भारत भ्रमण सकेर स्वदेश फर्किदै प्रधानमन्त्री प्रचण्ड

दीर्घकालीन विद्युत् व्यापारका सम्झौतादेखि गेरुवस्त्रमा महाकालेश्वरको पूजा

अनिल क्षेत्री
Read Time = 10 mins

काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतको चारदिने औपचारिक भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शनिबार) स्वदेश फर्किंदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड अपराह्न ४ः२० बजे नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत नया“दिल्लीबाट काठमाडौं फर्किने कार्यक्रम छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारतको चारदिने भ्रमणका लागि जेठ १७ गते नया“दिल्ली जानुभएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले जेठ १९ गते प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मू लगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो । भारतीय समकक्षी मोदीसँगको भेटका क्रममा नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो । मूलतः ऊर्जा र पारवहन क्षेत्रमा भएको सहमति ‘ऐतिहासिक’ भएको सम्बद्ध पक्षको दाबी छ । भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले हवाई रुट र पञ्चेश्वर परियोजनालाई मुख्य एजेण्डा बनाउनुभएको थियो । तर, यी दुई एजेण्डामा उल्लेखनीय प्रगति नभए पनि ऊर्जाको क्षेत्रमा भने नेपालले अपेक्षा गरेअनुरूप नै सम्झौता भएको नेपाली पक्षको जिकिर छ ।

अर्को महत्वपूर्ण विषय इपिजी प्रतिवेदन बुझ्नेमा थियो तर राजनीतिक सुनिने एजेण्डा उठाएर प्रचण्ड यसपल्ट भारतलाई इरिटेड पार्ने पक्षमा नभएको कारण यो मुद्दाले पनि सार्थकता पाएन । नेपालसँगको सीमा विवादबारे विगतमा कुरा उठाउनै नचाहेको भारत यसपटक भने सीमा विवादको समस्याबारे बोलेको छ । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदी सहभागी संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालसँगको सीमा समस्यासहित अन्य विवादहरू छलफलबाट समाधान गर्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डको यसपटकको भारत भ्रमणको सारांश के हो भने अब नेपाल र भारत सम्बन्ध विगतमा झैँ राजनीतिक एजेण्डाहरूमा होइन, उद्योग वाणिज्य, ऊर्जा र पर्यटन आदिमा विषयान्तर हुन चाहन्छ । भारतसँग विद्युत् व्यापारको प्रारम्भिक सम्झौता, कर्णाली फुकोट आयोजनामा भारतीय कम्पनीको प्रवेश, भैरहवा विमानस्थलमा हाललाई इन्स्ट्रमेन्टल ल्याण्डिङ सिष्टम चलाउने, न्यू बुटवल गोरखपुर प्रसारणलाइन शिलान्यासलगायत सात सम्झौतामा हस्ताक्षर भने यो भ्रमणलाई अर्थपूर्ण बनाउने सन्दर्भ बन्न गएका छन् ।

तेस्रो दिन इन्दौरमा प्रचण्ड
चारदिने औपचारिक भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्यप्रदेश पुग्नुभएको छ । शुक्रबार मध्य प्रदेशको इन्दौर विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई मुख्यमन्त्री शिवराजसिंह चौहानले स्वागत गर्नुभएको थियो । मुख्यमन्त्री चौहानले प्रधानमन्त्रीलाई स्वागत गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै भन्नुभएको छ, ‘मध्य प्रदेशको पवित्र भूमिमा पाल्नुभएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हृदयदेखि नै अभिनन्दन । आज इन्दोर विमानस्थलमा नेपालका प्रधानमन्त्रीलाई पुष्पगुच्छा दिई आत्मीय स्वागत गरेँ ।’

प्रधानमन्त्री प्रचण्डको सम्मानमा दुई देशका झण्डा लिएर सर्वसाधारण सडकमा उपस्थित भएका थिए । प्रधानमन्त्री प्रचण्डको स्वागतमा सडकमा विभिन्न झाँकीसहित नृत्य प्रस्तुत गरिएको थियो । इन्दोरमा प्रधानमन्त्री प्रचण्ड होटल मेरियटमा बस्नुभएको छ । त्यहाँ प्रधानमन्त्री प्रचण्डसँग मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नुभएको छ । मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री प्रचण्डको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा प्रधानमन्त्री सहभागी हुनुभएको छ । प्रधानमन्त्री प्रचण्डले इन्दोरमा भाजपा र आरएसएसका नेताहरूसँग भेटघाट गर्ने सम्भावनासमेत रहेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले शनिबार जेठ २० गते इन्दौरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहँदा स्मार्ट सिटीका रूपमा रहेको इन्दौरको फोहोर व्यवस्थापन प्लान्टको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । इन्दोरको फोहोर व्यवस्थापन नमुनायोग्य मानिन्छ । इन्दौर भारतको सबैभन्दा सफा र फोहोर व्यवस्थापनमा उत्कृष्ट सहरको रूपमा चिनिन्छ ।

उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा
भारत भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्डले इन्दौरका कार्यक्रममा सहभागी भएलगत्तै मध्यप्रदेशकै उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गर्नुभएको छ । महाकालेश्वर मन्दिरमा विशेष पूजा गर्नुभएका प्रधानमन्त्री प्रचण्डले सो मन्दिरमा १०८ किलोग्राम रुद्राक्षसमेत चढाउनुभएको छ । नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाकालेश्वर मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घण्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको थियो । सो अवधिभित्र मन्दिरका पण्डा र पूजारी मात्र गर्भगृहसम्म जानसक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको थियो । विशेष पूजा समारोहमा मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेल पनि उपस्थित हुनुहुन्थ्यो । भारतीय अधिकारीहरूका अनुसार मन्दिरका शासकीय पूजारी पण्डित घनश्याम शर्माले प्रधानमन्त्री प्रचण्डबाट विशेष पूजा गराउनुभएको हो । प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजालले पनि पूजाअर्चना गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डसँगै मन्त्रीहरूले पनि गेरुवस्त्रमा पूजा गर्नुभएको हो ।

महाकालेश्वर मन्दिरको दर्शनका लागि सुपर करिडोर, लवकुश चौराहा हुँदै स्थलमार्ग जानुभएका प्रधानमन्त्री प्रचण्डको सुरक्षा व्यवस्थामा उज्जैनमा ७०० भन्दा बढी प्रहरी तैनाथ गरिएको थियो । इन्दौरदेखि उज्जैनसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।

हाम्रो शरीर दुई, सभ्यता र संस्कृति एकै : मुख्यमन्त्री चौहान
मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले नेपाल र भारतको सभ्यता र संस्कृति पनि एकै रहेको बताउनुभएको छ । सन्दोर विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दै मुख्यमन्त्री चौहानले भन्नुभयो, ‘नेपाल र भारत प्राचीन राष्ट्र हुन् । हाम्रो समृद्ध इतिहास रहिआएको छ । कैयौँपटक लाग्छ कि शरीर दुई छन् तर हाम्रो संस्कृति, सभ्यता र संस्कार एकै छ । मध्य प्रदेशवासी अभिभूत छौँ, आफ्नो मित्रराष्ट्र नेपालका प्रधानमन्त्री प्रचण्डजीको स्वागत गर्न पाउँदा ।’ शनिबार दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेशबाट नयाँदिल्ली फर्किने कार्यक्रम छ । अपराह्न ४ः२० बजे उहाँ नयाँदिल्लीबाट काठमाडौं फर्किने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?