकार हटिसकेपछि परमादेश नेतृत्वको सरकारले गृह मन्त्रालयको नेतृत्व लिएको थियो । उनीहरूकै योजनामा यो सबै भएको हो ।’ तत्कालीन माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानविन गर्न उहाँले वर्तमान सरकारलाई चुनौती दिनुभयो ।

कांग्रेसका पूर्वसांसद शेर्पाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
नक्कली शरणार्थी प्रकरणमा जोडिनुभएका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ । अदालतबाट शुक्रबार पक्राउ पुर्जी जारी भएपछि फरार शेर्पाले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको हो । पक्राउ पुर्जी जारी भएपछि उहाँ फरार हुनुहुन्थ्यो । प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नपोल्न दबाब दिएको उहाँमाथि आरोप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?