आलोचना सुन्न देउवा तयार

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । पार्टी रूपान्तरणको अभियान लिएर नेपाली कांग्रेसका युवा नेताहरू देश दौडाहको तयारीमा छन् । कांग्रेसका संस्थापनइतर पक्षीय नेताहरूले गत बिहीबार जनकपुरबाट अभियानको थालनी गरिसकेका छन् । देशका सातै प्रदेशमा पार्टी रूपान्तरणको भेला गर्ने उनीहरूको योजना छ । कांग्रेसभित्र देखिएका कमी कमजोरी, विकृति, विसंगतिको अन्त्य गर्दै पार्टीमा व्यापक सुधार, परिवर्तन र आमूल रूपान्तरण गर्ने उनीहरूको अभियान छ । अभियानमा नेताहरू मधु आचार्य, गुरुराज घिमिरे, जगदीश्वरनरसिंह केसी, चन्द्रमोहन यादव, रञ्जित कर्ण र सुवास पोखरेललगायत छन् । पार्टीमा १४औँ महाधिवेशनपछि सभापति शेरबहादुर देउवाको एकलौटी गरेको उनीहरूको आरोप छ । पार्टीमा बहुमत रहेकाले चाहेअनुरूप गर्न सक्ने वातावरण हुँदा पनि पार्टीमा बेथितिको चाङ लागेको उनीहरूको ठहर छ ।

उनीहरू मात्रै होइन कांग्रेसका प्रभावशाली महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि सभापति देउवाप्रति सन्तुष्ट देखिनुहुन्न । संस्थापनइतरका नेता डा. शेखर कोइराला पनि देउवासँग असन्तुष्ट हुनुहुन्छ । पार्टीलाई विधिसम्मत चलाउन नसकेको र आलोचना सुन्न नचाहेको उनीहरूको समान मत छ । पार्टीका हरेक निर्णय गर्दा सभापति हाबी भएको उनीहरूको ठहर छ । इतर समूहको कुरा सभापति देउवाले सुन्नै नचाहेको उनीहरू बताउँछन् । वास्तवमा महाधिवेशन भएको यतिका समयमा पनि केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन । अधिकांश विभागहरू रिक्त छन् । भ्रातृ संस्थाहरू निष्प्रभावी छन् ।

पार्टीमा एकलौटी गरिरहेको र आलोचना सुन्नै नचाहेको आरोप लागिरहेका बेला सभापति देउवा भने केही लचिलो हुनुभएको छ । उहाँले लोकतान्त्रिक पार्टीमा स्वस्थ आलोचना स्वीकार्य हुने बताउनुभएको छ । उहाँले पार्टीमा असन्तुष्टहरूको कुरासमेत सुन्ने संकेत गर्नुभएको छ । आलोचनाबाट नडराउने उहाँको भनाइ छ ।

स्वस्थ आलोचनाले समस्या समाधान गर्न सहज हुन्छ : सभापति देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले स्वस्थ आलोचनाले काम गर्न उत्साह बढाउने बताउनुभएको छ । नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले उचित आलोचनाले काम गर्न झन् उत्साह बढाउने बताउनुभएको हो । पार्टीमा केही समस्या भए करेक्सन गर्न आफू तयार रहेको उहाँले बताउनुभयो । तर, आलोचना भने स्वस्थ हुनुपर्ने उहाँको भनाइ छ । ‘कांग्रेसले आलोचनाबाट डराउनुपर्ने कुरा छैन । डराउँदैन पनि,’ उहाँले भन्नुभयो, ‘कतिपय उचित आलोचनाहरू हुन्छन् । त्यसले काम गर्न अझ उत्साह हुन्छ । केही समस्या भए करेक्सन हुन्छ । आलोचनाले समस्या समाधान गर्न सहज हुन्छ । तर, स्वस्थ आलोचना गर्नुस् ।’ प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । प्रजातन्त्रको खिलापमा एकथरी लागिपरेको उल्लेख गर्दै उहाँले त्यसको सुदृढीकरणमा सबै राजनीतिक दलहरू लाग्नुपर्ने बेला आएको बताउनुभयो । ‘अहिले देशमा बडा चुनौती छ । लामो लडाइँपछि आएको प्रजातन्त्र हो । यसको खिलापमा एकथरी लागेका छन्,’ उहाँले भन्नुभयो, ‘हामी सबैले एकजुट भएर प्रजातन्त्रको सुदृढीकरण गर्ने काममा लाग्नुपर्छ । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । अरू कुनै हुन सक्दैन ।’ यसअघि भने सभापति देउवाले पार्टीभित्रैबाट असहयोग भएको भन्दै असन्तुष्टि जनाउँदै आउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?