निर्माण व्यवसायीद्वारा भौतिकमन्त्रीको ध्यानाकर्षण

Read Time = 3 mins

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत् सरकारले म्याद थपलगायतका महत्वपूर्ण माग सम्बोधन नगरेको भन्दै आन्दोलित नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी) नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार मन्त्री ज्वालालाई भेटेर ध्यानाकर्षण गराएको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष लामाले माइलस्टोन खारेजीसहित म्याद थप, भुक्तानी, मूल्य समायोजनलगायत व्यवसायीका अत्यन्त महत्वपूर्ण मागबारे बजेटमा केही सम्बोधन नभएकाले व्यवसायी ठूलो मारमा परेको बताउनुभयो । मूल्य समायोजनसहित एकमुष्टरूपमा २०८१ असारसम्म सबै आयोजनाको म्याद थप हुनुपर्ने उहाँले बताउनुभयो । व्यवसायीको रकमको भुक्तानी भएमा अर्थतन्त्र चलायमान भई त्यसको सकारात्मक प्रभाव राज्यको अर्थतन्त्रमै देखिने उहाँको दाबी थियो । साथै विदेशी निर्माण व्यवसायीको तुलनामा स्वदेशी व्यवसायीले राम्रो काम गरेकोसमेत लामाले जिकिर गर्नुभयो । सो अवसरमा महासंघका मानार्थ सदस्य पूर्णबहादुर तामाङ ‘कान्छाराम’, गेल्जे शेर्पा, सल्लाहकार यक्षध्वज कार्की, जयराम लामिछानेलगायतले मुलुकको निर्माण उद्योगलाई बचाउने हो भने राज्यले नै अहिलेको विषम परिस्थिति सहज बनाउन पहलकदमी लिनुपर्ने बताउनुभएको थियो ।

मन्त्री ज्वालाले म्याद थप र भुक्तानीका विषयमा आफू सकारात्मक रहेको भन्दै व्यवसायीका समस्या समाधानमा सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्रालयका सचिव इञ्जिनियर केशवकुमार शर्माले पनि व्यवसायीहरूका मागप्रति मन्त्रालय सकारात्मक रहेको जानकारी दिनुभयो । प्रतिनिधिमण्डलमा उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, बालकृष्ण थापा, नीतिगत उपमहासचिव शिवहरि घिमिरे, सदस्य दानबहादुर खड्का, कार्यालय प्रमुख प्रेमसिंह ऐरलगायत रहेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?