रास्वपाप्रति झलनाथ खनालको कटाक्ष : घण्टी अराजकताको संकेत हो

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थीको केस लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको बताउनु भयो ।

उहाँले अनुसन्धानलाई अन्तिमसम्म लैजान आग्रह गर्नुभयो । उहाँले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने बताउनु भयो । पूर्वप्रधानमन्त्री खनालले अनुसन्धानमाथि हस्तक्षेप गरे नेपाली नागरिकलाई सह्य नहुने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नक्कली भूटानी शरणार्थीको केस जुन छ अहिले, यो एउटा लज्जास्पद कुरा हो, देशको अस्मिता गएको छ । संलग्न देखिएका मानिसलाई धिक्कार छ । यो लज्जास्पद छ । यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अुनसन्धान प्रक्रियालाई पूर्ण रुपले टुंगोमा लैजानबाट वञ्चित गरियो भने नेपाली नेपाली जनताले सहन गर्नेवाला छैनन् । आन्दोलनको सम्भावना छ । यो आजको सरकार र प्रहरीले सुनोस् ।’

पूर्वप्रधानमन्त्री खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरुको समीक्षा हुन जरुरी रहेको बताउनु भयो । उहाँले उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँलै घण्टी अराजकताको संकेत भएको बताउनु भयो । उहाँले आन्दोलनमा ठूलो भुमिका खेलको पार्टीहरुले देशको विकासका लागि महत्वपूर्ण भुमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ । यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ । कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान् । यो प्रकारको एउटा अवस्था आउँछ । ढोल र घण्टीहरु भनेका अराजकताका संकेतहरु हुन् । देशमा आउँदै गरेको अराजकताका । यो देशका जुन ठूला मेजर पार्टीहरु हुन्, जसले क्रान्ति गर्न ठूलो भुमिका खेले, खेलेकै हुन् तर उनीहरुले देश निर्माणमा महत्वपूर्ण भुमिका खेल्न सकेनन् । त्यसकै कारण अहिले परिस्थिति यस्तो भएको हो । नयाँ भिजनका साथ दशेलाई अघि बढाउनुपर्छ ।’

पूर्वप्रधानमन्त्री खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिनुभयो । उहाँले पूर्वराजा शाह देशका विभिन्न स्थानमा अभिनन्दनमा हिँडिरहेको प्रसंग उठाउँदै उहाँले पूर्वराजाका गतिविधिबाट लोकतन्त्र गुम्ने स्थिति नरहेको बताउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी वा कुनै नयाँ पार्टी खोलेर संसदमा आए लोकतन्त्रको राम्रो पक्ष हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन् । अहिले सामान्य जनता हुन् । उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्न जान्छन्, अभिनन्दनका कुरा छन्, एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस् । राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किंदैन ।’

पूर्वप्रधानमन्त्री खनालले नागरिकतासम्बन्धी प्रावधान होसियारीपूर्वक सोच्नुपर्ने बताउनु भयो । उहाँले देशको सामाजिक संरचनामाथि कुनैपनि व्यवधानका कार्यहरु हुनेगरी कुनै प्रावधान राखेर नागरिकता ऐन बनाउनु राष्ट्रघाती हुने भन्दै राष्ट्रिय सहमतिका साथ टुंग्याउनुपर्ने र बहुमतको आधारमा जबरजस्ती गर्नु नहुने बताउनु भयो । फरक प्रसंगमा उहाँले पशुपतिनाथको जलहरी पित्तलको बनाइएको प्रकरण बाहिरिएको भन्दै यसबारेमा विशेष अनुसन्धान हुन जरुरी रहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?