आज दिनभरका मुख्य समाचार एकै ठाउँमा पढ्नुहोस्

हिमालय टाइम्स
Read Time = 32 mins

किर्गिस्तान र श्रीलंका पाँचौ स्थानका लागि खेल्ने

काठमाडौं । नेपालमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा किर्गिस्तान र श्रीलंका पाचौं स्थानका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा किर्गिस्तानले माल्दिभ्ससँग जित निकाल्दा अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको हो । दुवै टोलीको जितसँगै विजेता दुई टोलीको भिडन्त पाँचांै स्थानका लागि तय भएको हो । प्लेअफ अन्तर्गत बिहीवार भएको पहिलो खेलमा किर्गिस्तानले माल्दिभ्समाथि ३–० को सहिजत जित दर्ता गरेको हो । किर्गिस्तानले माल्दिभ्सलाई २५–२०,२५–२० र २५–१५ ले हराएको हो । पाँचौ स्थानका लागि शनिवार खेल हुनेछ ।

प्रतियोगिता अन्तर्गत बिहीवार नै भएको अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई ३–० को सेटमा जित निकाल्दै किर्गिस्तानसँगको भेट पक्का गरेको हो । रोमाञ्चक खेलमा श्रीलंकाले बंगलादेशमाथि २५–१६, २५–१५ र २५–७ को सहज जित निकालेको हो । यससँगै छैठौं र सातांै स्थानका लागि प्रतिष्पर्धा गर्ने टोलीको पनि टुङ्गो लागेको छ । यस स्थानका लागि माल्दिभ्स र बंगलादेशबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिता अन्तर्गत शुक्रवार नै उज्वेकिस्तान र भारतबीच पहिलो सेमिफाइनल खेल दिउँसो साढे दुई बजे हुनेछ । त्यस्त नेपाल र काजकिस्तानबीच दोस्रो सेमिफाइनल खेल शुक्रवार साँझ ५ बजे हुनेछ । दुवै सेमिफाइनल विजेताका बीचमा आईतवार फाइनल खेल हुनेछ । नेपाल घरेलु कोर्टमा च्याम्पियनको ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ ।

चर्च ब्वाईज र मनाङ मस्र्याङ्दी बराबारीमा रोकिए

सर्वाधिक आठ पटकको लिग च्याम्पियन टोली मनाङ मस्र्याङ्दी फुटबल क्लवसँग बराबरीमा रोकिएसँगै यसै सिजन बढुवा भएको चर्च ब्वाईजले दोस्रो स्थानको मच्छिन्द्रसँग अंक दूरी बढाउने मौका गुमाएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा मनाङ र चर्च ब्वाईजले गोल रहित बराबरी खेल्दै अंक बाडेका छन् भने बराबरीले शीर्ष स्थानको चर्च ब्वाईजले दोस्रो स्थानको मच्छिन्द्रसँग दूरा बढाउने मौका गुमाएको हो । शीर्ष स्थानको मच्छिन्द्रको २० खेलमा ३७ अंक छ । जुन दोस्रो स्थानको साविकको विजेता मच्छिन्द्र क्लवको भन्दा २ अंक बढी हो ।

दोस्रो स्थानको मच्छिन्द्रले बुधवार तेस्रो स्थानको जावलाखेल युथ क्लवबिरुद्ध गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । पछिल्लो खेलमा चर्च ब्वाइज हिमालयन शेर्पासँग १–१ को बराबरीमा रोकिएको थियो । मनाङ २० खेलमा २४ अंकसहित ११ औं स्थानमा छ । लगातार जितबिहीन रहँदै आएको मनाङ रेलिगेशन क्षेत्रमा रहेको फ्रेण्ड्स क्लव र एफसी खुमलटारभन्दा मात्र ३ अंकले अघि छ ।

लिग अन्तर्गत बिहीवार एन्फा मुख्यालयमा भएको अर्को खेलमा फ्रेण्ड्सले सातदोबाटो युथ क्लवलाई ४–० गोल अन्तरले हराएको हो । फ्रेण्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे । राफिक अमिनु र प्रकाश बुढाथोकी एक÷एक गोल गरे । खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई शुरुआती अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेण्ड्सलाई २–० को अग्रता दिलाएका थिए । खेलको ८७ औं मिनेटमा जेब्रिनले गोल गर्दै फ्रेण्ड्सलाई ३–० को अग्रता दिलाउन सफल भए । त्यसपछि खेलको ९० औं मिनेटमा जेब्रिनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेण्ड्सलाई ४–० को जित निश्चित गरे । यससँगै फ्रेण्ड्सले जारी लिगमा छैटौं जित निकालेको छ । फ्रेण्ड्सले २१ खेलमा २४ अंक जोडेको छ । फ्रेण्ड्स १२ औं स्थानमा रहेको छ । सातदोबाटोले २१ खेलमा २९ अंक जोडेको छ । सातदोबाटो चौथो स्थानमो छ ।

चोरी घटनामा संलग्न २७ जना सार्वजनिक

धनुषा जिल्लामा पछिल्लो समयमा चोरीका घटनाहरु बढ्दै गएसँगै धनुषा प्रहरीले चोरी डकैतीमा संलग्नहरुलाई पक्राउ गर्ने कार्यलाई तिब्रता दिएको छ ।

धनुषा प्रहरीले सादा पोशाकमा चोर पक्राउ गर्नका लागि गस्ती टोली खटाएपछि चालु आर्थिक वर्ष २०७९/०८० मा चोरी मुद्दाका ९७ जना चोरी कार्यमा संलग्नहरुलाई पक्राउ गरेको हो । चालु आर्थिक वर्षमा हालसम्म दर्ता भएका ९६ वटा चोरी मुद्दामा ९७ जना चोरी डकैतीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरमा ठूलठूला चोरीदेखि मोटरसाइकल, मोबाइल तथा दमकल चोरी लगायतका चोरी डकैतीमा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँकाअनुसार चोरीमा पक्राउ भएपनि मुद्दा दर्ता नभएर अभद्र व्यवहारमा ३ सय ३० वटा मुद्दा दर्ता गरिएको छ । जसमा ४ सय जनालाई पक्राउ गरिएको बताउनु भयो । पक्राउ गरिएकामध्ये १ सय ३० जनालाई कारबाही समेत गरिसकिएको बताउनु भयो । प्रहरी नायब उपरीक्षक गौतमका अनुसार चोरी मुद्दामा २५ जनालाई सिन्धुली कारागार, ९ जनालाई जलेश्वर कारागार र २ जनालाई झुम्का कारागार पठाइएको छ । त्यस्तै अभद्र व्यवहार मुद्दाका ९३ जनालाई सिन्धुली कारागार र १ जनालाई जलेश्वर कारागार पठाइएको छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न चोरी घटनामा संलग्न रहेको आरोपमा २७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । चोरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा जनकपुरधाम १२ का बलिराम मण्डल, सुनिल मुखिया, जनकपुरधाम १६ का सुशिल पञ्जियार, जनकपुरधाम २ का मुकेश साह, जनकपुरधाम ३ का दिवेन्द्र मण्डल, जनकपुरधाम १४ का रितेश गुप्ता, जनकपुरधाम १६ का रञ्जित दास, जनकपुरधाम १० का नविनकुमार यादव, जनकपुरधाम ४ का सोनुकुमार सहनी, जनकपुरधाम ८ का राजकुमार यादव, जनकपुरधाम १७ का संजिव राम, क्षिरेश्वरनाथ ५का ईन्दल राम, जनकपुरधाम १४ का नारायण साह, जनकपुरधाम १७ का साजन मुखिया, जनकपुरधाम ६ का सलमान मंसुर, जनकपुरधाम ७ का ऐलुन खान, महोत्तरी ६ का गुड्ड महतो, रामप्रवेश महतो, जनकपुरधाम २ का मुकेश गुप्ता लगायतका रहेका छन् ।

जलका स्रोतमा पूजा गरी मनाइयो सिथी नख

नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा र पूजा–आराधना गरी सिथी नख पर्व मनाएका छन् ।

हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन पानीका स्रोतमा पूजा आराधना यो पर्व मनाउने गरिन्छ । यसबारेमा मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रूपमा पुज्ने गरिन्छ । सिथी पर्वका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका पानीका मुहानमा सरसफाइ गरिएको छ । यो पर्व विशेषगरी नेवार समुदायको बाहुल्य रहेका स्थानमा मनाउने गरिन्छ ।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदायले आज विशेष गरी यो पर्व मनाउने भक्तपुरको क्वाठन्डौंका सूर्यबहादुर मुस्याख्वले बताउनु भयो । उहाँले नेवार समुदायले आज पानीका मुहानको सरसफाई गरेर यो पर्व मनाउने गरिएको बताउनु भयो ।

आजकै दिन कुमार षष्ठी पर्व पनि मनाइएको छ । देवताहरुका सेनापति कुमार कार्तिकेयको पूजा आरधना एवं व्रत गरी यो पर्व मनाउने परम्परा छ । सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रूपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उहाँको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो । षष्ठीबाट अपभ्रंश भइ कुमार कार्तिकेयलाई सिथी पनि भन्ने गरिन्छ ।

बयानकै आधारमा पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छः गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको थप अनुसन्धान भइरहेको बताउनुभएको छ ।

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले नागरिकलाई जीवन फेरिएको अनुभुति दिन नसकेको बताउनु भयाे ।

उहाँले देशमा भ्रष्टाचारको जालो व्यप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताउनु भयो । उहाँले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न आवश्यक भएको बताउनु भयो । उहाँले देशको नागरिकलाई अनागरिक बनाइ विदेश पठाइ सम्पती कमाउने काम सह्य नहुने बताउनु भयो । उहाँले राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन प्रहरीलाई निर्देशन दिएको पनि बताउनु भयो ।

गृहमन्त्री श्रेष्ठले नक्कली शरणार्थी बनाइ देशका नागरिकलाई बेच्ने कार्य सह्य नहुने बताउनु भयो ।

राष्ट्रपतिद्वारा मत्यसेन्द्रनाथको भोटो जात्रा अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मत्यसेन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपरान्ह आयोजित भोटोजात्रामा सहभागी भइ भोटोजात्रा अवलोकन गर्नुभएको हो । मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)  को रथ लगनखेलबाट जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले जीवित देवी कुमारीको दर्शन पनि गर्नुभयो ।

गत वैशाख ११ गतेदेखि शुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रीहरु सहभागी हुनुहुन्थ्यो । रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो ।

मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ । मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । पुल्चोकमा रथारोहण गरी शुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पु¥याएर भोटो देखाइन्छ । यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।

पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरुवात गराइएको किंवदन्ती छ ।

भारतसँगको सम्बन्ध नेपालको लागि अवसर हो, समस्या होइन– सांसद राई

नेकपा (एमाले) का सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको नेपालको सम्बन्ध अवसर भएको बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसद राईले नेपालको लागि भारतसँगको सम्बन्ध अवसर भएको बताउनुभएको हो । उहाँले छिमेकी मुलुकसँगको सम्बन्ध हाम्रो लागि समस्या नभएको बताउनु भयो ।

उहाँले भारतसँगको सम्बन्धलाई अवसरको रुपमा परिणत गर्न नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्ने भएपनि त्यस्तो हुन नसकेको बताउनु भयो । सांसद राईले सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिको मुल कपि नै नभएको भन्दै बजारमा सुनिएका कुराहरुको आधिकारिताको सम्बन्धमा प्रश्न उठाउनु भयो ।

उहाँले नेपालमा सन् १९५० को सन्धि खारेज हुनुपर्ने माग बारम्बार उठिरहने भन्दै सो सन्धि खारेज हुनु र नहुनेको कुनै अर्थ नभएको बताउनु भयो ।

गणतन्त्रको विकल्प पश्चगमन हुन सक्दैनः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ नामक तस्बिर प्रदर्शनीमा बोल्दै मन्त्री शर्माले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताउनुभएको हो ।

उहाँले लोकतन्त्र र गणतन्त्र नहुँदा मानिसलाई बोल्ने स्वतन्त्रता समेत नभएको उल्लेख गर्दै उहाँले गणतन्त्रको विकल्पमा पुनः पछाडी फर्कन नसकिने स्पष्ट पार्नुभयो । उहाँले विभिन्न भ्रष्टाचारको विषयहरु उठाएर गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको भन्दै ति समस्याहरुको समाधान पनि गणतन्त्र भित्रै सम्भव भएको बताउनु भयो ।

उहाँले सरकार सञ्चालनमा भएका त्रुटीहरुलाई व्यवस्थासँग जोडेर हेर्न नमिल्ने बताउनु भयो । उहाँले गणतन्त्रले दलित, महिला लगायतका उत्पीडित समुदायहरुलाई राजनीतिको शीर्ष तहमा लगेको भन्दै व्यक्तिले गरेको गल्तीलाई प्रणालीसँग जोड्न नमिल्ने बताउनु भयो । उहाँले राज्यको माथिल्लो तहमा पुगको कोही व्यक्ति बिग्रिएमा गणतन्त्रको दोष नभएको बताउनु भयो ।

तातोपानी नाकामा व्यवसायीका दुःखः दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी

नेपाल र चीनबीचको व्यापारीक नाका तातोपानी सञ्चालनमा आएपनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ ।

लामो समयदेखि बन्द रहेको तातोपानी नाका वैशाख अन्तिमबाट दुवैतर्फ सञ्चालनमा आएको हो । तर नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनिय हुँदा दुर्घटनाको जोखिमका कारण नेपाली व्यवसायीहरुले आवश्यक सामग्री ओसारपसार गर्न सकेका छैनन् ।

पछिल्लो समय सडकको दुरावस्थाका कारण तातोपानी नाकाबाट व्यवसायीहरुका सामान आयात गर्नै छोडेका छन् । सडक राम्रो नहुँदा र तातोपानी नाकाबाट सामान नेपाल भित्र्याउँदा धेरै समय लाग्ने गरेकाले व्यवसायीहरुले अर्को नाकाबाट सामान आयात गर्ने गरेको गुनासो गरे । सडकको स्तारोन्नति र बिस्तार हुन नसक्दा व्यवसायीहरुले वर्षेनी सास्ती भोग्नुपरेको छ । तातोपानी क्षेत्र भौगोलिक रुपमा पनि विपद्को उच्च जोखिममा रहेकाले वर्षायाम शुरु भएसँगै सडकमार्ग जिर्ण छ ।

नेपाल—चीन जोड्ने नेपालको प्रमुख व्यापारीक तातोपानी नाका भएपनि सडक मार्गको समस्याले सधैँ ग्रसित छ । चीनसँगको व्यापारिक नाका तातोपानी जोड्ने मुख्य सडक बाढी, सुक्खा पहिरो लगायतका समस्याका कारण सधैँ भासिने गरेको छ । व्यवसायीहरुले सरकारले तातोपानी जोड्ने सडक मर्मतका लागि आवश्यक चासो नदिएको गुनासो गरेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडक मार्ग सरकारले दीर्घकालिन मर्मत गर्न नसक्दा सधैँ जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ । दुई पहाडबीचबाट बग्ने भोटेकोसी नदीको किनार भएकाले पनि तातोपानी नाका जोड्ने सडकमा जोखिम बढी हुने गर्छ । व्यापारीक नाका भएकाले सामान बोकेर ठूला कन्टेनर सहज रुपमा गुड्नसक्ने अवस्था नहुँदा सडक दुर्घटनाको ठूलो जोखिम भएपनि अहिलेसम्म सरकारले उक्त सडकको स्तरोन्नति गरी दीर्घकालिन समस्या समाधानको उपाय खोज्न सकेको छैन । चीनबाट तातोपानी नाका हुँदै सामान आयात गर्ने व्यवासायीहरु नाकाको मुख्य सडक मर्मत नहुँदा समान ढुवानी गर्न समेत समस्या भएको गुनासो गर्छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा व्यवसायी दामोदर सत्यालले ४० फिटको कन्टेनर सामान बोकेर काठमाडौंसम्म ल्याउनको लागि सडक जिर्ण भएकाले असहज भइरहेको बताउनु भयो।

उहाँले सरकारले चीनसँगको प्रमुख व्यापारीक तातोपानी नाका जोड्ने सडक पूर्वाधार मजबुत बनाउन नसकेको बताउनु भयो । उहाँले सडक पूर्वाधार मजबुत भए मात्रै नाका सञ्चालनमा सहज हुने बताउनु भयो । उहाँले सडक जिर्ण भएकै कारण चीनबाट आयात गरिएको सामानको मूल्य काठमाडौं पु¥याउँदा बढ्ने गरेको बताउनु भयो । उहाँले भन्सारमा व्यवासायीका लागि आवश्यक सबै सुविधा सरकारबाट प्राप्त भएपनि सडक मार्ग भने राम्रो बनाउन नसक्दा सधैँ समस्या भएको गुनासो गर्नुभयो ।

अर्को व्यवसायी विजय शेर्पाले बाह्रबिसेदेखि तातोपानी नाकासम्म २४ किलोमिटर सडक जोखिमपूर्ण रहेको बताउनु भयो । उहाँले सामान बोक्ने ठूला कन्टेनर सडकमा गुड्न लागेकाले समस्या भइरहेको बताउनु भयो । उहाँले स्थानीय पालिका र व्यवसायीहरुले सरोकारवाला निकायहरुलाई सडक मार्ग स्तर उन्नतिका लागि पहल गर्न आग्रह गर्दा पनि अहिलेसम्म हुन नसकेको भन्दै गुनासो गर्नुभयो । उहाँले सरकारले तातोपानी नाका जोड्ने सडक समयमानै स्तर उन्नति गरे स्थानीयदेखि व्यवसायीहरुलाई समेत सहज हुने बताउनु भयो ।

त्यस्तै,तातोपानी सडकका कन्टेनर चालक पेम्बाछिरिङ तामाङले तातोपानी सडकमा ढुवानीको कन्टेनर चलाउन असहज रहेको बताउनु भयो । उहाँले सडक सानो र साँघुरो भएकाले दुई तर्फबाट कन्टेनर आउँदा साइट दिने ठाउँ समेत नहुने अवस्था रहेको बताउनु भयो । उहाँले कन्टेनर बेला—बेलामा सडकमाथिको पहाडमा ठोक्किने समस्या रहेको समेत बताउनु भयो ।

तातोपानी नाका पूर्णरुपमा सञ्चालनमा आउँदा सडकमा सवारी साधनको चाप बढ्ने तर सडकको अवस्था भने दयनीय छ । तातोपानी नाका सहज रुपमा सञ्चालनमा आएपनि सडक मार्गको अवस्था नाजुक र जिर्ण रहेका कारण सामान ढुवानीमा समस्या छ । कोदारी लोकमार्गको विभिन्न खण्डमा वर्षा याममा बाढी र भेलले सडक वर्षैपिच्छे क्षतिग्रस्त हुने गरेको छ । तातोपानी नाका जोड्ने बाह्रबिसेदेखि नाकासम्मको सडकखण्ड व्यवस्थित बनाउन सरकारले दीर्घकालीन योजना बनाइ सडकको समस्या समाधान गर्न आवश्यक देखिन्छ ।

प्रधानमन्त्रीले भारत भ्रमणमा कर्णाली वा कोशीमा सम्झौता गर्ने शंका छः उपाध्याय

नेपाल—भारत प्रवुद्ध समूहका सदस्य सूर्यनाथ उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा कर्णाली वा कोशी नदीमा सम्झौता गर्नसक्ने आशंका व्यक्त गर्नुभएको छ ।

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्याय उपाध्यायले यस्तो शंका व्यक्त गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीले यो पटकको भारत भ्रमणमा नयाँ सम्झौता हुने बताउँदै आएको भन्दै कोशी र कर्णाली जलाशय आयोजना भारतलाई दिने सम्झौता गर्नसक्नेप्रति चनाखो रहन आग्रह गर्नुभयो ।

उहाँले नेपाल र भारतको १९५० को सन्धीमा भएको सम्झौता अनुसार भारतले नेपाललाई पानी कहाँ पु¥याउने, कति दिने भन्ने विषयमा स्पष्ट उल्लेख गरेको बताउनु भयो । उहाँले नेपाल—भारतबीचमा भएका सन्धी सम्झौताहरु पालना नभएको बताउनु भयो । उहाँले गण्डकको नहरमा नेपाललाई पानी दिने भनिए पनि नहरमा अहिले पानी नभएको बताउनु भयो । उहाँले सम्झौता उल्लङ्घन गर्ने भारतसँग जलविद्युत र पानीका सम्बन्धमा सरकार नयाँ–नयाँ सम्झौता गर्दै जानु राम्रो नभएको बताउनु भयो । उहाँले आफ्नो स्रोतलाई सरकारले पानी नभएर विद्युत दिएको भन्दै सबै भारतलाई बुझाई सकिएको बताउनु भयो।

उहाँले १५० मेगावाटको कर्णाली आयोजना भारतलाई नदिन बारम्बार प्रधानमन्त्रीलाई भन्दा पनि नमानिकन भारतको जिएसआरलाई दिँदा १० वर्षसम्म पनि बन्न नसकेको बताउनु भयो । उहाँले कर्णाली आयोजना श्रीपेजको हिरा भनेको भएपनि भारतीय कम्पनीले अलपत्र बनाएको बताउनु भयो। उपाध्यायले नेपाल सरकारको अब पानीमा स्पष्ट नीति बनाउन आवश्यक रहेको बताउनु भयो। उहाँले भारतसँग पानीका सम्बन्धमा सम्झौता गर्दा नेपाल चनाखो हुन आवश्यक रहेको बताउनु भयो।

उहाँले विश्वको पानीको धनी मुलुकमध्ये एक नेपाल भएको भन्दै सरकारले पानीको हिसाव गर्न आवश्यक रहेको बताउनु भयो । उपाध्यायले प्रधानमन्त्रीले भारत भ्रमणमा विद्युतको कुरा गर्दा पानीको हिसाव गरेर कुरा गर्नुपर्ने बताउनु भयो। उहाँले विगतको जस्तो भिजन पेपरमा हस्ताक्षर गर्नु नहुने बताउनु भयो ।

उपाध्यायले १९५० को सन्धीमा नेपालको सीमा खुला खुल्ला राख्नुपर्ने व्यवस्था नगरेको खुलासा गर्नुभयो । उहाँले अहिलेसम्म सरकारले नेपालको सीमा खुला राखिरहेको भन्दै किन खुला राखेको भन्ने बुझ्न नसकेको बताउनु भयो। उहाँले नेपालको सीमाना भारतका लागि खुला हुने तर भारतको नेपालीको लागि खुला नहुने अवस्था रहेको बताउनु भयो । उहाँले आर्थिक रुपले सीमाना खुला राख्नुपर्छ भन्ने नभएको भन्दै आर्थिक रुपमा सीमाना खुला राख्दा झनै खतरा रहेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाँदा समेत गौरवका साथ संयुक्त विज्ञप्तिमा भारतसँग परम्परागत पुरानो सम्बन्धका साथ खुला सीमाना भन्ने गरेको भन्दै त्यस्तो गर्नु आवश्यक नभएको बताउनु भयो। उहाँले अहिलेसम्म कुनैपनि सरकारले नेपाली सीमा खुला राख्न नहुने भनेर बन्न नसकेको बताउनु भयो । उहाँले भारतसँगका सन्धीहरुमा सीमा खुला राख्नुपर्छ भनेर नलेखेको भन्दै नेपालले चाहे सीमानामा पर्खाल लगाउनु सकिने बताउनु भयो ।

उपाध्यायले नेपाल सरकारले भारतबाट नेपाल आउने भारतीय नागरिकको कुनै तथ्याङ्क नराख्दा देशभित्र अपराधिक क्रियाकलाप बढेको बताउनु भयो । उहाँले खुला सीमानाका कारण देशलाई अफ्ठ्यारो पर्ने क्रियाकलाप हुनसक्ने जोखिम समेत बढ्दै गएको बताउनु भयो। उहाँले नेपालमा काम गर्न आउने भारतीय नागरिकहरुलाई श्रम स्वीकृती बिना काम गर्न दिएको बताउनु भयो ।

उहाँले श्रम स्वीकृतिको व्यवस्था गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले नेपाल भारत सम्बन्ध बहुआयामिक भएकाले फरक विश्लेषण हुनुपर्ने बताउनु भयो। उहाँले नेपाल भारतीच आर्थिक र विनिमयको पक्षलाई सरकारले बुझ्न नसकेको गुनासो गर्नुभयो । उहाँले प्रत्येक्ष सरोकार राख्ने सरकारले नेपाल भारतबीच भएको नेपाल—भारत शान्ति तथा मैत्री सन्धी १९५० लाई बेवास्था गरेको बताउनु भयो ।

उहाँले १९५० को सन्धीको समयानुकुल परिमार्जन गर्न सरकारले बेवास्था गर्न नहुने बताउनु भयो। उहाँले भारतबाट नेपालीले एक रुपैयाँ ल्याउँदा भारतीयहरुले नेपालबाट ३ रुपैयाँ लैजाने अवस्था रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?