नक्कली शरणार्थी प्रकरणमा १८ प्रतिवादीकै इन्कारी बयान, आजदेखि थुनछेक बहस

यज्ञराज पाण्डे
Read Time = 18 mins

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधसम्बन्धी मुद्दामा आज (आइतबार)बाट थुनछेक बहस सुरु हुने भएको छ । शुक्रबारसम्म जिल्ला अदालत काठमाडौंले आरोपित १८ जनासँग बयान लिएपछि आजबाट थुनछेक बहस सुरु हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताउनुभयो । आरोपितको थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको दाहालले जानकारी दिनुभयो ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये हाल थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको हो । शुक्रबार अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जन गरी तीन जनासँग बयान लिएको थियो । बाँकी १५ जनासँगको बयान यसअघि नै सकिएको थियो । थुनछेक बहस सकिएपछि आरोपितलाई साधारण तारेखमा वा धरौटीमा छोड्ने वा पुर्पक्षका क्रममा कारागार पठाउने टुंगो लाग्छ ।

यो प्रकरणमा सबै प्रतिवादीले अदालतमा इन्कारी बयान दिएका छन् । प्रहरी तथा सरकारी वकिलसँग भन्दा अदालतमा उनीहरूको बयान फरक छ । अनुसन्धानबाट खुलेका तथ्य र प्रमाण भनेजति इन्कारी बयान दिए पनि कसुर पुष्टि हुने वस्तुनिष्ठ आधार र प्रमाण रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ ।
यो मुद्दामा ३० मध्ये १८ जना न्यायिक हिरासतमा छन् । उनीहरू सबैले अदालतमा यसमा आफ्नो संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन् । पक्राउ परेका केहीले प्रहरी र सरकारी वकिल कार्यालयमा दिएको बयानमा घटनामा संलग्न रहेको स्वीकार गरेका थिए । यो प्रकरणमा उच्चपदस्थको पोल खोल्ने व्यक्ति सानु भण्डारी र केशव दुलाल हुनुहुन्छ । उहाँहरूले कसलाई कहिले र कहाँ कति पैसा दिएको सबै खुलाउनुभएको थियो । तर, अदालतमा भने उहाँहरूले फरक बयान दिनुभएको छ । मुद्दामा सरकारी वकिल र अदालतमा हरेकजसो मुद्दामा फरक-फरक बयान हुने गरेको प्रहरी अधिकारी बताउँछन् ।

बालकृष्ण खाँणको बयान- धार्मिक प्रवृत्तिको व्यक्ति हुँ, अनुचित लाभ लिनेबारे सोच्न पनि सक्दिनँ
पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले आफू धार्मिक व्यक्ति भएको भन्दै जनता झुक्याउने र अनुचित लाभ लिने कार्य गर्नेबारे सोच्न पनि नसक्ने भन्ने बयान दिनुभएको छ । शरणार्थी प्रकरणको ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेसमक्ष उहाँले राज्यको विभिन्न पदको दुरुपयोग नगरेको बयान दिनुभएको हो ।

‘म २०४८ सालमा प्रतिनिधिसभाको सदस्य, २०६४ साल र २०७० संविधानसभाको सदस्य, २०७४ मा प्रतिनिधिसभाको सदस्य बनेँ, साथै विभिन्न मितिमा चार पटकसम्म मन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाएँ’ उहाँले बयानमा भन्नुभएको छ, ‘मैले चौथोपटक मन्त्रीको जिम्मेवारी सम्हाल्दा संविधान र कानुनको पालना गर्दै देशमा शान्ति व्यवस्था र अमनचैन कायम गर्ने भूमिका निर्वाह गरेको छु । म विभिन्न रोगहरूको निवारणका लागि नियमित औषधि सेवन गरिरहे पनि हालसम्म मैले राज्यकोषबाट उपचार खर्चसमेत लिएको छैन । म ईश्वरमा विश्वास गर्दछु । म धार्मिक प्रवृत्तिको व्यक्ति हुँ । जनतालाई झुक्याउने अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि सक्दिनँ ।’ यति मात्रै होइन उहाँले यो प्रकरणमा आफ्नो कुनै संलग्ता नरहेको र राजनीतिक करियर सिध्याउनलाई राज्यले नै चाल चलेको आरोपसमेत लगाउनु भएको छ ।

‘मविरुद्ध लगाइएका सबै अभियोग मागदाबीहरू कपोलकल्पित र झुट्टा हुन् । मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन नियोजित रूपमा राज्यले रचिएको षड्यन्त्र हो’ उहाँको दाबी छ, ‘माथि अभियोगमा दाबी लिएको कुनै पनि कसुरमा मेरो कहीँकतै संलग्नता छैन । यी कसुरहरू गर्नमा कसैलाई प्रोत्साहन र प्रेरित पनि गरेको छैन ।’ आफूलाई फसाउन खोजेको भन्दै उहाँले न्यायका लागि न्यायाधीशसमक्ष याचना गर्नुभएको छ ।

‘जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षकले ठगीको कसुर र संगठित अपराधको कसुरमा बयान लिएर अन्य कसुर र राज्यविरुद्धको कसुरमा समेत अभियोग लगाइएको छ’ उहाँले भन्नुभयो, ‘यो सरासर स्वच्छ सुनुवाइ र प्राकृतिक न्यायको सिद्धान्तविपरीत हो । मलाई फसाउने उद्देश्यले यी सबै झुट्टा आरोप र मुद्दाहरू लगाइएका हुन् । त्यस सम्बन्धमा मैले न्यायमूर्तिसँग न्यायको याचना गर्दछु । उच्च कसुरमा मेरो संलग्नता नरहेको हुँदा अभियोग माग दाबीबाट फुर्सद दिलाई पाऊँ । सफाइ पाऊँ ।’ बयानका क्रममा न्यायाधीशले गरेको सम्पत्तिको प्रश्नमा उहाँले जग्गा जमिन र घरभाडाबाट आउने पैसाले आफ्नो जीवन सहज चलेको बताउनुभएको छ ।

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा मुछिएका केशव दुलाललाई आफूले नचिन्ने उहाँको दाबी छ । आफ्ना तत्कालीन स्वकीय सचिव नरेन्द्र केसीमार्फत आङ्टावा शेर्पालाई पीडितको रकम फिर्ता गर्न पैसा नदिएको पनि उहाँको दाबी छ । केशव दुलाल र सानु भण्डारीलाई इन्कारी बयान गर्न नलगाएको पनि उहाँको दाबी छ ।

इजलासमा टोपबहादुरको याचना : मेरो राजनीतिक भविष्य सिध्याउन मुद्दा लगाइयो, सफाइ पाऊँ
यही प्रकरणमा पक्राउ पर्नुभएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बिहीबार बयान दिनुभएको थियो । उहाँलाई इजलासले २६ वटा प्रश्न गरेको थियो । जसमा उहाँले यसअघि जिल्ला सरकारी वकिल कार्यालय र प्रहरीसमक्ष दिएको बयानभन्दा केही फरक बयान दिनुभएको छ ।

इजलासले सवाल नम्बर ६ मा प्रतिवादीहरू ककसलाई चिन्नुहुन्छ ? भन्दै उनीहरूसँग लेनदेन र रिसइवी झगडा छ/छैन ? भनेर सोधेको छ । जसमा उहाँले केशव दुलाललाई १५/१६ वर्ष पहिले सुजाता कोइरालाको निवासमा जाँदा उहाँको स्वकीय सचिव भन्ने सुनेको र त्यही क्रममा चिनजान र भेटघाट भएको बताउनुभएको छ । त्यसपछि धार्मिकस्थल गोसाइँकुण्डमा जाँदा भेटघाट भएको तर त्यसयता कुनै भेटघाट नभएको जवाफ दिनुभएको छ । उहाँले सानु भण्डारीसँग सामान्य चिनजान रहेको पनि बताउनुभएको छ । सन्दीप रायमाझी छोरा भएको खुलाउनुभएका उहाँले बालकृष्ण खाँणसँग चिनजान रहेको बताउनुभएको छ । टेकनाथ रिजालसँग सार्वजनिक कार्यक्रममा ६÷सात वर्ष पहिले भेटघाट भएको र अन्यसँग चिनजान नरहेको र भेटघाट पनि नभएको उहाँको जवाफ छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भने रकम लिई अमेरिका नपठाई रकम फिर्तासमेत नगरी ठगी गरेको भन्ने जाहेरीका बारेमा सोधिएको प्रश्नमा रायमाझीको जवाफ छ- जाहेरवाला जति पनि व्यक्तिहरू कसैसँग मेरो चिनाजान रहेको छैन । उनीहरूसँग चिनजान नभएको हुनाले लेनदेन पनि हुने प्रश्न नै भएन । म ऊर्जामन्त्री भएको समयभन्दा अगाडि संसद् सदस्य रहेको अवस्थामा भुटानी शरणार्थीहरूको समस्या समाधानको लागि विभागीय मन्त्रालयले कार्यदल बनाएको भन्ने कुरा पत्रपत्रिकाबाट थाहा पाएको थिएँ । तर, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने विषयमा भने मलाई केही जानकारी छैन ।

उहाँले इजलासमा बयान दिँदा केशव दुलाल र सानु भण्डारीबाट रकम लिएको कुरा अस्वीकार गर्नुभएको छ । आफ्नो राजनीतिक छवि धमिल्याउन कसैको उक्साहटमा आएर निजले यस्तो बयान दिएको हुनसक्छ भन्दै रकम लिएको कुरा झुटा भएको र आफूलाई फसाउन खोजेको उहाँको जिकिर छ ।

टेकनाथ रिजालले बयानमा रायमाझीको पनि संलग्नता रहेको कुरा हचुवामा लेखेको बताउँदै रायमाझीले एकपटकभन्दा उहाँसँग भेट नभएको बताउनुभएको छ । रिजालले आफूले गरेको अपराध लुकाउन बयानमा आफ्नो नाम लिएको हुनसक्ने बताउनुभयो । यदि आफ्नो संलग्नता भएको भए पाँच/६ वर्ष पहिले नै उजुरी दिनुपर्ने उहाँले बताउनुभएको छ ।

उहाँलाई लगाइएको अभियोग र कानुनी व्यवस्थाबारे रायमाझीलाई सोधिएको प्रश्नमा भने उहाँले लामो राजनीतिक इतिहास बताउँदै जवाफ दिनुभएको छ । २०४८ सालदेखिको राजनीतिक योगदान सुनाउँदै उहाँले भुटानी शरणार्थी प्रकरणमा यो मुद्दा जे जसरी उठ्दै छ, त्यसको आन्तरिक र बाह्य कारणहरू रहेको बताउनुभएको छ । धेरै विषयमा समयक्रममा खुल्दै जाने उहाँको भनाइ छ ।

भ्रष्टाचार र अनियमिततामा दोषी ठहरिए माओवादीकै नेता भए पनि कारबाही गर्छु : गृहमन्त्री
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताउनुभएको छ । शनिबार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही हुने बताउनुभयो । जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने उहाँको भनाइ थियो ।

आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र)का नेताहरू पनि भ्रष्टाचार र अनियमिततामा परे कारबाही गर्न पछि नहट्ने उहाँको भनाइ छ । ‘शरणार्थी प्रकरणको हाम्रो अनुसन्धान खेर जाने छैन । स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर दोषीमाथि कारबाही हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘सुशासन कायम गर्न कुन पार्टीको को पर्छ मलाई थाहा छैन । आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टी माओवादीको कोही पर्ला । भ्रष्टाचार र अनियमिततामा परे भने आश्चर्य नमान्नुहोला । छुट दिइने छैन ।’ आफूले राम्रो काम गरेँ भनेर विश्राम गरेर नबस्ने गृहमन्त्री श्रेष्ठले बताउनुभयो ।

३० जनाविरुद्ध दर्ता भएको मुद्दामा १२ जना अझै फरार
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराधको कसुरमा कारबाही मागदाबीसहित जेठ १० मा मुद्दा दायर गरेको थियो । २०७९ चैत १२ मा तीन जनालाई पक्राउ गरेपछि प्रहरीले अदालतबाट म्याद थप गरेर अघि बढाएको शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना पक्राउ परेका थिए ।

रायमाझी, खाँण, पाण्डे, राई र रिजालसहित गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप, गिरोहका सदस्यहरू सागर राई, टंक गुरुङ, रामशरण केसी, खाण गृहमन्त्री हुँदा उहाँका स्वकीय सचिव रहनु भएका नरेन्द्र केसी र गोविन्द चौधरी अनुसन्धानकै क्रममा पक्राउ पर्नुभएको थियो ।

प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएर मुद्दा अदालतमा दर्ता भइसकेपछि प्रतिवादीमध्येका थप दुईजना लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ पर्नुभएको थियो । शुक्रबार प्रहरीले पूर्वमन्त्री खाँण, भुटानी शरणार्थी नेता रिजाल र अर्का प्रतिवादी हरिभक्त महर्जनसँग बयान लिएको हो ।

पक्राउ परेका र थप १७ जनालाई फरार सूचीमा राखेर प्रहरीले जेठ ८ मा राज्यविरुद्ध अपराध, संगठित र ठगीसम्बन्धी अपराधमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । त्यसको दुई दिनपछि जेठ १० मा सरकारी वकिल कार्यालयले प्रहरीबाट आएको प्रतिवेदनमा बाहेक किर्तेको थप कसुर लगाएर ३० जनाविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

प्रहरीले प्रतिवादी बनाएका तीन जनाको विस्तृत हुलिया नखुलेका कारण उनीहरू प्रतिवादीको सूचीमा समेटिएनन् । उनीहरूलाई पछि कसुर खुलेबमोजिम हुने गरी बाँकीको हकमा चारवटा कसुरमा २८ करोड ८१ लाख रुपैयाँ बिगो, ठगिएको रकम फिर्ता र कैद सजाय मागदाबीसहित मुद्दा दर्ता भएको थियो । मुद्दा दायर भएको दुई दिनपछि जेठ १२ बाट सुरु भएको बयान अदालतले शुक्रबार टुंग्याएको हो । मुद्दामा प्रतिवादी बनाइएकामध्ये केशव तुलाधार, अशोक पोखरेल, धीरेन राई, दीपाञ्जली हुमागाईं, नीरज राई, प्रतीक थापा, राजेश अर्याल, मोहनराज राई, आशीष बुढाथोकी, विनिता सामदेव लिम्बू, निरञ्जरकुमार खरेल र सुनिल बुढाथोकी फरार छन् । अरू तीनजनाको विस्तृत हुलिया नखुलेका कारण उनीहरू फरार सूचीमा रहेका छन् । तर, मुद्दा भने पक्राउ परेपछि अघि बढ्ने प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?