शैलुङ गाउँपालिकामा तीनसय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण

हिमालय टाइम्स
Read Time = 5 mins

-नवराज शिवाकोटी

दोलखा । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर तीन बोत्लेमा तीनसय मेट्रिकटन क्षमताको शीत भण्डारको निर्माण सम्पन्न भएको छ । बागमती प्रदेश सरकार तथा गाउँपालिकाको सहकार्यमा शीतभण्डाको निर्माण सम्पन्न भएको हो ।

नौ करोड लागत अनुमान रहेको शीतभण्डार निर्माणकालागि टेन्डर मार्फत ६ करोड ४५ लाख (भ्याट सहित) मा ठेक्का लगाइएको थियो । १५ रोपनी क्षेत्रफलमा निर्माण गरिएको शीतभण्डारमा पाँच वटा च्याम्बर रहेको शैलुङ गाउँपालिकाका ईञ्जिनियर कमल थापा मगरले जानकारी दिनुभयो ।

निर्माण ब्यावसायीले निर्माण सम्पन गरी शीतभण्डार हस्तान्तरण भइसकेको उहाँको भनाई रहेको छ । पाँच वटा च्याम्बरमा दुईसय मेट्रिकटन आलुको लागि तथा बाकी हरियो सागपात, किवी, बन्दालगायतको लागि छुट्याइएको छ । यसैगरी एउटा कक्ष प्याकेजिङको लागि राखिएको गाउँपालिकाले बताएको छ ।

शीतभण्डार संचालनकालागि मेकानिकल टेष्ट भइसेको छ । विद्युत आपुर्ति नियमित बनाउनकालागि २०० केभीएको जेनेरेटरको ब्यवस्था गरिएको तथा २५० केभीएको ट्रासफर्मर राखिएको इञ्जिनीयर थापा मगरको भनाई छ ।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पचास-पचास प्रतिशत लागत साझेदारीमा शीतभण्डारको निर्माण सम्पन्न भएको शैलुङ गाउँपालिकाले जनाएकाे छ ।

निर्माण सम्पन्न भइसकेको अवस्थामा शीतभण्डारको संचालन कसरी गर्ने भन्ने बारेमाभने गाउँपालिकाले हालसम्म ठोस निर्णय गर्न सकेको छैन । स्थानीयहरुको चासो कम भएपछि गाउँपालिका चिन्तीत रहेको छ । शित भण्डार कुन मोडालिटीमा संचालन गर्ने भन्ने बारे छलफल भइरहेको शैलुङ गाउँपालिकाका अध्यक्ष रिमाल बाबु श्रेष्ठले बताउनु भयो । निक्कै ठूलो संरचना तथा त्यसमा कृषिउपज संकलन गरी राख्न स्थानीयहरुले खासै चासो नदेखाएको उहाँको भनाई छ । निजि क्षेत्र वा सहकारी सँगको सहकार्यमा शीतभण्डार संचालन गर्न प्रस्ताव आह्वान गर्ने भन्नेवारेमा गाउँपालिकाले छलफल गरिरहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

शैलुङ क्षेत्र विशेष गरी आलु तथा तरकारी उत्पादनमा अब्बल रहेको छ । आलु, बन्दा, काउलीलगायतका तरकारी उत्पादनकालागि यो क्षेत्र प्रशिद्ध छ । वार्षिक ८० करोड भन्दा बढीको आलु मात्र यो क्षेत्रबाट निर्यात हुने गरेको शैलुङ क्षेत्रका किसानहरुको भनाई छ । ब्यवस्थीत ढंगले शीत भण्डारको प्रयोग गर्न सके किसानहरुलाई राहत पुग्ने आशाले शीतभण्डार निर्माण गरिएपनि त्यो प्रयोग विहिन हुन्छ कि भन्ने आशंका शैलुङ गाउँपालिकाका जनप्रतिनिधिहरुको रहेको छ ।

एक वर्ष परीक्षणको रुपमा गाउँपालिका स्वयंले शीत भण्डार संचालन गरी किसान लाई निःशुल्क भण्डारण गर्न दिई उनीहरुले लाभ प्राप्त गर्ने वातावरण तयार गर्नु पर्ने शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरत प्रसाद दूलालको विचार छ । शीतभण्डारको प्रयोगबाट लाभ लिन सकिने चेतना बढेपछि स्थानीयहरुले शीतभण्डार प्रयोगगरी शुल्क पनि तिर्ने उहाँको विश्वास छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?