सिद्धार्थमार्फत् आइएफसीको सात अर्ब बढी लगानी

Read Time = 4 mins

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालको वित्तीय क्षेत्र सुधारका लागि सात अर्ब २५ करोड नेपाली रुपैयाँ अर्थात् पाँच करोड ५० लाख अमेरिकी डलर ऋण लगानी गर्ने भएको छ । नेपालको सिद्धार्थ बैंकमार्फत् उक्त ऋण लगानी गर्ने भएको हो । उक्त रकम नेपालभर छरिएर रहेका साना तथा मझौला उद्योग (एसएमई)मा कर्जाको पहुँच बढाउन प्रयोग हुनेछ ।

कोरोनाका कारण धरासायी अवस्थामा पुगेका एसएमई वित्तको आवश्यकता रहेको र यो सहयोगले एसएमई व्यवसायीलाई सहजता मिल्नुका साथै नयाँ रोजगारी सिर्जना हुने, महिलालाई व्यवसायमा आबद्ध हुने प्रेरणा दिने आइएफसीको विश्वास रहेको छ । नेपालको वित्तीय क्षेत्रको विस्तार तथा पहुँच वृद्धिका लागि विगत वर्षमा समेत सहयोग गर्दै आएको आइएफसीले नेपालमा पछिल्लो आजसम्म गरेको सबैभन्दा धेरै लगानी भएको आइएफसीले जनाएको छ । कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान पुर्‍याउने एसएमई नेपाली अर्थतन्त्रको आधारस्तम्भ रहेको छ । हाल एसएमईमा १८ लाख मानिस आबद्ध रहेका छन् तर एसएमई सञ्चालनका लागि आवश्यक वित्त उपलब्ध नहुँदा ४४ प्रतिशत साना तथा मझौला उद्योग बन्द हुने अवस्थामा रहेका छन् । कुल ऋणको १० प्रतिशत ऋण जलवायु वित्तपोषणका लागि प्रयोग हुनेछ ।

नेपालमा विद्युतीय सवारीसाधन, आधुनिक कृषि र ऊर्जा उत्पादनमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको आइएफसीको जनाएको छ । विश्वव्यापी जलवायु जोखिम सूचांक २०२१ का अनुसार नेपाल जलवायु परिवर्तन जोखिममा पर्ने देशमा १२औँ देशमा रहेको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नेपालमा क्लाइमेट फाइनान्सिङ वृद्धि गर्नुपर्छ । नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शूून्यमा पुर्‍याउने लक्ष्य लिएकाले लक्ष्य प्राप्तिका लागिसमेत ग्रिन फाइनान्सिङ बढाउनुपर्ने हुन्छ । नेपालको वित्तीय क्षेत्रमा तरलता प्रवाह गरी बन्द हुने अवस्थामा पुगेका एसएमईमा वित्तीय पहुँच वृद्धि गरेकोमा आफूहरू खुसी भएको आइएफसी नेपालका देशीय निर्देशक बाबाकर एस फायले बताउनुभएको छ ।

सन् २०१९ यता आइएफसीले नेपालमा १५ करोड अमेरिकी डलर सहयोग गरेको छ । जुन सहयोग समय सान्दर्भिक भएको र दुर्गम क्षेत्रमा रहेका घरेलु, साना तथा मझौला उद्योगमा लगानी बढाउन सहयोग गर्ने र जलवायु परिवर्तन नियन्त्रणका लागि गरिएको लगानी वृद्धि गर्न मद्दत गर्ने सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?