शहीद स्मारक ‘ए’ डिभिजन लिग : एनआरटीमाथि मच्छिन्द्रको जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले जित निकालेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा मच्छिन्द्रले न्युरोड टिम एनआरटीलाई दुई-शून्य गोल अन्तरले हराएको हो ।

मच्छिन्द्रको जितमा आफिज ओलावाले र सौरभ लिम्बूले एक-एक गोल गर्नुभयो । ओलावालेले खेलको ३१ औँ मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई सुरुवाती अग्रता दिलाउनुभयो । खेलको इन्जुरी समयमा सौरभले गोल गर्दै मच्छिन्द्रलाई दुई-शून्यको जित दिलाउनुभयो ।

मच्छिन्द्रको यो नवौँ जित हो । मच्छिन्द्रले २० खेलमा ३४ अंक जोडेको छ । एनआरटीले २० खेलमा २३ अंक जोडेको छ ।

यस्तै, अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबले एपिएफ क्लबसँग दुई-दुई गोलको बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ क्लबले दुईपटकको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो ।

खेलको १३औँ मिनेटमा कोफी कुडोले पेनाल्टीबाट गोल गर्दै मनाङलाई अग्रता दिलाउनुभयो । एपिएफका विश्वास सुन्दासले पेनाल्टी क्षेत्रभित्र सुमित श्रेष्ठलाई लडाएपछि पाएको पेनाल्टीलाई कुडोले गोलमा परिणत गर्नुभएको थियो ।

लगत्तै एपिएफका विश्वास रातो कार्ड पाउँदै मैदानबाट बाहिरिनुभयो । खेलको २०औँ मिनेटमा नवीन लामाले गोल गर्दै एपिएफलाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । खेलको २६औँ मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै मनाङलाई दुई-एकको अग्रता दिलाउनुभयो । त्यसपछि खेलको ६४औँ मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपिएफलाई दुई-दुई गोलको बराबरीमा ल्याउनुभयो । यस बराबरीसँगै मनाङले २० खेलमा २४ अंक जोडेको छ । एपिएफले २० खेलमा २३ अंक जोडेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?