नेता महरको प्रश्न-भ्रष्टाचार निवारणका लागि कठोर कानुन किन निर्माण नगर्ने?

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भ्रष्टाचार निवारणका लागि कठोर कानुन निर्माण गर्नुपर्ने बताउनुभएको छ । मुलुकको विकास र समृद्धिको बाधकका रूपमा भ्रष्टाचार नै प्रमुख कारण रहेको बताउँदै संसद्को चालु अधिवेशनबाट नै सांसदले भ्रष्टाचारविरुद्धको कडा कानुन बनाउनु पर्ने बताउनुभएको हो ।

'भ्रष्टाचार निवारण हुनुपर्छ भन्ने सार्वभौमसत्ता सम्पन्न संसद‍्मा सांसदहरूको मागमात्रै हो कि चालु अधिवेशनबाटै कठोर कानुन निर्माण गर्ने?,' महरले सोमबार बिहानै सामाजिक सञ्जालमा प्रश्न गर्नुभएको छ । उहाँले भ्रष्टाचार निवारण जस्तो गम्भीर विषयमा सरकार अकर्मण्य बन्न नहुने टिप्पणी गर्नुभयो ।

'भ्रष्टाचार निवारणको गम्भीर विषयमा के संसद् अकर्मण्य बन्न लागेको हो ? जवाफ खोजेका छन् जनताले,' नेता महरले भन्नुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा देशकै जिम्मेवार व्यक्तिहरू मुछिनु र देशमा भ्रष्टाचार मौलाउँदै जानुले खतराको संकेत गरेको उहाँको भनाइ छ ।

'भ्रष्टाचारले मुलुकको विकासमा मात्र प्रभाव पार्ने नभएर जिम्मेवार व्यक्तिहरूको नैतिकतामा समेत प्रश्न उठिरहेको छ । यसले हामीलाई विश्व जगतमा नै लज्जित हुनुपर्ने अवस्था छ । त्यसैले भ्रष्टाचारलाई निर्मूल पार्न कडा कानुन किन नबनाउने ? यसमा हामीलाई केले रोकिरहेको छ?,' उहाँको प्रश्न छ ।

यसतर्फ नेताहरू समयमै सचेत नभए पछि यही विषय नेताहरूलाई भारी पर्ने महरले चेतावनी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?