नवनिर्वाचित राष्ट्रपतिको गृह जिल्लामा दीप प्रज्ज्वलन

हिमालय टाइम्स
Read Time = 5 mins

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा उहाँको गृह जिल्ला तनहुँको दमौलीमा दीप प्रज्ज्वलन गरिएको छ । व्यास नगरपालिका-३ अनसन चौतारीमा बिहीबार साँझ दीप प्रज्ज्वलन गरिएको हो । नेपाल विद्यार्थी संघ भानुभक्त क्याम्पस एकाइको आयोजनामा दीप प्रज्ज्वलन गरिएको थियो । दीप प्रज्ज्वलनमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेललगायत नेता तथा कार्यकर्ता सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख न्यौपानेले लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पौडेल राष्ट्रपतिमा निर्वाचित हुँदा तनहुँको गौरव बढेको बताउनुभयो । तनहुँको विकास, लोकतन्त्र संरक्षण, अधिनायकवादको अन्त्यका लागि पौडेलले खेलेको भूमिका अतुलनीय रहेको भन्दै न्यौपानेले बताउनुभयो ।

लोकतन्त्रप्रति घटेको विश्वास जगाउने काम गर्नुहुनेछ : जितप्रकाश आले
लोकतन्त्रका निम्ति लामो संघर्ष गरेर यसैका लागि १४ वर्ष जेलसमेत बस्नुभएको व्यक्ति राष्ट्रपति हुनुभएको छ । हामी एकदमै खुसी छौँ । विगतमा नेपालको संविधान अक्षरशः पालना हुन सकेन । ट्र्याकभन्दा बाहिर गयो । अब उहाँ आएपछि संविधान ट्र्याकमा आउने विश्वास छ । लोकतन्त्र र संघीय व्यवस्थाप्रतिको विश्वास घटेको छ । उहाँले विश्वास जगाउने काम गर्नुहनेछ भन्ने विश्वास छ । राजनीतिक संस्कार बसाउने र देश र संविधानलाई सही दिशामा लैजानुहुन्छ भन्ने विश्वास छ ।

किसान परिवारमा जन्मिएको मान्छे राष्ट्रप्रमुख हुनु गौरवको कुरा हो : वैकुण्ठ न्यौपाने
उहाँ राष्ट्रको प्रमुख हुनु समग्र देशसँगै तनहुँवासीका लागि त झन् खुसीको कुरा हो । हामी पनि यही अभियानमा छौँ । खुसियाली मनाइरहेका छौँ । सामान्य किसान परिवारमा जन्मिएको किसानको छोरो राष्ट्रप्रमुख हुनु गौरवको कुरा हो । राजनीतिमा निरन्तर र अविचलित रूपमा लाग्नुभयो । संविधान र लोकतन्त्रको रक्षाका नम्ति सक्रिय हुनुभयो । उहाँको अविचलित यात्रा र लोकतन्त्रप्रतिको समर्पणले आज राष्ट्र प्रमुखको पदमा पु¥याएको छ । खुसी छौँ र उहाँबाट धेरै अपेक्षा गरेका छौँ ।

अब पार्टीभन्दा माथि उठेर देश र जनताका पक्षमा काम गर्नुहुनेछ भन्ने अपेक्षा छ : दया नराल
उहाँ राष्ट्रपति हुनु तनहुँका लागि गौरवको कुरा हो । हुन त यो देशकै लागि पनि गौरवकै विषय हो । १४ वर्ष जेलजीवनमा बिताउनुभयो । नेपाली राजनीतिमा लामो त्याग, तपस्या र संघर्ष गर्नुभयो । आज देशले उहाँलाई राष्ट्रप्रमुख बनाएको छ । यसलाई ठूलो रूपमा लिएका छौँ । लामो समय पार्टी राजनीतिमा सक्रिय हुनुभयो । अब पार्टीभन्दा माथि उठेर देश र जनताका पक्षमा काम गर्नुहुनेछ भन्ने अपेक्षा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?