सेयर बजार दोहोरो अंकले बढ्यो

Read Time = 3 mins

काठमाडौं । साताको सुरुमा उच्च अंकले घटेको सेयर बजार बिहीबार दोहोरो अंकले बढेको छ । सेयर बजार १६.५४ अंकले बढेर १८६६.३४ अंकमा पुगेको हो । ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.१९ अंकले बढेर ३५५.६२ अंकमा पुगेको छ । कारोबारमा आएका दुई सय ७२ कम्पनीमध्ये दुईवटाको मूल्य बढेको छ भने ५७ वटाको घटेको छ । १५ वटाको सेयर स्थिर रहेको छ । तर, नेप्से बढे पनि लगानीकर्ताको आन्दोलनका कारण कारोबार रकम भने ६६ करोड रुपैयाँले घटेर एक अर्ब ६५ करोडमा झरेको छ ।

अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि हाल कायम रहेको ७.५ प्रतिशत र पाँच प्रतिशत करदर नै अन्तिम कर मान्नुपर्ने माग गर्दै सेयर लगानीकर्ता आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आन्दोलनरत लगानीकर्ताले ब्रोकर एसोसिएसन, नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डमा ज्ञापनपत्र बुझाएका छन् । यस दिन दुई सय ७२ कम्पनीका ६१ लाख २८ हजार छ सय २१ कित्ता सेयर एक अर्ब ६५ करोड ४६ लाख ४८ हजार नौ सय २२ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

जोशी हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी ६.९४ प्रतिशतले बढेको छ भने बिपिडब्लु लघुवित्त ६.०८, एसियन हाइड्रोपावर ५.०७ र पाँचथर पावरको ५.०६ प्रतिशतले सेयर मूल्य बढेको छ । कारोबारमा आएकामध्ये सनराइज फोकस इक्विटी फण्डको मूल्य सबैभन्दा बढी छ प्रतिशतले घटेको छ ।

आत्मनिर्भर लघुवित्तको ५.४२, माईखोला जलविद्युत् ३.९९, नबिल ब्यालेन्स्ड फण्ड-२, ३.२६ र सामुदायिक लघुवित्तको सेयर मूल्य २.९८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा प्रभु बैंकको संस्थापक सेयर सर्वाधिक २३ करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको छ भने शिवम् सिमेन्टको ११ करोड २५ लाख, एनआइसी एसिया बैंकको चार करोड ५५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड ४१ लाख र आत्मनिर्भर लघुवित्तको तीन करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?