शहीद स्मारक ‘ए’ डिभिजन लिग : पहिलो सिजनमै चर्च ब्वाइज च्याम्पियन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । चर्च ब्वाइज क्लब पहिलो सिजनमै शहीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ । मंगलबार २५औँ चरणमा थ्रीस्टारसँग गोलरहित बराबरी खेल्दै यसै सिजन ‘ए’ डिभिजनमा बढुवा भएको चर्च ब्वाइजले उपाधिमाथि कब्जा जमाएको हो ।

चर्च ब्वाइज २०१८-१९ को सिजनमा ‘सी’ डिभिजन च्याम्पियन बनेको थियो । उक्त सिजनमा च्याम्पियन बनेपछि ‘बी’ डिभिजनमा उक्लिएको चर्च ब्वाइजले २०२१-२२ को सिजनमा ‘बी’ डिभिजनको उपाधिसमेत जित्यो । ‘बी’ डिभिजन लिग च्याम्पियन बनेर ‘ए’ डिभिजनमा उक्लिएको पहिलो वर्ष नै चर्च ब्वाइजले उपाधि जित्न सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको १६औँ मिनेटमा लाकेन लिम्बूले वान भर्सेस वानको स्थितिमा गोल गर्न चुक्दा थ्रीस्टार अग्रता लिनबाट वञ्चित भयो । २१औँ मिनेटमा अशोक खवासको पासमा अजयी मार्टिन्सको वान भर्सेस वानको पहिलो प्रहार बार नजिकैबाट बाहिरियो । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।

यस बराबरीसँगै च्याम्पियन बनेको चर्च ब्वाइजको २५ खेलबाट ४६ अंक पुगेको छ । अब चर्च ब्वाइजले अन्तिम खेलमा एफसी खुमलटारसँग खेल्दैछ । यो खेलमा अंक गुमाए पनि चर्च ब्जाइजलाई कुनै असर पर्ने छैन । चर्च ब्वाइजसँगको बराबरीले थ्रीस्टारलाई भने रेलिगेसनको दबाब कायमै छ । थ्रीस्टारको २५ खेलबाट २९ अंक छ ।

यस्तै, अंक तालिकाको पुछारमा रहेको खुमलटारले विदेशी फरवार्डद्वय मेसुके ओलोमोउ र स्टेफन बिनोङको गोलमा एपिएफ क्लबलाई तीन–एकले पराजित गरेको छ । यो जितसँगै खुमलटारले रेलिगेसनबाट बच्ने सम्भावना जीवित राखेको छ । यस नतिजाले खुमलटार २७ अंकसाथ १३ आँै स्थानमा पुगेको छ । फ्रेण्ड्स २६ अंकसाथ पुछारमा छ ।

१३औँ मिनेटमा मेसुकेले खेल मैदानको मध्य भागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उहाँले प्रहार गरेको फ्रिकिक सिधै पोस्टमा पुगेको थियो । पहिलो खेलको इन्जुरी समयको तेस्रो मिनेटमा उहाँले दोब्बर गोल गर्नुभयो ।

दोस्रो हाफको ५५औँ मिनेटमा बिनोङले गोल गर्दै खुमलटारलाई तीन-शून्यले अघि बढाउनुभयो । इन्जुरी समयमा सनिश श्रेष्ठले एपिएफबाट एक गोल फर्काउनुभयो ।

त्यस्तै, एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले अंक बाँडेका छन् । दिनेश हेन्जनले दोस्रो मिनेटमा नै आर्मीलाई अग्रता दिलाउनुभएको थियो । तर, अहमद हिजाजीले ३८औँ मिनेटमा बराबरी गोल फर्काउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?